धरान /  धरानस्थित केन्द्रीय प्रविधि क्याम्पसको माइक्रोबायोलोजी विभागले हात सफा गर्ने सेनिटाइजर उत्पादन सुरु गरेको छ । धरान उपमहानगरपालिका, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसंग समन्वय गरेर सेनिटाइजर उत्पादन सुरु गरेको हो ।
कोरोनाबाट बच्नकालागि सावुन पानीले पटक पटक हात धुनु उपयुक्त उपाय रहेको र सावुन पानी नभएको अवस्थामा सेनिटाइजरले हात सफा गर्न सकिने भएकाले सर्वसाधारणका लागि माइक्रोबायोलोजी विभागले सेनिटाइजर उत्पादन सुरु गरेको हो । बायोलोजी विभागका अनुसार क्यँम्पसबाट उत्पादित सेनिटाइजर विश्व स्वास्थ्य संगठन (डव्लुएचओ) बनाएको निर्देशिका अनुसारको गुणस्तरीय रसायन (केमिकल) प्रयोग गरिएको छ ।
सेनिटाइजर ग्लिसिरिन, इथाइल अल्कोहोल, हाइड्रोजन पेरोअक्साइड, डिस्टील वाटरको अनुपान मिलाए पछि तयार भइरहेको विभागीय प्रमुख धिरेन्द्र लिम्बुले बताए । उनले प्रविधि र जनशक्ति केन्द्रीय प्रविधि क्याम्पससंग रहेकाले सेनिटाइजर उत्पादन गर्न धरान उपमहानगरपालिका र प्रतिष्ठानसंग समन्वय गरेको बताए ।
धरान उपमहानगर पालिकाका उपप्रमुख मन्जु भण्डारी सुवेदीका अनुसार केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारसंग समन्वय गरेर पहिलो चरणमा सेनिटाइजर उत्पादन गरी सर्वसाधारणलाई वितरण गरिने छ । सेनिटाइजर सामान्यतया विरामीको उपचारमा सम्लग्न चिकित्सकहरुले आफ्नो हात सफा गर्न प्रयोग गर्छन् । तर कोरोना भाइरस सर्नबाट जोगिन हात सफा गर्नका लागि उपमहानगरपालिकाले सेनिटाइजर उत्पादन गर्न हात्तीसारसंग समन्वय गरेको उपप्रमुख भन्डारीले बताइन् ।
सेनिटाइजर उत्पादन गर्न पहल गर्ने माइक्रोबायोलोजी विभागका प्रमुख धिरेन्द्र लिम्बुले भने, ‘कोरोना भाइसरको संक्रमणबाट बच्नकालागि सावुन पानीले हात धुनु पहिलो उपयुक्त उपाय हो भने सावुन पानी नभएको अवस्थमा हा सफा गर्न सेनिटाइजर प्रयोग गर्न सकिन्छ ।’
हात्तीसारमा नमुनाका लागि सेनिटाइजर उत्पादन भएपछि त्यो नमूनाको आधारमा सरोकारवाला संघसंस्थाले पठाएका प्रतिनिधिहरुलाई थप प्रशिक्षण दिएर सेनिटाइजर उत्पादन गरी निशुल्क विरतण गर्ने लक्ष रहेको छ । उपमहानरपालिकाले धरानलाई ५ क्षेत्रमा विभाजन गरेर सामाजिक संघसंस्थाका अगुवाहरु मध्ये ५० जनालाई सेनिटाइजर उत्पादन प्रशिक्षण दिनकालागि हात्तीसारसंग समन्वय गरेर दिइने बताए ।