भण्टाबारी/ ऐतिहासिक जनआन्दोलन २०४६ मा आधारित यथार्थवादी नाटक ‘दमनको राप’ यतिबेला सुनसरी सदरमुकाम इनरुवाको कमल टाकिजमा चलिरहेको छ । प्रायःजसो नेपाली तथा हिन्दी मनोरञ्जनात्मक फिल्म प्रदर्शन हुने उक्त हलमा आइतबारबाट भने निरङ्कुश पञ्चायती शासन व्यवस्थाका विरुद्ध कसरी हाम्रा अग्रजहरू लडे भन्ने झल्को देखाउने ‘दमनको राप’ प्रदर्शन भइरहेको छ ।

प्रजातान्त्रिक व्यवस्था कसरी ल्याइयो ?, पञ्चायती शासनका विरुद्ध आन्दोलित हुँदा के कस्ता बर्बरतापूर्वक दमन गरियो ?, तत्कालीन निरङ्कुश शासनकालमा प्रजातन्त्र ल्याउन आन्दोलनकारीले प्रहरी प्रशासनको चरम यातनाको कसरी सामना गरेका थिए ? जस्ता अनेकौं प्रश्नको जिज्ञासा मेटाउँदै प्रजातान्त्रिक व्यवस्थाको महŒव र उद्देश्य बताउने अभिप्रायले ‘दमनको राप’ नाम दिएर नाटक सिर्जना गरिएको हो ।

२०१७ सालमा राजा महेन्द्रले जननिर्वाचित तत्कालीन प्रधानमन्त्रीलाई पदच्यूत गर्दै संसद्समेत भङ्ग गरेर निर्दलीय पञ्चायती व्यवस्था लागू गरेका थिए । निरङ्कुश भनिएको उक्त पञ्चायती व्यवस्थामा जनताका आधारभूत मौलिक हकहरू समेत कुण्ठित पारिएका थिए । त्यसको विरुद्धमा विभिन्न राजनीतिक दलहरूको नेतृत्वमा जनताले पटक–पटक आन्दोलन गरे तापनि सफल हुनै सकेन । विभिन्न समयमा जनता आन्दोलित भएका कारण तत्कालीन राजा वीरेन्द्रले बहुदल वा सुधारिएको पञ्चायत दुईमध्ये एक रोज्न २०३६ सालमा जनमत सङ्ग्रह गराए पनि राज्यशक्तिको दुरुपयोग गरी पञ्चायत व्यवस्थालाई नै जिताइयो । देशमा बहुदलीय व्यवस्था स्थापना हुन नसकेपछि २०४२ सालमा नेपाली काङ्ग्रेसले सत्याग्रह शुरु ग¥यो । निरङ्कुशताविरुद्ध काङ्ग्रेसले सत्याग्रह शुरु गरेपनि कम्युनिष्ट पार्टीहरू आफ्नै किसिमले सङ्घर्ष गरिरहेका थिए । एकै ठाउँमा सबै राजनीतिक दलहरूले आन्दोलन नगर्दा त्यतिबेला पञ्चायती व्यवस्था टसमस भएन ।

राजनीतिक दलहरू एकीकृत भएर देशमा सशक्त आन्दोलन गर्न नसकिरहेको बेला पूर्वमा भने एउटा कवि तथा पत्रकार राजकुमार कार्कीले आफ्नो नेतृत्वमा पञ्चायती शासनकालमा भएका अन्याय, अत्याचारका विरुद्ध आवाज उठाइरहेका थिए । निरङ्कुश पञ्चायत व्यवस्थाका विरुद्ध आवाज उठाउँदै अन्याय र अत्याचारबाट छट्पटाइरहेको नेपाली समाजलाई मुक्ति दिलाउन २०४६ सालमा आन्दोलनमा होमिएका कार्कीले पटक–पटक महिनौंसम्म जेलजीवन बिताए । उनै कार्कीलाई दमनको राप नाटकको मुख्यपात्र बनाएर नाटक लेखिएको छ ।

तत्कालीन समयमा प्रजातन्त्र ल्याउन कार्कीको नेतृत्वमा पूर्वका विभिन्न स्थानमा भएका आन्दोलन र उनीहरूलाई पञ्चायत व्यवस्थाका प्रहरी प्रशासनले हिरासतमा दिएको चरम यातना उक्त नाटकमा हेर्न सकिन्छ । लामो समयसम्म जनताको आन्दोलनलाई दबाउँदै आएको सरकारले नाटकमा प्रस्तुत गरिएका पात्रहरूलाई समेत हिरासतमा दिएको बर्बरतापूर्वक यातना देखाइएको छ । उक्त नाटकमा कर्फ्यु जारी गर्दै प्रहरीले आन्दोलनकारीमाथि लाठी, बुट, अश्रुग्यास, गोलीलगायत औजार प्रयोग गरेर कसरी दमन गरेको थियो भन्ने नाटकमा देख्न सकिन्छ । जतिसुकै यातना तथा प्रलोभन देखाउँदासमेत प्रजातन्त्र प्राप्तिका लागि उनीहरू कटिबद्ध हुन्छन् । बरु आफ्नो देश र जनताको लागि ज्यानको आहुती दिन तयार भएको कुरा नाटकमा देखाइएको छ ।

प्रजातन्त्र ल्याउन २०४६ सालको जनआन्दोलनमा पूर्वका ब्लाष्ट टाइम्स दैनिकका प्रधान सम्पादक तथा कवि राजकुमार कार्कीलगायतले भोगेको यातना उक्त ‘दमनको राप’ नामक नाटकमा दर्शकहरूले हेर्न सकिने नाटकका निर्देशक विक्रमश्रि बताउँछन् । २०४६ को जनआन्दोलनको कथालाई ऐतिहासिक दस्तावेजको रूपमा दमनको राप रहेको बताउँदै उनले प्रजातन्त्र प्राप्तिको लडाइँमा जोडिएका अगुवा तथा योद्धाहरुको विगत हेर्दा दर्शकले नाटकमा आफैलाई पात्र महसुस गर्नसक्ने बताउँछन् । २०४६ सालदेखि अहिलेसम्म २–३ पुस्ता आइसकेका छन् विक्रमले भने, ‘उनीहरूलाई जनआन्दोलन अगाडिको समय कस्तो थियो ? थाहा छैन । त्यसैले ऐतिहासिक जानकारीको लागि यो नाटक आवश्यक छ ।’

दमनको राप यथार्थवादी नाटक भएको र यसमा सत्य कुरा प्रस्तुत गरिएकोले सबै उमेर समूहका दर्शकले नाटक मन पराएको निर्देशक विक्रमको कथन छ । आफूले २०४६ सालमा देखेको र भोगेको अनुभूतिलाई नाटकमार्फत् देखाउने प्रयत्न गरेको नाटकका लेखक गोपाल देवान बताउँछन् । जनआन्दोलनमार्फत् देशमा प्रजातन्त्र प्राप्तिका लागि राजकुमार कार्कीलगायतले खेलेको भूमिका तथा प्रहरी प्रशासनबाट भोगेका चरम यातना देखाउँदै नयाँ पिँढीलाई प्रजातन्त्रको महŒव बताउने उद्देश्यले उक्त नाटक सिर्जना गरेको उनको भनाइ छ । ‘समाजमा भएका यथार्थ कुरालाई उजागर गर्न नाटक लेखेको हुँ’ उनले भने, ‘यो नाटकले समाजलाई दिशाबोध गर्दै समाज परिवर्तन गर्न अहम् भूमिका खेल्छ ।’

ऐतिहासिक घटनालाई सधैंको लागि दस्तावेजीकरण गर्नुका साथै विगतमा भएका परिवर्तनका बारेमा नयाँ पुस्तालाई शिक्षा दिने हिसाबले यो नाटक महŒवपूर्ण भएको लेखक देवानको भनाइ छ । ‘ज्यानको परवाह नगरी विगतमा जनआन्दोलन गरेका राजकुमार कार्कीजस्ता व्यक्तिको जीवनबाट समाजले अनुकरण गर्नैपर्छ’ उनी भन्छन्, ‘समाजले अनुकरण गरेन भने समाज अग्रगतिमा होइन, अधोगतिमा लाग्छ । हामीले यस्ता पात्रलाई नाटकमार्फत् प्रस्तुत गरेर नयाँ पुस्तालाई देश र समाज परिवर्तनका साथै मुक्तिको लागि सन्देश दिन खोजेका छौँ । आफूमात्र बाँचेर होइन, देश र समाजलाई बचाएर मुक्तिको लागि लड्नुपर्दछ, अनिमात्र जीवन सार्थक हुन्छ भन्ने यस नाटकको सन्देश हो ।’ समाजमा हेपिएका, दबिएका, निमुखा, विभेदित, बहिष्कृत,दलित, शोषितहरूको विषय उठाएर नाटक बनाउने हुनाले नाटकले दिने सन्देश सही र सकारात्मक भएको लेखक देवान बताउँछन् ।

दमनको राप नाटकले निरङ्कुश शासनकालमा आन्दोलनकारीउपर गरेको यातना जस्ताको त्यस्तै देखाएको र नाटकमा कलाकारहरूको अभिनयसमेत तारिफयोग्य रहेको नेपाली काङ्ग्रेस इनरुवा नगरसचिव धीरज भट्टराई बताउँछन् । ‘२०४६ को जनआन्दोलनका बारेमा अधिकांश युवापुस्ता अनभिज्ञ छन्’ उनले भने, ‘त्यसैले देशको विगतबारे जानकारी पाउन युवापुस्ताले दमनको राप नाटक हेर्नुपर्छ ।’ सुनसरी सदरमुकाम इनरुवामा इनरुवा नगरपालिकाको आयोजनामा आइतबारबाट शुरु भएको उक्त नाटक मङ्गलबारसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

‘मुलुकको भविष्य अहिलेका युवाहरू हुन्’ नाटकका निर्देशक विक्रम भन्छन्, ‘त्यसकारण उनीहरूलाई राजनीतिक चेतना देखाउने प्रयत्न हामीले गरेका हौँ ।’ २०४६ को जनआन्दोलनलाई संस्थागत र व्यवस्थित गर्न नसक्दा देश गलत ट्रयाकमा गएको उनको भनाइ छ । उनले भने, ‘जुन लक्ष्य र उद्देश्य प्राप्तिका लागि नेपाली दाजुभाइ दिदीबहिनीले सहादत प्राप्त गरे । ती महान् शहीदहरूको सपना साकार भएको छैन । त्यसैले हामीले दमनको राप नाटकमार्फत् नयाँ पिँढीलाई झक्झकाउन खोजेका छौं ।’ उपयुक्त समयमा राजनीतिक चेतना बढाउने उद्देश्यले नाटक बनाइएकोले नाटक हेर्न युवा पिँढीका साथै अग्रजलगायत सबैमा निर्देशक विक्रमश्रिको आग्रह छ ।