इटहरी । इटहरी उपमहानगरपालिका–१ को राष्ट्रिय उच्चमावि आन्तरिक किचलो, खिचातानी र राजनीतिक हस्तक्षेपको चपेटामा परेको छ । सुनसरीकै उत्कृष्ट विद्यालयको रूपमा पुरस्कारसमेत पाइसकेको यो विद्यालय आन्तरिक कलहमा फस्दा पठन–पाठन खस्किँदै गएको छ । सुनसरीको मात्र नभई प्रदेश १ कै राम्रो विद्यालयमा पर्ने राष्ट्रिय मावि राजनीतिक खिचातानीले समस्यामा पर्न थालेको हो ।

सरकारी विद्यालयमध्ये उत्कृष्ट पठन–पाठन हुने गरेकै कारण चर्चामा रहेको राष्ट्रिय मावि व्यवस्थापन समितिको चुनावपछि आरोप प्रत्यारोपले समस्याग्रस्त हुन पुगेको छ । माघ १७ गते हुने भनिएको राष्ट्रिय मावि आँपगाछीमा व्यवस्थापन समितिको निर्वाचन बिथोलिएसँगै विद्यालयको विवाद थप बढ्दै गएको छ । नेकपानिकटका अभिभावकहरूले भने विद्यालयको कार्यप्रति असन्तुष्टि जनाउँदै आएका छन् । विवादले उग्ररूप लिएपछि माघ १९ गते हुने भनिएको निर्वाचन इटहरीका मेयर द्वारिकलाल चौधरीको निर्देशनमा रोकिएको छ ।

विद्यालयका प्रधानाध्यापक शरणकुमार बस्नेतले भने व्यवस्थापन समितिको निर्वाचन रोकिएपछि समस्या भएको बताए । उनले भने, ‘अभिभावकहरूले नामावली प्रकाशनमा असन्तुष्टि जनाएपछि निर्वाचन रोकिएको छ । केही अभिभावकहरूको नाम दोहोरिएर आएको रहेछ, हामीले त्यो सच्याउने भनेका थियौं ।’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) समर्थित र नेपाली काङ्ग्रेस समर्थित अभिभावकहरू प्यानल नै बनाएर विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा होमिएका थिए । ‘निर्वाचन समितिले सार्वजनिक गरेको अभिभावक (मतदाता) नामावलीमा नाम दोहोरिएको भन्दै नेकपा समर्थित उम्मेदवारहरूले विरोध जनाएपछि इटहरीका मेयर द्वारिकलाल चौधरीले तत्काल रोक्नू भनेर निर्वाचन रोकियो’–नेकपानिकटका एक नेताले भने ।

नेकपानिकट अभिभावक दलबहादुर मगरले भने विद्यालयको निर्वाचनको विषयमा आफूहरू असन्तुष्ट रहेको बताए । ‘अभिभावकहरूको नाम दोहोरियो र हामीले त्यो सच्याउन भनेका थियौं, अहिले किन रोकियो थाहा भएन’–मगरले भने । नेकपाले व्यवस्थापन समितिको निर्वाचन रोक्न माग गर्दै विद्यालयमा अनियमितता भएको आरोपसमेत लगाएको छ ।

नेकपाबाट मगरसँगै एलिजा खनाल, तेञ्जिङ शेर्पा, दलबहादुर मगर र पवित्रा रिजाल चुनावमा होमिएका थिए । १ हजार ७७ मतदाता रहेको उक्त विद्यालयमा एक परिवारका एक जनामात्र मतदाता हुनुपर्नेमा १९ जना अभिभावकको नाम दोहोरिएको भन्दै नेकपानिकटका उम्मेदवारले विरोध जनाएका हुन् ।

काङ्ग्रेसका तर्फबाट उम्मेदरवार तथा व्यवस्थापन समितिका पूर्व अध्यक्ष ज्ञानबहादुर विश्वकर्माले विद्यालयमा विवाद हुँदा पूर्वकै उत्कृष्ट विद्यालय समस्यामा परेको बताए । उनले सामान्य असन्तुष्टिलाई मिलाएर लैजानुको विकल्प नभएको बताए । विद्यालयलाई बचाउन सानोतिनो विषयलाई ठूलो बनाउन नहुने उनको तर्क छ । काङ्ग्रेसको तर्फबाट राजन अधिकारी, लीलादेवी रम्तेल, गीताकुमारी बानियाँले उम्मेदवारी दिएका थिए ।

अख्तियारमा उजुरी
लामो समयदेखि राम्रो नतिजा ल्याउँदै आएको राष्ट्रिय माविको विवाद अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म पुगेको छ । निर्वाचनको विषयलाई लिएर रिसइबी साध्न विद्यालयविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय इटहरीमा अनियमितताको उजुरी परेको हो ।

विद्यालयविरुद्ध अख्तियारमा उजुरी परेसँगै अख्तियारले विद्यालयको खातापातासमेत मागेको छ । अहिले विद्यालयको खातापाता अख्तियारले हर्न थालेको छ । पठन–पाठनमा उत्कृष्ट विद्यालयलाई सङ्कटमा पार्ने खेल भएको भन्दै केही अभिभावकहरूले भने चिन्ता व्यक्त गरेका छन् ।