धरान/ तीनसाता अघि पूर्व ब्रिटिस गोर्खाहरूले धरानमा गोर्खा सत्याग्रह आन्दोलनबारे जानकारी दिन भेला आयोजना गरे । तर मुस्किलले करिब ७० जना जतिमात्र भेला भए । भेला भएका अधिकांश पूर्व गोर्खाको उमेर ७० वर्षमाथि थियो । जो बेलायत जान मन नगरेका वा गएर पनि फर्केका वृद्धहरूमात्र थिए ।

गोर्खा एकता समाजका अध्यक्षसमेत रहेका गोर्खा बचत तथा ऋण सहकारी संस्थाका पूर्व अध्यक्ष गजेन्द्र इस्वोले भने, ‘अचेल त भूपू गोर्खा साथीहरू भेला हुन पनि गाह्रो भएको छ । अधिकांश साथीहरू धरान छाडेर बेलायततिर पलायन भएकाले कुनै भेला गर्नुप¥यो भने पहिलेको जस्तो ठूलो सङ्ख्या देखिन्न ।’ यसको अर्थ धरानलाई आफ्नो स्वर्गभूमि बनाएर बसेका पूर्व गोर्खा समुदायमध्ये बेलायत पलायन हुन चाहनेहरूको सङ्ख्या बढेको सङ्केत हो । दुई दशकअघि धरानको सैनिक भवनमा पूर्व गोर्खाहरूले कुनै कार्यक्रम आयोजना गर्दा एकसाथ कम्तीमा सात सयदेखि हजार जनाले उत्साहपूर्ण सहभागिता जनाउँथे ।

बेलायतले आवासीय अधिकार दिएपछि धरान विस्तारै ब्रिटिस गोर्खा लाहुरेविहीन हुँदै गएको छ । बेलायत जाने मनसाय नगरेका इस्वोले भने, ‘जाने जति शाखा सन्तानसहित बेलायत पलायन भए । तर चिन्ता भने अर्को छ । पहिले यहाँ बसेका पूर्व गोर्खाहरूले लगानी गरेका सामाजिक र व्यवसायिक संस्थाहरू अब कसरी सञ्चालन गर्ने भन्ने चिन्ता पलाएको छ ।’

उनका अनुसार पूर्व गोर्खाकै वन डे पे स्किमले स्थापना भएको डिपो स्कुल, भूपू सैनिक भवन, गोर्खा कम्युनिटी हल, पेन्सन पेइङको दुई बिघा बढी जग्गा, गोर्खा बचत तथा ऋण सहकारी, गोर्खा सपिङ कम्प्लेक्स, गोर्खा स्मृति पार्कमा उनीहरूले गरेको लगानीलाई अहिलेको मुद्रामा रूपान्तरण गर्ने हो भने अर्बौं रुपैयाँ हुन्छ । उनले भने, ‘गोर्खाको लगानीलाई सुरक्षित गरेर सञ्चालन गर्ने अर्को पुस्ता नहुँदा विस्तारै समस्या आउन थालेको छ ।’ धरान छाडेर बेलायत जाने पूर्व गोर्खाका सन्ततीसमेत बेलायततिरै आकर्षित भएपछि उनीहरूले बनाएको घरमात्र धरानमा रहेका छन् ।

कतिपय त घरसमेत बिक्री गरेर बेलायत पलायन भएका छन् भने कतिपयले आफन्तहरूलाई घरको हेरचाह गर्ने जिम्मा दिएका छन् । बेलायत सरकारले सन् २००४ देखि पूर्व गोर्खा र उनीहरूका सन्तानलाई आवासीय अधिकार दिएपछि धरानका हरेक गतिविधिमा उनीहरूको उपस्थितिमा कमी देखिएको छ । पूर्वका लिम्बू र राई समुदायका युवाहरूलाई बेलायती सेनामा भर्ती गर्न वि.सं. २०१६ सालमा ब्रिटिस घोपा क्याम्प स्थापना भएपछि त्यसबेला भर्ती भएका युवाहरू डेढ दशकपछि अर्थात् ३० को दशकमा फर्केर आएका लाहुरेहरूले धरानलाई आफ्नो अवकास जीवनको उत्तराद्र्धको समय बिताउने आवासीय थलोको रूपमा छनौट गरेका थिए ।

यलम्बर सामुदायिक वन र गोर्खा स्मृति पार्कका परिकल्पनाकार ७४ वर्षीय पूर्व गोर्खा रमेश राईले भने, ‘मेरा अधिकांश समकालीन साथीहरू यतिबेला बेलायतमा छन् । मेरा छोरा पनि बेलायती लाहुरे नै भएकाले उतै छन् । यहाँ बूढाबूढी मात्र छौं । जवानी छँदा बेलायतको सेवा गरियो । बुढेसकालमा स्वदेशको सेवा गरेर बस्ने भनेर नगएको हो ।’

बेलायतले गोर्खाहरूलाई आवासीय अधिकार दिएपछि उनीहरूको रोजाइ अब बेलायत नै हुन थालेकाले त्यसको असर भने धरानमा परेको महेन्द्र बहुमुखी क्याम्पसका सह–प्राध्यापक डा. राजेन्द्र शर्माले बताए । उनले भने, ‘धरानलाई आधुनिक धरान बनाउन ब्रिटिस गोर्खाहरूको महŒवपूर्ण योगदान छ । उनीहरूले नै यो धरानलाई पूर्वकै सुन्दर शहरको रूपमा सजाए । पर्यटकीय बनाए । पोखरालाई पनि सुन्दर बनाए । अब स्थानीय सरकारले लाहुरेहरूले कायम गरेको धरानको सुन्दरतालाई निरन्तरता दिन जरुरी छ ।’ रेमिट्यान्समा विद्यावारिधि गरेका डा. शर्माका अनुसार बेलायतको ‘स्ट्याण्डर’ मा पूर्व गोर्खाका सन्तानले पनि शिक्षा, स्वास्थ्य, रोजगारीको सुविधा पाउने भएकाले उनीहरू त्यतातिर आकर्षिक हुनु स्वभाविक भएको तर त्यसको नकारात्मक असर यता परेको छ ।

उनले पूर्वी पहाडमा रहेको थातथलोसँग धरानलाई पूर्व गोर्खाहरूले गाँसेर आवासीय शहरको रूपमा स्थापित गरेको तर पछिल्लो समयमा धरान र पोखरा पूर्व गोर्खा लाहुरेविहीन हुन थालेको बताए । उनले भने, ‘लाहुरेहरूले दिएको योगदान र उनीहरूले बनाएर छाडेको सुन्दरतालाई सम्झेर अबका पुस्ता र समुदायले सिक्नु पर्छ । तब मात्र धरानको सुन्दरताले निरन्तरता पाउन सक्छ ।’ उनले पहाड र मधेसको सङ्गमस्थलमा रहेको धरानलाई गुलजार बनाउन र व्यापारिक केन्द्र बनाउन पूर्व गोर्खाहरूले ठूलो योगदान दिएको पनि बताए ।

धरानका फराकिला कालोपत्रे सडक, स्कुल, पार्कजस्ता पूर्वाधार विकास निर्माणमा लाहुरेहरूले करोडौं खर्च गरे । जनसहभागितामूलक कार्यक्रममा उनीहरूले खुलेर आर्थिक सहयोग गरे । उनीहरूकै पहलमा धरानमा ड्रेन र फुटपाथसहितको दुई सय किलोमिटरभन्दा लामो कालोपत्रे सडक बनाए । धरानका ७, ८, १०, ११, १३, १४, १५, १६, १८, १९ वडासमिति कार्यालय भवन, भूकम्प स्मारक, धरान घण्टाघर, विद्यालय, प्रहरी चौकी निर्माण गरे । उनीहरूले आर्थिक सहयोग मात्र दिएका छैनन्, सडक बनाउँदा घर अगाडिको महँगो जग्गा पनि दिए ।

५० को दशकदेखि पूर्व गोर्खाहरूकै कारण धरानको सामाजिक र आर्थिक गतिविधि चलायमान भएको हो । अरू समुदायको तुलनामा आयस्रोत बढी भएकाले उनीहरूलाई नै लक्षित गरेर धरानमा दर्जनौं व्यवसायिक पसल, सुन–चाँदीका गहना पसल, डिपार्टमेण्टल स्टोर, घर निर्माणका सामग्री बेच्ने हार्डवेयर पसल, तयारी पोसाकका बिक्री केन्द्र, होटल रेष्टुराँ, निजी बैङ्क, प्लस टु स्कुल, नर्सिङ होम, फेसनेवल बुटिक, बोर्डिङ स्कुल, ब्युटीपार्लर, जग्गा–जमिनको कारोबारी गर्नेहरूको सङ्ख्या बढेका थिए । बेलायत र युरोप स्वच्छ, सुन्दर शहरको विकास देखेर, भोगेर आएका लाहुरेहरूले धरानलाई आधुनिक शहर बनाउनु पर्छ भनेर नै स्वतःस्फूर्तरूपमा जनसहभागितामा आधारित विकास निर्माणमा व्यापक योगदान दिएका थिए । तर अहिले अवस्था फेरिएको छ ।

सुनसरी उद्योग वाणिज्य सङ्घका पूर्व प्रथम उपाध्यक्ष रहिसकेका आर्थिक विश्लेषक कृष्ण अग्रवालले भने, ‘धरानको आर्थिक गतिविधिलाई चलायमान बनाउनमा पूर्व गोर्खाहरूको महŒवपूर्ण योगदान छ । अर्थशास्त्रको सिद्धान्तअनुसार जति बढी आम्दानी हुन्छ, त्यति नै बढी खर्च हुन्छ । पूर्व गोर्खाहरूको आम्दानी पनि अरूको भन्दा बढी नै र फिक्स पेन्सन भएकाले धरान गुलजार बनेको थियो । लाहुरे नै भएका उनीहरूपछिका दोस्रो र तेस्रो पुस्ता पनि बेलायत पलायन भएपछि धरानको व्यापार–व्यवसायमा व्यापक असर परेको छ । यद्यपि पछिल्लो समयमा विकल्पमा व्यापारको ट्रेण्डमा केही परिवर्तन आएकाले केही राहत भएको छ ।’

धरानमा करिब ७ हजारको सङ्ख्यामा पूर्व ब्रिटिस गोर्खाहरूको बसोबास रहे पनि हाल करिब १२ सय जति मात्र रहेको अनुमान गरिएको छ । सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष गिरिधारी सापकोटाले पूर्व गोर्खाहरू बेलायत पलायन भएपछि धरानको आर्थिक गतिविधि कम्तीमा ४० प्रतिशत रोकिएको बताए । उनले भने, ‘धरानको व्यापार –व्यवसाय फस्टाउनुमा उनीहरूको प्रमुख योगदान थियो तर बेलायत पलायनले यहाँ सञ्चालित उद्योगधन्दा र अर्थतन्त्रमा प्रत्यक्ष असर भोग्नु परेको छ ।’ बेलायत पलायन हुन थालेपछि धरानमा घर निर्माण र जग्गा–जमिन बिक्री वितरणमा पनि कमी आएको छ । धरानबाट पलायन भएका गोर्खा र उनीहरूका सन्तती बेलायत नै बस्न थालेपछि उनीहरूले कमाएर पठाउने रेमिट्यान्ससमेत उतै रहँदा मुलुकको अर्थतन्त्रमा पनि धेरथोर असर परेको अर्थविद्हरूले बताउँदै आएका छन् ।