भोजपुर जिल्लाको याकु, याम्पाङ, प्याउली, चरम्वी, जरायोटार, चम्पेलगायतका ६ वटा गाविसहरू मिलेर बनेको अरुण गाँउपालिका भोजपुरको पूर्वी भेगमा रहेको गाउँपालिका हो । यो गाँउपालिकासँग पौवादुम्मा गाँउपालिका, षडानन्द नगरपालिका र भोजपुर नगरपालिका जोडिएका छन् । सङ्खुवासभा र धनकुटा जिल्लासँग अरुण नदीसँग जोडिएको छ । शिवरात्री गुफा, पातले गुफा, सिद्धपोखरी र पेन्सन गढी यहाँका मुख्य पर्यटकीय क्षेत्रहरू पर्दछन् । प्राकृतिक हिसाबले अत्यन्तै सुन्दर यो गाँउपालिका पर्यटन बिकासको राम्रो सम्भावना बोकेको पालिका हो । अलैंची र रुद्राक्ष यहाँको मुख्य नगदे बाली हुन् भने धान, मकै, कोदोलगायत यहाँ उल्पादित हुने अन्नहरू हन् । यसै विषयमा अरुण गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर कार्कीसँग ब्लाष्टकर्मी विवेक मिश्रले गरेको कुराकानीः

अरुण गाउँपालिकाका मुख्य समस्याहरू के कस्ता रहेका छन् ?
धेरै समस्याहरू मध्ये खानेपानीको मुहान सुक्दै जानु यहाँको मुख्य समस्या रहेको छ । यसलाई व्यवस्थित गर्ने क्रममा विकल्पहरु खोज्दै छौँ जस्तै डिप बोरीङका कुराहरू आएका छन्, लिफ्टिङ सिस्टमका कुराहरू आएका छन् र त्यहीँ भएका पानीका मुहानहरूलाई पनि अझ थप संरक्षण गर्ने कुराहरू आएका छन् । हामीले गतसाल ५ नम्बर वडा याकुमा डिप बोरीङ गरिसकेका छौँ । त्यहाँ ५० एमएमको पाइपमा दैनिक औसत ८ घण्टाको हिसाबले पानी आइरहेको छ । बसाइँसराइका कारणले जङ्गल बढ्दो क्रममा छ वन्यजन्तु त्यसमा पनि विशेष गरेर बाँदरबाट आतङ्कित हुनुपर्ने अवस्था छ ।

बसाइँसराइको कुरा गर्नुभयो । यो अवस्था त पहाडी जिल्लाहरू भएका अन्य क्षेत्रमा पनि छन्, यहाँको अवस्था चाहिँ कस्तो छ ?
बसाइँ सरेर जानेको क्रम घटेको छैन बढ्दै छ । विकासका पूर्वाधार गाँउगाँउमा पर्याप्त पुग्ने क्रम रहँदा रहँदै पनि वन्यजन्तुको आतङ्कका कारणले र शहर केन्द्रित बसाइँसराइको बढ्दो मोहको कारणले गर्दा पनि सरेर जानेको सङ्ख्या बढ्दो रूपमा छ ।

स्थानीय तहले २१ वटा कानून बनाउने अधिकार रहेको छ, अरुण गाउँपालिकामा हालसम्म कतिवटा कानून बनाउनुभयो ?
हामीले खासै धेरै कानून बनाएका छैनौँ । विशेष गरी शिक्षा र स्वास्थ्यमा केही कानून बनाएका छौँ । हामीले अहिले कानून नै बनएर कडाइ गर्ने भन्दा पनि सम्झाउँदै बुझाउँदै हालसम्म अघि बढ्दै छौँ । आवश्यकता अनुसार अरू थप कानून विस्तारै बनाउँछौँ ।

अपाङ्गता भएका व्यक्तिहरूलाई सरकारले ४ प्रकारका कार्ड प्रत्यायोजन गरेको छ, कानून नबनाई त्यसको व्यवस्थापन कसरी गरिराख्नु भएको छ ?
राज्यले अपाङ्गता भएका व्यक्तिलाई रातो, हरियो, निलो र पहेँलो गरि चार प्रकारका कार्डमा छुट्याएको छ । हामीले राज्यको नीतिअनुसारको पहिलो र दोस्रो कार्डलाई हाम्रो स्थानीय तहमा पनि लागु गरेका छौँ किनभने यी दुई प्रकारका अपाङ्गलाई अनिवार्य डाक्टरको आवश्यकता पर्दछ । बाँकी दुई रङका अपाङ्गता कार्ड भएका मानिसलाई समाजमा कमजोर महसुस गर्नु नपरोस् भनेर मासिक पाँच सय रुपैयाँ गाँउपालिकाको तर्फबाट दिने व्यवस्था गरेका छौँ ।

पर्यटन वर्ष २०२० कसरी मनाउने क्रममा हुनुहुन्छ ?
प्राकृतिक हिसाबले अत्यन्तै सुन्दर यो गाँउपालिका पर्यटनका हिसाबले राम्रो सम्भावना बोकेको पालिका हो । शिवरात्री गुफा, पातले गुफा, शिद्धपोखरी, पेन्सन गढी यहाँको मुख्य पर्यटकीय क्षेत्रहरू हुन् । यहाँका सम्भावित पर्यटकीय क्षेत्रमा पुर्वाधार विकासमा हामी जुटेका छौँ । पर्यटन वर्षलाई लक्षित गरेर हाम्रा केही कार्यक्रमहरू पनि छन् ।

अरुण गाउँपालिकाको आन्तरिक आयको अवस्था कस्तो छ ?
राज्यले ल्याएको नीतिलाई पछ्याउँदै, हामीले दुईवटा सोच विकसित गरेका छौ“ । ती हुन् राज्यले पनि हार्नुहुँदैन र जनतालाई पनि ठुलो बोझ पार्नुहँुदैन । कर लिनुपर्छ किनभने कर नतिरी देश निर्माण सम्भव हुँदैन । त्यसैले हामीले अन्य गाँउपालिकाको भन्दा केही कम कर सङ्कलन गर्दै आएका छौँ । हाम्रो गाँउपालिकामा वार्षिक औसत ३०/४० लाख मात्र कर वापतको रकम सङ्कलन हुन्छ ।