धरान/ विश्वले कोरोना भाइरसविरुद्धको खोपको प्रतीक्षा गरिरहेका बेला खोप पत्ता लगाउन विश्वभर प्रतिस्पर्धा चल्न थालेको छ ।
चीन, युरोप र अमेरिकामा ३ महिनामा भयङ्कर रूपमा कोरोना भाइरस फैलिएपछि खोप पत्ता लगाउने विश्वमै पहिलो आविष्कारक हुनका लागि भइरहेको प्रतिस्पर्धाले गर्दा सबै मानिसलाई राहतको सास फेर्न धेरै समय कुर्नु नपर्ने हो कि भन्ने आशा जगाएको छ भने अर्कोतिर खोपको आविष्कारको प्रतिस्पर्धाले गलत बाटो अवलम्बन गर्ने पो हो कि भन्ने पनि छ ।

खोप पत्ता लगाउँदा पाइने अवसर जसले पहिला त आफ्नै जनताले पाउन सक्ने सुविधा र यस सङ्कटबाट पार पाउँदा पाइने आर्थिक तथा भूरणनीतिक महŒवका फाइदासमेतलाई मध्यनजर गर्दै आक्रामक प्रतिस्पर्धीदेखि लिएर विभिन्न तहका सहकार्यहरूबीच प्रतिस्पर्धा भइरहेको छ ।

वैज्ञानिक चमत्कारबाट पाउन सक्ने वाहवाही, पेटेण्ट राइट (बौद्धिक सम्पत्ति) र सफल खोपबाट पाउने आम्दानी जसले आफ्नो राष्ट्रको तत्कालीन सुरक्षासमेतको सम्बोधन हुने गरी को पहिलो होला भन्ने प्रश्नले घर गरिरहेको छ । अमेरिका, चीन र युरोपमा औषधिको परीक्षण भई नै रहेको र आफ्नो मुलुकका जनता त्यो खोप पाउने पहिलो लाइनमा हुनेसमेत विश्वासका साथ प्रतिस्पर्धा अगाडि बढिरहेको छ । चीनमा एक हजार वैज्ञानिकहरू खोप विकासमा कार्यरत छन् । जैविक उत्पादन गुणस्तर नियन्त्रण विशेषज्ञ र वाङ जुनचीले चीनको बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘हामी अरू मुलुकभन्दा सुस्त हुने छैनौं ।’

चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार १ सय ८ जनामा लगाइएको खोपका कारण झाडापखाला, उच्च तापमान र सामान्य मानसिक समस्या देखिए तापनि मुलुककै पहिलो व्यक्तिहरू भएकोमा चीनले गर्व गरेको छ । चिनियाँ उपचार परीक्षण रजिष्ट्रीबाट प्रकाशित सूचनाअनुसार १८ देखि ६० वर्ष उमेरसमूहका ३६ स्वस्थ व्यक्तिहरूलाई तीन समूहमा विभाजन गरी न्यून, मध्यम् र अधिकतम् खुराक दिएर परीक्षण गरिएको थियो । वाङ जुनचीका अनुसार खोप दिइएका सबैलाई १४ दिनसम्म परीक्षणका लागि क्वारेण्टाइनमा राखिनेछ । पहिलो खोप चाहिँ मेजर जनरल र सैनिक वैज्ञानिक चेन वेईले लिएका थिए । जुनसुकै चुनौती बेहोरेर भए पनि आफूहरूले परीक्षणका लागि खोप लिएको कुरा उनीहरूले बताएको वाङले जनाए ।

अमेरिका र चीनमा खोपको आविष्कारका लागि तीव्र प्रतिस्पर्धा भइरहे पनि कोरोना भाइरस विरुद्धको खोपको आविष्कारका लागि अष्ट्रेलियाको क्विन्सल्याण्डले पनि १७ मिलियन डलर धनराशिको घोषणा गरेको छ । १७ मिलियन डलर मध्ये ३ मिलियन डलर सङ्घीय सरकारबाट, ३.५ मिलियन डलर पाउल रामसे फाउण्डेसन र बाँकी १० मिलियन डलर क्विन्सल्याण्ड सरकारले खर्च गर्ने क्विन्सल्याण्ड सरकार प्रमुख अन्नास्तासिया पलासजुकले बताएकी छन् । उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि औषधि कम्पनीका कार्यकारीहरूको भेलामा कोरोना विरुद्धको खोप आफ्नै देशको माटोमा उत्पादन हुने र आपूर्ति शुरु हुने दाबी गरे । तर स्विस औषधि कम्पनीका कार्यकारी प्रमुख सेभेरिन स्च्वानले अरूभन्दा भिन्न मत राखेका छन् ।

उनले भने, ‘सबैकुरा मेरै माटोमा हुनुपर्छ र सीमा नाका बन्द गर्छु भन्नेजस्ता फजुल कुरामा नपर्न सबैलाई आग्रह गर्छु । किनभने यसले अतिराष्ट्रवादी गलत धारणाको विकास गर्छ, फलस्वरूप विश्वभरिका जनतालाई गर्नुपर्ने आपूर्तिको शृङ्खलालाई कमजोर बनाउँछ ।’ खोपको विकासका लागि जोसुकैले जहाँसुकै भए पनि तीव्र गतिका साथ पहल गर्नुपर्ने आवश्यकता भएको कुरा जोन हप्किन्स युनिभर्सिटीको सेण्टर फर हेल्थ सेक्युरिटी डाक्टर अमेश अदाल्जा बताउँछन् । एकपटक खोप प्रमाणीकरण (स्वीकृत) भएपछि विश्वका करोडौं जनतासमक्ष पु¥याउनु पर्ने कुरामा वैज्ञानिकहरू सहमत रहेका छन् ।

यता जेनेभास्थित विश्व स्वास्थ्य सङ्गठनका प्रमुख डाक्टर टेडरोस अधानोम गेभ्रेसियसले पनि कोरोना भाइरसविरुद्धको पहिलो खोपको परीक्षण शुरु भएको बताए पनि कहाँ त्यस्तो परीक्षण भइरहेको भन्ने बताएनन् । उनी पनि खोपको आविष्कार तत्काल भए पनि सार्वजनिक प्रयोगका लागि १२ देखि १८ महिना पर्खनु पर्ने बताउँछन् । अक्सफोर्ड युनिभर्सिटी वेलायतका अनुसन्धानकर्ताहरूले पनि खोपको परीक्षण यसै हप्ताबाट शुरु गर्ने भएका छन् । उनीहरूले पहिले जनावरमा खोपको परीक्षण गरी त्यसैको आधारमा अर्को महिना मानवमा यसको परीक्षण गर्ने कुरा बताइएको छ । विश्वभरिका ३५ कम्पनीहरू अहिले कोरोना भाइरस विरुद्धको खोप पत्ता लगाउने दौडमा रहेको बताइएको छ ।

आइतबारसम्म विश्वभरका ३ लाख ८ हजार ६ सय १५ जना सङ्क्रमित भएकामध्ये १ सय ८८ देशका १४ हजार ६ सय १६ को मृत्यु भइसकेको र ९ हजार ९ सय ४३ गम्भीर अवस्थामा रहेका छन् । त्यसमध्ये १ लाख ८९ हजार ७ सय ६७ मध्यम् अवस्थामा छन् भने ९५ हजार ८ सय ३५ उपचारपछि घर फर्किएका छन् । कोरोनाबाट सबैभन्दा बढी इटालीमा ४ हजार ८ सय २५ को मृत्यु भएको छ भने त्यसपछि इरानमा १ हजार ५ सय ५६ र स्पेनमा १ हजार ३ सय ८१ को मृत्यु भइसकेको छ । यो समाचार तयार पार्दासम्म छिमेकी मुलुक भारतमा सङ्क्रमितको सङ्ख्या ३ सय ७० मध्ये ७ को मृत्यु भएको छ ।

हिजो (आइतबार) मात्रै अमेरिकामा ४६ जनाको मृत्यु भई जम्मा ४१९ पुगेको छ भने चीनमा मृत्यु हुनेको सङ्ख्या ३ हजार २ सय ६१ पुगेको छ । दक्षिण कोरियामा २, मलेशियामा १, फिलिपिन्समा ६, कोलम्बियामा १ र हङ्गेरीमा २ गरी जम्मा ६४ जनाले हिजै मात्र ज्यान गुमाएका छन् । भुटानमा पनि २ सङ्क्रमित भेटिएकामा २ जना नै उपचाररत छन् । पाकिस्तानमा ६ सय ४५ सङ्क्रमितमध्ये ३ जनाको मृत्यु भएको छ । छिमेकी मुलुकबाट सङ्क्रमण फैलन नसकोस् भन्ने हेतुले नेपालमा प्रदेश १ सरकारले प्रदेश १ को सम्पूर्ण सीमा नाका बन्द गर्न सङ्घीय सरकारलाई आह्वान गरिसकेको छ भने अन्य प्रदेशका सीमा नाकाहरूसमेत बन्द गरी आवत–जावत रोक्न ढिलो भइसकेको छ ।
स्रोत: विभिन्न एजेन्सी