यासोक/ पाँचथर कुम्मायक–२ माङ्जाबुङका देविलाल बस्नेत यतिबेला विदेशबाट फर्किएर गाउँमै तरकारी खेतीमा मग्न बनेका छन् ।

८ वर्ष विदेश बसेर फर्किएका उनी अहिले गाउँलाई नै विदेश बनाउने अभियानमा कस्सिएका छन् । विदेश बस्दाको सुखदुःखको अनुभूतिलाई समेटेर नेपालमै पौरखी पाखुरा बजारिरहेका हुन् । विदेशमा पाएका हण्डर ठक्करलाई भुल्दै यतिबेला गाउँमै मेहनतमा खर्चिरहेका छन् । पैसा जोहो गर्ने सोचमा उनी साउदी, कतार र मलेसियासम्म पुगे । तर, सोचेजस्तो नभएपछि ५ वर्षअघि विदेशबाट फर्किए । विदेशमा ५ महिनासम्म तरकारी खेतीमा काम गरेको छोटो अनुभवलाई यहाँ भरपूर प्रयोग गरिरहेका छन् ।

तरकारी खेतीका लागि उब्जाउ जमिन भए पनि सिंचाइको अभाव थियो । तर, अहिले भने त्यो समस्यालाई उनले बुद्धि लगाएर हल गरेका छन् । वर्षात्को पानी सङ्कलन गरेर उनले दुईवटा पोखरी निर्माण गरे । त्यही पोखरीको पानीले हिउँदको समयमा तरकारी खेती गर्ने गरेका छन् । बैङ्क र साहुबाट ऋण काढेर ५ लाख रुपैयाँको लगानीमा तरकारी खेती शुरु गरे । शुरुमा केही समस्या देखिए पनि अहिले भने समस्या छैन । नयाँ प्रविधि र प्राविधिको सल्लाह अनुसार उनले खेती शुरु गरे ।

उराठ लाग्दो बारीमा क्रमशः हरियाली छाउँदै गयो । उनको वडाको चौथी बजार र यासोक र फिदिम बजारमा तरकारी बेच्न देवीलाल पुग्न थाले । यता श्रीमती सनमायाले तरकारी बालीको काम सम्हाल्ने भएपछि देवीलाललाई सहज भएको छ । आफू बजार हेर्ने अनि श्रीमतीले घरको खेती हेर्दा सहज भएको उनले सुनाए । बजारमा अग्र्यानिक तरकारीको माग राम्रो भएकाले आम्दानी राम्रो भएको बताए । खेती गरेको केही वर्ष यता मासिक ३५ देखि ४० हजार आम्दानी हुने गरेको उनले सुनाए ।

घरको आगनमै लगानी गरी वर्षातको पानी सङ्कलन गर्ने प्लाष्टिक पोखरी र ट्याङ्की निर्माण गरेका छन् । वर्षातको समयमा परेको पानी घरको छानामा डुँडको प्रयोग गरी पोखरीमा जम्मा गरी सिँचाइ गर्दै आएका छन् । पोखरीमा जम्मा गरेको पानी र पशुचौपायाको मलमुत्रलाई तरकारी बालीमा प्रयोग गर्दै आएका छन् । किटनाशक औषधि भन्दा घरेलु औषधि र मल राम्रो भएको उनको अनुभव छ ।

त्यही अनुभवलाई उनले प्रयोग गरी कागती सुन्तलाको बिरुवा पनि हुर्काउँदै आएको उनी बताउँछन् खानेपानीको अभावमा पनि ६ रोपनी क्षेत्रफलमा आधुनिक तरकारी खेती गर्दै आएका बस्नेती मेहेनती कृषक मध्येका एक हुन । दैनिक १० देखि १२ घण्टासम्म तरकारी बालीमा व्यस्त हुने उनलाई परिवारका सदस्यले पनि साथ दिएका छन् । विदेशमा १२ देखि १८ घण्टा काम गरेको स्मरण गर्दै उनले त्यही मेहेनतलाई स्वदेशमै प्रयोग गरेर वार्षिक लाखौं रुपैयाँ आम्दानी गर्दै आएका छन् ।

देशमा रोजगारी छैन भन्दै युवा शक्ति वैदेशिक रोजगारीमा जान्छन् । तर, मेहेनत गर्ने हो भन्ने स्वादेशमै विदेशमा कमाउने भन्दा राम्रो आम्दानी गर्न सकिन्छ हर्षित हुँदै बस्नेले सुनाए । ‘सबैले विदेश विदेश भन्थे, राम्रो हुन्छ भन्ने लागेर म पनि गएँ । त्यो मरुभूमिमा पाएको दुःख सम्झिँदा भाग्यले स्वदेश फर्किएँ जस्तो लाग्छ । मरुभूमिको ठाउँ हरियाली बनाउने परिश्रमलाई गाउँघरकै मलिलो खेतबारीमा लगाउने हो भने सुन फल्छ भन्थे हो रहेछ । तरकारी बाली देखाउँदै उनले भने । खानेपानीको समस्या हुँदा समेत वैकल्पिक पानीको व्यवस्थापन गरी मुला, रायो, कोपी आलु, बन्दा र प्याज खेती गर्दै आएका छन् ।

बारीमा थरी थरीका तरकारी बाली किन्न गाउँबाट पनि मानिसहरू आउने गरेका छन् । गाउँमा बिहे कार्जे हुँदा मानिसहरू सागसब्जी किन्न बस्नेतको बारीमा पुग्ने गरेका छन् । बारीमा उत्पादन गरेको तरकारी बाली गाउँपालिकाको केन्द्र यासोक बजार र सदरमुकामसम्म लाने गरेका छन् । बस्नेतको तरकारी बालीलाई अवलोकन गर्न गाउँपालिका र वडाबाट पनि कर्मचारी र जनप्रतिनिधि पुग्ने गरेका छन् । तर, राज्यबाट पाउने सेवा सुविधा नपाएको प्रति उनले गुनासो गरे । मेहेनत गरेको भन्दै सबैले प्रशंसा गरेका छन् तर स्थानीय सरकारले सहयोग गर्छु भन्ने आश्वासन दिएको छ । अब भने केही आश पलाएको छ, उनले भने ।