समय पल पलमा परिवर्तशील छ । अहिले तत्कालको परिस्थिति तत्कालै फेरिन सक्छ । अहिले सोचेको कुरा भरेसम्ममा बासी भइसक्छ । समयको अविछिन्न गतिले मान्छेको गतिलाई बढाएको छ । मान्छेको सोच्ने क्षमतालाई बढाएको छ । अर्कातर्फ गतिशील मान्छेको सोच्ने क्षमताले समयको गति बढाएको छ । अर्थात् समय आफैंमा शक्तिशाली पक्ष भए पनि मान्छेले त्यसलाई झनै शक्तिशाली बनाएर समय सिकाएको छ ।
यो अन्यन्तै रफ्तारको दौडाडौडमा मान्छे केले चाँही शक्तिशाली हुन्छ भनेर घोत्लिन बाध्य बनाएको छ । जो कोहीको दिमागले पैसाको सामु अरु कुनै चिजले मान्छे शक्तिशाली बन्नै सक्दैन भन्ने जवाफ तयार गरिरहेको हुनसक्छ । अर्कातर्फ मान्छेको सोच्ने क्षमता र उनले समयको रफ्तारमा गर्ने क्रियाकलाप नै सबैभन्दा शक्तिशाली हो भनेर जवाफ तयार हुन्छ । यी दुई तर्कका आआफ्नै दम छन् । दोस्रो तर्क अन्तत शक्तिशाली छ । तर त्यो भन्दा पनि शक्तिशाली तर्क छ यसबेला । सूचना चाँहि सबैभन्दा शक्तिशाली हो भन्ने अवस्था सिर्जना भइरहेको छ । जोसँग बढी जानकारी या सूचना छ उही नै संसारको शक्तिशाली मान्छे हो भनेर भनिने भनाइमा तोडमोड भइसक्यो । सत्य होस् या नहोस् जसले बढी भन्दा बढी सूचना प्रवाह गर्छ ऊ नै शक्तिशाली हो भन्ने भ्रम सर्वत्र व्याप्त भइरहेको छ । मान्छेका दिमाग यस्ता सूचनाहरुले हल्लाइरहेको छ, दिग्भ्रमित पारिरहेको छ । अहिले विश्वमा कोरोना भाइरसको त्रास तत्कालका लागि हो, तर त्यत्तिकै त्रास सधैंभरि भाइरसका रुपमा अनर्गल सूचनाहरु रहिरहेका छन् ।
सामाजिक सञ्जालको चरम दुरुपयोग गरेर मान्छेहरु जहाँ जे मनमा लाग्यो त्यही कुराको प्रचारमा तल्लीन छन् । सञ्चारमाध्यमका रुपमा आफूलाई अघि बढाएका विशेषगरी अनलाइन र युट्युव च्यानलहरुले मान्छेको सिङ्गो र अटल भावनालाई क्षत विक्षत नै बनाएको छ । यस्तो भएपछि यस्तो रहस्य खुल्यो, यस्तो भएपछि सबै चकित जस्ता भ्रमयुक्त शव्दहरु राखेर मान्छेलाई ढाँट्ने काम भइरहेको छ । मान्छेको एकतालाई खल्बल्याउने काम भइरहेको छ । मान्छेको इज्जतमाथि धज्जी उडाउने काम भइरहेको छ । वर्षौं असल काममा समर्पित भएका मान्छेको सानो व्यक्तिगत कमजोरी भेटियो भने त्यसलाई उचालेर उसलाई उठ्नै नदिने गरी भसाउने काम भइरहेको छ । च्यानलको भिवर्स बढाउने नामका अनेकन फण्डाहरु गरेर हावादारी कुरा बेच्न तल्लीन हुनेहरु बढिरहेछन् ।
मैले फेसबुकमा एउटा अनलाइन मिडियाले राखेको एउटा समाचार शुक्रबार विहानै हेरें । ‘हो मैले पन्त पन्त भनेर हिमेशलाई मैले जिताएको हुँ, अब हिमेशले मलाई १५ लाख दिन्छ’ भन्ने समाचारको शीर्षक रहेछ । भित्र गएर पढ्दै जाँदा भर्खरै सम्पन्न कमेडी च्याम्पियनमा हिमेश पन्त विजेता बनेको सन्दर्भमा निर्णायकमध्येका सन्तोष पन्तसँग जोडेर लेखिएको समाचारमा नातावादका रुपमा प्रश्न सोधेपछि सन्तोष पन्तले व्यङ्ग्य गरेर भनेको बीचको वाक्यलाई निकालेर शीर्षक बनाएर भ्रमित गर्ने काम गरिएको रहेछ । कोरोनाबाट यति नेपाली सङ्क्रमित जस्ता अनाधार समाचारले त्रास फैलाउने काम समेत गरिएको छ । विभिन्न नामधारी बाबाहरुलाई बोल्न लगाएर च्यानलहरुबाट प्रचारमा आउने प्रयास भए । अरुलाई सहयोग गर्ने नाममा पुण्य गौतमका गतिविधिमाथि बनाइएका भिडियोहरुले पनि मान्छेको समय कटाउने गलत मसला बनिरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको मृगौला प्रत्यारोपणका समयमा उहाँले पाद्नुभो, उहाँले यति छेर्नुभो जस्ता भद्दा र अमर्यादित शब्द प्रयोग गरेर सामाजिक सञ्चाल रङ्गाउने काम भयो । यी र यस्ता उदाहरण दिनमै दर्जनौं भेटिन थालेका छन् । अर्थात् यो समयको रफ्तारमा हामी कता हुँइकिदैछौं भन्ने प्रश्न अहम् बनेको छ । जतिसुकै असल मान्छेका पनि खोतलेर कमजोरी निकाल्नै थाल्दा केही कमजोरी अवश्य भेटिन्छन् । यो संसारमा कँही कतै पनि १ सय प्रतिशत ठीकठाक हुने अवस्थै सृजना हुनै सक्दैन । सामाजिक काममा दत्तचित्त मानिसहरु समाजका लागि समय खर्चिन्छन् । उनीहरु समाजका लागि महान् हुन्छन् । अनि उनीहरुले परिवारलाई चाँहि कति समय दिन्छन् त भनेर उल्टो खेद्न थालियो भने खेद्न सकिने ठाउँ हुन्छ । पक्कै पनि कम समय दिने अवस्था हुन्छ नै । उल्टो हिसाबले चलखेलका रुपमा प्रश्न बनाइयो भने त्यहाँबाट उसलाई सक्ने खेल खेल्न मजाले सक्ने अवस्था भयो । अनि उसको आम योगदानलाई क्षणभरमै धुलोपिठो बनाएर नालायक सावित गर्न सकिने भैगयो । जो अण्ठसण्ठ बोल्छ र परिस्थिति भड्काउने हिसाबले बोल्न सक्छ उसको आवाज लिन थालियो । पृथकताका नाममा जसले उल्टो कुरा गर्छ उसलाई ‘कोड’ गर्ने भइयो ।
कँही कतै छिसिक्क केही भयो भने त्यसका नकारात्मक कुरा चाँहि खोतलेर प्रचार प्रसार गर्ने च्यानलहरुले मान्छेलाई पलपलमा त्रास मात्रै सिर्जना गरिहेका छन् । मान्छेका निजी जीवनभित्रका कतिपय अनुत्तरित अवस्थाका भावनात्मक कुराहरुमाथि खेलबाड गरेर मान्छेलाई क्षत विक्षत बनाउने अधिकार कसैलाई छैन । जो कोही मान्छे स्वतन्त्रपूर्वक वाँच्न पाउनुपर्छ । हो आफूले स्वतन्त्रपूर्वक हात हल्लाउन त्यतिखेरसम्म पाइन्छ, जतिखेर त्यो हातले अरुको नाकमा ठोक्किनु हुँदैन । हात हल्लाउनेहरुलाई त्यो कुरा थाहा नै हुन्छ । नाकमा ठोक्काउँदै हिँड्नु गलत हो र त्यसलाई गलत भन्न जसले पनि सक्ने भयो । तर, यसको हिँडाइ यस्तो खालको छ, यसको हिँडाइ मिलेन, यसको पाइला चलाइ भएन, यो अलि ढल्किएर हिँड्यो, जस्ता नाममा कसैले कसैको मानमर्दन गर्न पाइँदैन । चाहे व्यक्तिले होस् चाँहे सञ्चारमाध्यमका नाममा खुलेका चिजहरुले होस् । जब अरुको सम्मानको ख्याल गरिन्छ तब मात्रै आफ्नो सम्मान हुनसक्छ । तबमात्र मान्छे सूचनाले शक्तिशाली वन्छ । समयसँगै हिँड्न सक्षम बन्छ । अझ भनौं समयलाई उसले हिँडाउने तागत राख्न सक्छ । प्रविधिको विकासको सही उपयोगिता तब मात्र हुन्छ, जब हामी आफूले केही गर्दा र केही लेख्दा अरुलाई असर पर्ला कि भनेर बढी सोच्छौं । नत्र अरुलाई खुइल्याएर आफू पानीमाथिको ओभानो हुने शक्तिको खेलमा लागेर किमार्थ शक्तिशाली भइँदैन । फेरि उसले पनि तपार्इंलाई खुइल्याउन थाल्नसक्छ । त्यसपछि यो हाम्रो मानवीयता कति धेरै चिराचिरा पर्छ र मान्छे मान्छे रहँदैन अनि कोहीदेखि कोही पनि सुरक्षित नबन्ने अवस्थासमेत सृजना हुनसक्छ भन्ने सबैले हेक्का राखौं । जय सञ्चार ।