अहिले जापानी स्वयंसेवक महिलाहरूले काठमाडौंको सडकमा ट्राफिक नियम सिकाइ रहेका छन् । के बुद्धको देशमा हामी बुद्धू भएर नै हो यस्ता सामान्य कुरामा पनि विदेशीकै भरपर्नुपर्ने ? सबैले भन्छन् ‘ट्राफिक नियम मान’ ट्राफिक नियम कस्तो हुन्छ ? सबैले जानेको भए पो † ट्राफिक नियम मान्ने । अधिकांश मानिसलाई ज्ञानै छैन । के हो ट्राफिक नियम भनेर मात्रै यो ज्यानमारा समस्या समाधान हुनेवाला छैन । सर्वप्रथम, ट्राफिक नियम के हो, जान्नुपर्छ अनि त्यसलाई मान्नु पर्छ । यसलाई जान्नका निम्ति विज्ञान विषय पढेजस्तै धेरै दिमाग खर्चिनु पनि पर्दैन । ‘ट्राफिक नियम’ भनेको गाडी चलाउँदा सडकमा पैदल यात्रा गर्दा लागु हुने सडकको नियम हो । ठूलाबडाले जान्ने र सानाले नजान्ने कुरा पनि होइन यो ।

उच्च शैक्षिक योग्यता पनि चाहिँदैन । प्राविधिक र अनुशासनको विषय हो यो । जसले गम्भीरतापूर्वक यी कुरालाई ध्यान दिएर सिकेका छन् उनीहरूले जान्ने हो । उच्च तहकालाई यस्ता कुरामा ज्ञान नहुन पनि सक्छ र उच्च तहमा पुग्न, यस्ता सामान्य कुरा जान्नुपर्ने बाध्यता पनि हुँदैन । अतः सबैले यस्ता समस्याको जड जान्दैनन् र समाधानपनि निस्किदैन । जसले तालिम लिएर ज्ञान प्राप्त गरेका छन्, उनीहरूसँग परामर्श लिनुपदर्छ । साना साना नियमहरू छन्, जुन चालकले जान्नैपर्ने र मान्नैपर्ने हुन्छ । त्यसैलाई नमान्दा सडकमा उच्च जोखिम भएर सडक दुर्घटनामा सयांै मानिसहरू मरिरहेका छन् । हाम्रो देशमा चालकहरूले ट्राफिक नियमलाई ध्यान दिँदैनन् । त्यसैले उनीहरू आफ्नो कमजोरीलाई ढाक्न हर्न बजाएर बलमिचाइँ गर्छन् । हर्न गलत हतियार बनेको छ यहाँ । नियम जान्यो र मान्यो भने हर्न बजाउन पर्दैन । ‘हर्नलाई हतियार बनाएर हाक्नु गलत हो’ भन्ने पनि उनीहरूलाई लाग्दैन । त्यसैले जापानबाट बुद्धको देशमा बुद्धुहरूलाई सिकाउन आएको हुनुपर्छ ।

न त लाईसेन्स अनुमति पत्रको परीक्षा लिनेले नै सडकमा टेस्ट लिन्छ । लाइसेन्स परीक्षकलाई नै ट्राफिक नियमको ज्ञान हँुदैनकी के हो ? होइन भने, यस्ता जोखिमपूर्ण चालक किन नेपालमा मात्र उत्पादन हुन्छन् ? गाडी चलाउन जान्यो भने पास भइहालिन्छ । सडक अनुशासनलाई ध्यान दिइँदैन । यसरी पास भएकाहरू सडकको नियम जान्दैनन् । त्यसकारण, नियम नजान्नु र नमान्नुमा चालकहरू मात्रै दोषी होइनन् । धेरै वर्णन गर्नुपर्दैन, सडकमा एकक्षण उभिएर हेर्नुहोस् त्यो भद्रगोल स्पष्ट देख्नुहुनेछ । ट्राफिक नियम नजानेपछि, चालकहरु कानै फुट्ने गरी हर्न बजाएर जबरजस्ती हाँक्छन् सवारी । सडकमा आतङ्क मचाउँछन्, दुर्घटना हुन्छन् । अकालैमा मान्छे मर्छन् ।

कस्तो डर लाग्दो र लाज मर्दाे अवस्था † सडक छेउका बस्तीमा हर्नको प्रदूषणले सुत्न पनि पाइँदैन । वृद्ध, बिरामी र बालकको स्वास्थ्य हर्नको जोखिममा छ । बुद्धुहरूले त्यो बुझ्दैनन् । अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सबै गाडी र हवाइजहाज बनिन्छन् र त्यसलाई चलाउने तरिका पनि एउटै हुन्छ । तर, यहाँ जसरी मनपर्छ त्यसरी चलाइन्छ । मृत्यु मात्रै होइन, हजारौंका सङ्ख्यमा अङ्गभङ्ग भएर अपाङ्ग हुन्छन् । बिडम्बना, बुद्धको देशमा अनुशासनहिनता छ । मापसे, तीव ्रगति र लापरबाही छ । सडक निर्माणका इन्जिनिएरपनि यसमा दोषी छन् यसमा । सडक मापदण्ड सिकेनन् कि के हो उनीहरूले ? अब ट्राफिक नियम शृङ्खलाबद्ध रूपमा साना टुक्रा टुक्रा भागमा पत्रिकामा प्रकाशित हुनेछ । यसलाई धैर्यपूर्वक मनन गरेर ग्रहण गरी दुर्घटना नगराई र ज्यान जोगाई देशलाई राहत दिन सबैलाई विनम्र अनुरोध गरिन्छ । सवारी चलाउँदा पहिले धेरै कुरालाई यहाँ तीन भागमा प्रस्तुत गरिएको छ ।

भाग एक :
सवारीसाधन चलाउन तयारी गर्दा के गर्ने ?
१.अतिरिक्त चक्का र ज्याक (Spare tyre and jack) गाडीलाई एक चक्कर लगाएर हेर्ने, सबै चक्का ठिक अवस्थामा छ र गाडी मुनि कुनै बालकहरू तथा पशु खेलेर बसेका, सुतेका छैनन् भनी निश्चित गर्ने ।
२.गाडीको आवश्यक कागजात चेक गर्ने ।
३.हेडलाइट, साइडलाइट र ब्रेकलाइट चेक गर्ने ।
४.इन्धन, लुब्रिकेट र पानी चेक गर्ने ।
५.चालक सिटमा बसेर सिट मिलाउने । सबै ऐना (Rear view mirror) मिलाउने । सेफ्टी सिट बेल्ट लगाउने ।
६. इन्जिन स्टार्ट गर्ने । अगाडी बढ्नु भन्दा पहिला, पछाडिको गतिविधि ऐनामा चेक गरेर दाहिनेतिर बत्तीको सङ्केत (Indicator) बाल्ने । एक पटक फेरि दोहोराएर ऐनामा (Mirror) चेक गर्ने। अगाडि बढ्नु भन्दा पहिला एकपटक फर्केर आफ्नो कुम माथिबाट पछाडि हेर्ने अनि नियम पालना गर्दै सामान्य गतिमा गन्तव्यतिर लाग्ने ।

भाग दुई :
१. आफूलाई अस्वस्थ लागे वा मापसे गरेको भए सावारी चलाउनु हुँदैन । चलाएर यात्रा गरिरहेको समयमा थकित लागे बिसाएर मात्रै चलाउनु पर्दछ । लामो दूरीको यात्रामा चलाउँदा २ जना चालक अनिवार्य चाहिन्छन् ।
२. गाडी चलाएर यात्रा गर्दा, सडकमा हुनसक्ने जोखिमबाट कसरी सुरक्षित हुने भनी सतर्क भइरहने साथै पछाडिको ट्राफिक गतिविधि पनि क्षण क्षणमा ऐनामा चेक गरिरहने र सतर्क भएर चलाउनु पर्दछ ।
३. आफूभन्दा पछाडिको गाडीले ओभरटेक गर्ने मनसाय देखायो भने र ओभरटेक गर्न उसलाई सुरक्षित छ भने गति घटाएर आफ्नो गाडीलाई सडकको बायाँतर्फ सेपेर उसले ओभरटेक गरी अगाडि जान सहज बनाइ दिने ।
४.सडकमा देखाइएका ट्राफिक चिन्हहरू जुन साइनबोर्डमा देखाइएका हुन्छन्, तिनलाई पालना गर्दै चलाउने ।
५.जति पनि रातो त्रिकोण भित्र देखाएका चिन्हहरू छन्, ‘अगाडि जाँदा भेटिनेछ’ (warning ahead) भन्ने चेतावनीका सङ्केत हुन् ।
६. जति पनि रातो गोलो आकारभित्र देखाएका चिन्हहरू छन्, सबै निषेधित (prohibited) सङ्केतहरु हुन् ।
७. जति पनि निलोमा देखाइएका सङ्केतहरू छन्, ती दिशा निर्देशन हुन् (Directional instructions)
८.ट्राफिक लाइटमा, रातो बत्ती देखाए रोक्नु पदर्छ, पहेंलो देखाए तयारीहुनु पर्दछ र हरियो देखाए जान सकिनेछ भन्ने सङ्केत हुन् भनेर बुझ्न रपालन गर्न जरुरी हुन्छ । सङ्केतमा अन्योल लागे, यो फोनमा सोध्नुभयो भने सहयोग मिल्नेछ, ९८५११०६७९४।

भाग तीन :
१.सडकको बीच सतहमा लेन छुटाउन लगाइएको छोटो छोटो टुक्राका रेखा (broken white line) सामान्य चिन्हहरू हुन्।
२.सडकको बीच सतहमा लेन छुटाउन लगाइएको रेखा टुक्रिएको छैनभने र निरन्तरता (unbroken solid white line) भए ओभरटेक गर्न जोखिम हुनेछ भन्ने सङ्केत हो ।
३. सडकको बीच सतहमा लेन छुटाउन लगाइएको सेतो रेखा निरन्तर र दोहोरो (double solid white lines) भए ओभरटेक गर्न निषेधित गरिएको सङ्केत हो ।
४.सडकको सतहमा पहेलो रेखा कोरिएको छ भने, त्यसले जोखिमको चेतावनी (Hazard warning) सङ्केत गरेको बुझ्नुपर्छ ।