नेपाल विभिन्न चाडपर्वले भरिएको देश । विभिन्न समयमा मनाइने नेपाली चाडपर्वहरूको आआफ्नै विशेषता छ । यी चाडपर्वहरूले मानिसहरूलाई स्फूर्ति र आनन्द दिने गर्दछ । सधैंभरिको काम र बेफुर्सदीबाट आक्रान्त भएका मानिसहरूलाई यसले पुर्नजागरण दिने गर्दछ । त्यसैले त अधिकांश नेपालीहरूलाई यी चाडपर्वहरूको व्यग्र प्रतीक्षा रहेको हुन्छ । सबैले आआफ्नो हिसाब र सामथ्र्य अनुसार यी चाडवाड मनाउने गर्दछन् । अन्य बेला भेटघाट नभएका व्यक्तिहरू चाडबाडका अवसरमा भेट्ने, एकापसमा रमाइलो गर्ने गरेको पनि पाइन्छ ।

नेपालमा चार किसिमका रात्रिहरूलाई महत्वपूर्ण रात्रिको रूपमा लिइन्छ । यिनीहरूको धार्मिक महŒव पनि रहेको पाइन्छ । ती रात्रिहरू हुन् –मोहरात्रि, सुखरात्रि, कालरात्रि, र शिवरात्रि । तिथि अनुसार शिवरात्रि । प्रत्येक वर्षको फाल्गुन कृष्ण चतुदर्शीका दिन शिवरात्रि मनाउने गरिन्छ । रुद्र, शिव, शंकर, महादेव, नीलकण्ठ आदि नामले चिनिने उनै शिवजीको आज व्रत बस्ने, पूजाआजा गर्ने गरिन्छ ।

पौराणिक कथन अनुसार संसारको सृष्टिकर्ता ब्रह्मा, पालनहार भगवान विष्णु तथा संहार तथा कल्याणकर्ता भगवान महादेव अर्थात् भगवान शिवलाई मानिन्छ । माघ महिनामा संहारकर्ताको रूपमा रुद्रको प्रभावबाट रुख विरुवा, झारपात पत्रविहीन भई जीर्ण शीर्ण भएका तिनै वनस्पतिलाई उनै महादेव अर्थात् कल्याणकारी शिव तŒवबाट फागुन महिनामा रुख बिरुवा तथा झार पातहरू पलाउने भएकाले यसै महिनामा शिवरात्रि पर्व मनाउने गरिएको जनविश्वास रहेको पाइन्छ ।

शिवरात्रि पर्वलाई महाशिवरात्रि पनि भनिन्छ । शिवरात्रि शिवको पर्व भएकाले यस दिन काठमाण्डौस्थित श्री पशुपतिनाथको मन्दिरमा श्रद्धालु भक्तजनहरूको निकै भीड हुन्छ । यहाँ मेला नै लाग्दछ । यहाँ विदेशी भक्तजनहरूको पनि निकै उपस्थिति हुने गर्दछ । साधु सन्तहरू पनि अन्य बेलामा भन्दा यसबेला धेरै सङ्ख्यामा हुन्छन् ।

शिवरात्रिमा काठमाण्डौस्थित टुँडिखेलमा हर्ष बढाइँ पनि गर्ने गरिन्छ । शिवरात्रि धार्मिक पर्व भएकाले यस दिन काठमाण्डौमा मात्र होइन अधिराज्य भरका शिवालयहरूमा तथा भारत सहित विश्वभरका शिवालयमा श्रद्धालु भक्तजनहरूको निकै भीड हुने गर्दछ । धरानस्थित पिण्डेश्वर बाबाधाम, खोटाङको हलेसी, झापाको अर्जुनधारा आदि धाममा पनि भक्तजनहरूको निकै घुइँचो हुने गर्दछ । नेपाल भ्रमण वर्ष २०२०को अवसरमा धार्मिक पर्यटनको विकास गर्ने यो एउटा सुनौलो अवसर पनि हो ।

शिवरात्रिका दिन बिहानै नुहाई धुवाई गरी शुद्ध भई शिवजीको पूजा पाठ गर्ने, भजन गर्ने दान धर्म गर्ने गरिन्छ । भक्तजनहरूले शिवालयमा अखण्ड दीप, महादीप जलाएर दीपोत्सवका साथ बेलपत्र शिवजीलाई अर्पण गर्दछन् । शिवजीको व्रत बस्नेहरूले अघिल्लो दिन अर्थात् फाल्गुन त्रयोदशीका दिन एक छाक मात्र खाई वा विधि विधान अनुसार व्रत बस्ने तथा चतुर्दशीका दिन कालो तिल आदिले स्नान गरी एक प्रहर वा प्रत्येक प्रहर शिवजीको षोडशोपचारले पूजाआजा गर्दछन् र शिवजीलाई अत्यन्त मन पर्ने धतुरो, बेल पत्र आदि चढाउने गर्दछन् भने कोही धुनी बालेर रातभर जाग्राम बस्ने पनि गर्दछन् । जाग्रामको अवसरमा कोही भजन कीर्तन गर्ने हुन्छन् भने कोही नाचगान गर्ने गर्दछन् । शिवरात्रीको दिनमा केटाकेटीहरू “महादेवलाई जाडो भयो दाउरा देऊ देऊ” भन्दै घरघरमा माग्दै हिँड्छन् । केटाकेटीहरूको यो

मगाई निकै सम्भ्रान्त किसिमको हुने भएकोले यो दृश्य निकै मनमोहक हुन्छ । शिवरात्रीको दिन घर अगाडि धुनी बाली आगो ताप्ने प्रचलन छ । यसबाट चिसोले दुखेका जीउ ठीक हुने र यस दिनपछि गर्मी शुरु हुने विश्वास गरिन्छ । बालेको आगोमा हलुवा पकाउने, आलु पोल्ने, मकै भटमास भुट्ने गरिन्छ । यी खाद्यान्नलाई प्रसादको रूपमा बाँडीचुँडी खाने प्रचलन पनि रहेको पाइन्छ ।

शिवरात्रि पर्वको महŒवबारे लिङ्ग पुराणमा महादेव स्वयम्ले पार्वतीलाई यसको महŒव बताएको वर्णन पाइन्छ । लिङ्ग पुराणमा वर्णन भए अनुसार फाल्गुन कृष्णत्रयोदशीका दिन स्नानादि कार्य गरी व्रत तथा उपवास बसेर त्यस दिन राति जाग्राम बस्ने र त्रयोदशी तिथि सिद्धिएर चतुर्दशी लाग्नासाथ श्री महादेव र शिवलिङ्गको परिक्रमा गरी अर्घ प्रदान गर्नाले एवं शिवरात्रिको दिन पनि जाग्राम बसी होम गर्नाले सबै कार्य सिद्धि भएर सुख, शान्ति र ऐश्वर्य लाभ हुन्छ ।

हिन्दुहरूको बाक्लो उपस्थिति भएका विभिन्न देशमा धुमधामका साथ शिवरात्रि मनाउने गरिन्छ । अझ शैव धर्म प्रति आस्था राख्ने श्रद्धालु भक्तजनका लागि त यो ठूलो पर्व हो । भारतका वाराणसीको विश्वनाथ मन्दिर, गुजरातको सोमनाथ मन्दिरलगायत विभिन्न ठाउँमा भक्तजनको ठूलो भीड लाग्ने गर्दछ । तमिलनाडुमा त आजको दिन ठूलै मेला लाग्ने गर्दछ । पाकिस्तानमा पनि हिन्दूहरूको उपस्थिति रहेको छ । त्यहाँका भक्तजनहरू पाकिस्तान स्थित उमरकोट शिव मन्दिर पुग्ने गर्दछन् ।

यस दिन नुहाई धुवार्इ गर्नाले शारीरिक स्वच्छता तथा निरोगिता पाउन सकिन्छ भने एक दिनको व्रत उपासनाले शरीरको पाचन तन्त्रलाई फाइदा पु¥याउन सकिन्छ । त्यस्तै स्वदेशी विदेशी भक्तजनको धार्मिक यात्राले धार्मिक पर्यटनको विकास गर्न सकिन्छ । पर्यटकहरूले किन्ने वस्तुबाट स्वदेशी बजारको प्रवद्र्धन हुन सक्दछ र उद्यमीहरूको मनोबल बढाउन सकिन्छ । नेपालको नाम विदेशमा फैलाउन पनि सकिन्छ । त्यस्तै एक दिनको पर्व उत्सवबाट तरोताजा हुने अवसर पनि प्राप्त हुन सक्दछ । यसरी शिवरात्रि पर्वबाट धार्मिकमात्र होइन आर्थिक र सामाजिक लाभ लिन सकिन्छ ।

यस पर्वलाई कतिपय असामाजिक तŒवले लागू पदार्थ गाँजा सेवनको अवसरका रूपमा दुरुपयोग गरेको कतिपय असल युवावर्ग पनि लहसिएको नदेखिएको होइन । यो शान्ति र उपासनाको पवित्र पर्व हो । पर्वलाई मर्यादित रूपमा मनाउन र विकृति हटाउन जागरुक हुन आवश्यक छ । शिवरात्रिको अवसरमा ब्लाष्ट टाइम्स तथा पङ्क्तिकारको तर्फबाट सबै महानुभावहरूलाई हार्दिक शुभकामना ।