आज यो आलेख तपाँइले पढ्दै गरेको दिन प्रेम दिवशको दिन हो । विश्वभर प्रेम दिवशको सरगर्मिमा प्रेमिल गसिप, चर्चापरिचर्चा र प्रेमको खुल्ला बहस हुने दिन हो आज ।

‘भ्यालेन्टाइन ड’ेको रुपमा मानिने प्रेम दिवस विशेष गन्तव्यहरुको आआफ्ना सूची विश्वका चर्चित पर्यटन प्रकाशनहरुले सार्वजनिक गरिसकेका छन् । लोन्ली प्लानेटदेखि कोन्डेनास्ट ट्राभलर आदिले यसरी प्रेम गन्तव्य सार्वजनिक गर्नुका केही तर्क छन् ।

उहिले प्रेमिहरुको पक्षमा योगदान गर्ने सेन्ट भ्यालेन्टाइन विशेष दिनको रुपमा मानिने प्रेम दिवशमा भ्यालेन्टाइको देश इटालीमा मात्रै प्रेमीहरुको भीडभाड हुँदैन । विश्वका प्रेमजन्य कथा जोडिएका र प्रेमीहरु पुगिरहने गन्तव्यहरुमा पनि भीड लाग्छ । भारतको आग्रामा रहेको ताजमहल होस वा मध्यप्रदेशमा भएको खाजुराहो मन्दिर होस्, सबै प्रेमस्थलको रुपमा चर्चित छन् । प्रेम दिवशको दिन त्यहाँ बाक्लो भीड लाग्छ ।

अब कुरा रह्यो, हाम्रो नेपाली रैथाने प्रेम मन्दिर कुन हो ? दन्तकाली हुन सक्छ । भालेश्वर हुन सक्छ । भगवान शिवले मृत भएकी प्रेमिका सतीदेवीलाई बोकेर दाँत झरेको स्थान भएकाले धरानको दन्तकाली एक हिसाबमा प्रेम मन्दिर हो । सतीदेवीको निधार झरेकोले चन्द्रागिरीको भालेश्वरलाई पनि प्रेम मन्दिर मान्न सक्छ ।

र, सबैभन्दा महत्वपूर्ण प्रेम मन्दिर चैं धरानको बुढासुब्बा नै बन्न सक्छ । दन्तकाली र भालेश्वर हिन्दु धर्मसँग जोडिएकोले अन्य आस्थावान्लाई त्यो साझा गन्तव्य नबन्न सक्छ । बुढासुब्बा भने सबैको साझा जस्तै भएको छ । हिन्दू, बौद्ध, किराँतदेखि अन्य सबै आस्थाका मान्छेहरुको दैनिक भीडले यस्तो तर्क गर्न सकिन्छ ।

किन बुढासुब्बा प्रेम मन्दिर हो?
कतिले बुढासुब्बालाई पृथ्वी नारायण शाहले नेपाल राज्य विस्तार गर्दा मारिएका किराँती राजा बुद्धिकर्ण रायको चिहान स्थलको रुपमा मान्छन् । किराँती राजधानी विजयपुर क्षेत्रमा आएका पृथ्वीनारायणका फौजले हत्या गरेका राजा रायको सम्झनामा स्थानीयहरुले पूजा र सम्मान गर्ने स्थलको रुपमा बुढासुब्बालाई लिएर क्रमशः मन्दिर बनेको एकथरिको भनाइ छ ।

अर्कोथरि पनि छन्, जो भन्छन् बुढासुब्बा एक सिद्ध किराँती पुरुषको समाधि स्थलको रुपमा बुढासुब्बाको व्याख्या गर्छन् । बुढा सुब्बा नामक सिद्ध पुरुष किराती र उनकी बहिनी सुब्बिनी आएर धनुषले काग मार्न खोज्दा काग भागेपछि बाँसको टुप्पो मात्रै काटिएर उनी तपस्यामा बसेको लोकोक्ति रहेको छ । धरानको बुढासुब्बा मन्दिर परिसरमा रहेका बाँसका टुप्पा नहुनुमा त्यही किम्वदन्ती अनुसार बुढा सुब्बाको धनुषले टुप्पो छिनाएर भएको भनिन्छ ।

केही केहीले भने बुढासुब्बा क्षेत्रलाई महाभारतको युद्धमा कौरव पक्षबाट सहभागी एकलव्यको समाधिस्थलको रुपमा पनि बुढासुब्बालाई व्याख्खा गर्छन । पर्यटनकर्मि बासुदेव बराल धरानको बुढासुब्बामा महाभारतको युद्धमा हारे पनि दाजुभाइले नै हार्ने र जिते पनि दाजुभाइले नै जित्ने बुझेर हिमालय पर्वतमा तपस्या गर्न आएका एकलव्यले धरानको बुढासुब्बामा तपस्या गरेको कहावत रहेको बताँउछन् । तराई क्षेत्रका एकलव्य हिमालयको चिसो झेल्न नसकेर बुढासुब्बा क्षेत्रमै समाधि लिएको पौराणिक मिथक रहेको बरालको तर्क छ ।

पौराणिक, ऐतिहासिक र आधुनिक सबै कोणमै बुढासुब्बा मन्दिर उत्पत्तिको कथा जोडिएकाले यसमा सबै आस्थाका मान्छेहरु आउने गर्छन् । किराती, वैदिक सनानत, बौद्ध सबै आस्थाका मान्छेहरु बुढासुब्बा मन्दिर आउँछन् ।

पौराणिक, ऐतिहासिक, आधुनिक कोणामा भिन्न भिन्न विज्ञमत आउँछन् बुढासुब्बामा । तर, प्रेमको मामिलामा भने बुढासुब्बामा एकमत छ । अर्थात् बुढासुब्बा प्रेमको मन्दिर भएकोमा कुनै दुविधा छैन । विज्ञले हैन आम युवापुस्ताले यो प्रमाणित गरेका छन् । प्रमाणित भएको कुरामा गीत पनि गाइएका छन् ।
आजै गई बुढासुब्बा लेखौँ नाम बाँसैमा
कत्ति बस्नु म तिमी आँउने आशैमा..... ।
धराने नाट्यकर्मी तथा गीतकार गोपान देवानको शब्दमा सुपरहिट गायक सविन राईले गाएको यो गीतका शब्दले बुढासुब्बा प्रेम मन्दिर भएको देखाउँछ । लाखौँ युवापुस्ताको ओठमा झुन्डिएको छ यो गीत । लाखाँै नेपाली मात्रै नभएर छिमेकी भारतको दार्जिलिङदेखि सिक्किमसम्म बुढासुब्बाको ग्ल्यामर देखिन्छ ।

प्रेमिल जोडीले बुढासुब्बाामा टुप्पा नभएका बाँसमा नाम लेखेर अमर प्रेमको आकांक्षा व्यक्त गर्ने कल्चर बनिसक्यो । अहिले बाँसमा नाम लेख्न निषेध छ । यसको सट्टा जोडी धागो बाँध्ने अर्को सुन्दर प्रचलन शुरु भएको छ । जे भए पनि,जस्तो प्रचलन आए पनि बुढासुब्बालाई प्रेमको मन्दिर मानिएकै छ । कुनै कथामा उल्लेख नभए पनि, कुनै मिथक नभए पनि बुढासुब्बा प्रेमको मन्दिर बनिसक्यो ।

सेन्ट भ्यालेन्टाइनले प्रेमको लागि काम गरेर उनको नाममा हरेक फेब्रुअरी १४ मा प्रेम दिवस मनाइन्छ । धरानको ‘प्रेम मन्दिर’ बुढासुब्बा पुग्न फेब्रुअरी १४ नै कुर्नु पर्दैन । हरेर दिन यहाँ प्रेमका पुजारीहरु आँउछन । जोडी धागो बाँध्छन् । अनि सफल प्रेमको कामना गर्छन् । धरान आउने हरेक युवा जोडीको पहिलो गन्तव्य बुढासुब्बा हुनुले यो स्वतः प्रेम मन्दिर वा प्रेम गन्तव्य भएको देखिन्छ ।

आजकाल हरेक दिन बुढासुब्बा आएर जोडी धागो बाँध्नेहरुको भीड हेर्दा लाग्छ बुढासुब्बा प्रेमका देउता हुन् । यस्तो लाग्छ सेन्ट भ्यालेन्टाइन भन्दा कम छैन बुढासुब्बा । अनि, ताजमहल भन्दा सानो महत्वको प्रेमिल मन्दिर हैन बुढासुब्बा ।

अबको कामः बुढासुब्बाको प्रेमिल ब्रान्ड
प्रेम मन्दिरको रुपमा पहिचान बनाएको बुढासुब्बालाई प्रेमिल ब्रान्डिङ गर्नभने बाँकी छ । पर्यटनमा ब्रान्ड भनेको इतिहाँस हेरेर मात्रै हुँदैन । कतिपय ब्रान्ड समयक्रमले बनाउँछन् । हाम्रै नाम्जेकै हेरौँ न । जबसम्म सिएनएनले नाम्जेलाई सुन्दर क्षेत्र भनेर भनेन तबसम्म हामीले वास्ता गरेनौँ । जब भन्यो हामीले भीड बढाउन थाल्यौँ । बुढासुब्बा पनि प्रेमिल मन्दिर बनिसक्यो । अबको काम यसको ब्रान्डको हो ।

बुढासुब्बाको प्रेमिल कथा कसरी शुरु भयो ? प्रेम जोडीको सर्वसम्मत गन्तव्य बुढासुब्बा किन बन्यो? यस बारेमा साहित्य बनाउन आवस्यक छ । मिथक सिर्जना गर्न आवश्यक छ । मिथक बनाउने मान्छेले नै हो । मिथकको उदाहरणमा सिक्किमका पाँचपटक सम्म मुख्यमन्त्री बनेका पवन चाम्लिङको काम उदाहरणीय मान्न सकिन्छ । गान्तोक बजार मुनिको एक छाँगोलाई तत्कालीन मुख्यमन्त्री चाम्लिङले गज्जब मिथक जोडे । उनले भने– यो वनझाँक्री झरना हो । वनझाँक्री झरनाको पानी अत्यन्तै धमिलो छ । त्यो धमिलोलाई पनि चाम्लीङले कथा सिर्जना गरेर पुष्टि गरे । उनले भने– वनझाँक्री झरनामा रातभर आएर झाँक्रीले पानीमा खेल्छ । पानीको मुहानमै खेलेपछि पानी धमिलिन्छ । त्यो धमिलो हुनु भनेको नै वनझाँक्री हुन्छ भन्ने मिथकको कथा प्रमाणित हुनु हो ।

चाम्लिङको यो मिथकले काम गर्यो । विहार, पश्चिम बङ्गाल, दार्जिलिङ, भुटान हुँदै नेपाल तथा अन्य देशका पर्यटकहरुले अहिले दैनिक वनझाँक्री झरनामा भीड लाउँछन् । कतिपय धार्मिक प्रवृत्तिका मान्छेले त वनझाँक्रीले खेलेको पवित्र धमिलो पानी भन्दै जिउमा लगाएर रोग निको हुने विश्वास गर्छन् । केही हप्ता अगाडि नेपाल पर्यटन बोर्डको हलमा भएको एक कार्यक्रममा चाम्लीङले यस बारेमा एक लामै प्रवचन दिएका थिए । उनले भने– विश्वमा के छ हैन के छैन भन्ने कुरा सिक्किमले दियो ।

सिक्किमका पवन चाम्लीङले एक गुमनाम झरनालाई झाँक्रीको ब्रान्ड बनाएर बिक्री गरेजस्तै हामीले धरानको बुढासुब्बालाई प्रेमिल ब्रान्ड बनाउन आवस्यक छ । बुढासुब्बा मन्दिर परिसरमा सार्वजनिक गरेर राख्ने गरी बुढासुब्बासँग जोडिएका पौराणिक, ऐतिहासिक र आधुनिक प्रसङ्ग सहित साझा प्रेमिल मिथक हामीले निर्माण गर्न सक्नुपर्छ । बुढासुब्बाका प्रेमिल कथाको ब्रोसर, पोस्टर, नाटक, लकेट आदि बेच्न सकिन्छ । यत्ति गरेमा बुढासुब्बाको अनौपचारिक प्रेमिल ब्रान्ड औपचारिक बन्छ । र, बुढासुब्बा नेपालको सबैभन्दा सुन्दर र लोकप्रिय प्रेमिल गन्तव्य बनिरहनेछ ।