२० लाख पर्यटक ल्याउने लक्ष्य सहित नेपाल सरकारले घोषणा गरेको ‘नेपाल भ्रमण वर्ष २०२०’ को दोस्रो महिना लागेको छ । भ्रमण वर्षलाइ सफल पार्न स्थानीय सरकार, प्रदेश सरकारदेखि सङ्घीय सरकारले आआफ्नो तरिकाले कार्यक्रमहरू ल्याइरहेका छन् । भ्रमण वर्षको मूल उद्देश्य विदेशी अर्थात् पासपोर्टधारी पर्यटकहरु ल्याउने हो । विदेशी पर्यटक ल्याउने मामिलामा धरानमा पनि पासपोर्टधारी पर्यटक ल्याउने सामूहिक चासो छ । प्रदेश १ को ‘पोखरा’ अर्थात् पर्यटनको ‘इपिसेन्टर’ मानिने धरानमा यस्तो चासो हुन स्वाभाविककै छ ।

नेपालको पर्यटन ब्रान्ड नेचर, कल्चर र एडभेन्चर हुन । यी तीनै कुरामा प्रदेश १ को लिडर शहर हुँदाहुँदै पनि धरानले पासपोर्टधारी पर्यटकको उत्साहप्रद आगमनको अनुभव गर्न पाएको छैन । विभिन्न अध्ययन, अनुसन्धान, कुटनीतिक नियोगका कार्यक्रम विशेषदेखि विभिन्न आइएनजिओ र मिसिनरी क्षेत्रमा सहभागी बाहेक पासपोर्टधारी पर्यटक धरानमा कमै मात्रै आउँछन् । यद्यपि धरानमा पासपोर्टधारी पर्यटकहरूको आकर्षण बढाउन सकिने क्षेत्रहरू भने धेरै छन् ।

धरानको भौगोलिक सुन्दरता, सांस्कृतिक विविधता, धार्मिक ऐतिहासिकता, साहसिक पर्यटकीय क्रियाकलापको प्रचुरता जस्ता सबल पक्षलाई विश्वको पर्यटन ट्रेन्डमैत्री प्याकेज ल्याएमा धरानले धेरै पाशपोर्टधारी पर्यटकहरुलाइ तान्न सक्छ । विश्वका चलेका विभिन्न पर्यटन ट्रेन्डका यी ६ क्षेत्रमा धरानले नेतृत्व गरेर पासपोर्टधारी पर्यटकहरूलाई आकर्षण सक्छ । पर्यटन वर्षमै सम्भव नभए पनि सरकारले अबको दशक पर्यटन दशक घोषणा गरेको छ । उक्त अवधिभरमा भने धरानले यी ६ ब्रान्ड बनाउन सकेमा पासपोर्टधारी पर्यटकको खडेरी अन्त्य हुनेछ ।

१. कार्बन नेगेटिभ र वातावरणमैत्री शहर
भुटान सन् २०२० को विश्वको उत्कृष्ट गन्तव्यमा परेको छ । लोन्ली प्लानेटदेखि रगगाइड जस्ता विश्वका लोकप्रिय पर्यटन प्रकाशनहरूले सन् २०२० मा घुम्न जानैपर्ने गन्तव्यमा भुटान एक नम्बरमा राखेका छन् । विश्वका उत्कृष्ट २० गन्तव्यमा नेपाल नअटाएको लिस्टमा भुटान एक नम्बरमा छ । भुटानको ७१ प्रतिसत भूभागमा जङ्गल भएको र भुटानको संविधानमै ६० प्रतिसत जङ्गल क्षेत्र हुने प्रावधान भएको भन्दै भुटानलाई वातावरणमैत्री पर्यटनको लिडर मान्न थालिएको छ । एउटा पनि विश्व सम्पदा नभएको भुटानले आज कार्बन नेगेटिभ अर्थात् उत्सर्जन भन्दा धेरै कार्बन सोस्ने जङ्गल क्षेत्र भएको ब्रान्ड बेचेर पर्यटन प्रचार गर्दैछ । प्रचारले सकरात्मक मोड लिएर विश्व हेडलाइन बनेका छन् ।

धरानले पनि एक कार्बन नेगेटिब सहरको रूपमा प्राविधिक अध्ययत प्रतिवेदनबाट पुष्टि गरेर यो ब्रान्ड बनाउन सक्छ । धरानको क्षेत्रफल १०३.३८ वर्ग किलोमिटर छ । यो विशाल क्षेत्रफलमा फैलिएको धरानको अधिकांश क्षेत्र हरियालीले घेरेको छ । धरान नेपालको सबैभन्दा धेरै पानी पर्ने क्षेत्रमा दोस्रो भएको धरान उपमहानगरको वेवसाइटमा उल्लेख छ । पर्याप्त वन क्षेत्र र पानीको प्रचुरताले धरान वातावरणमैत्री सहर बनाउन धेरै सहज छ । भुटानको मोडेल अपनाएर धरानलाई कार्बन नेगेटिब सहरको रूपमा परिभाषित गर्न सकिन्छ ।

भुटान भन्दा एक कदम अगाडि बढेर धरानले सबै भित्री सडकहरूमा साइकल लेन बनाउने, स्थानीय सरकारका पदाधिकारी,जनप्रतिनिधिहरू तथा धरानका पर्यटकीय वाहन विद्युतीय चलाएर नयाँ नजिर बनाउन सक्छ । आज जलवायु परिवर्तनको मामिलामा संवेदनशील विश्व घुमन्तेहरूलाई धरानले कार्बन नेगेटिब सहरको ब्रान्ड तथा पर्यटकीय सफर विद्युतीय गाडीबाट मात्रै गराएर ध्यान आकर्षण गर्न सक्छ । सरकारले विद्युतीय गाडीमा दिने भारी कर छुटदेखि चार्जिङ सेन्टर बनाएर विद्युतीय सवारीलाई प्रोत्साहन गर्ने सङ्घीय सरकारको कार्यक्रमको फाइदा लिएर धरानले यसतर्फ नेतृत्व गर्न सक्छ । यसो भएमा वातावरणीय कामको मूल्याङ्कन गर्ने संस्थाहरूबाट पुरस्कृत हुनेदेखि वातावरणमा सचेत पर्यटकहरूले नेपाल आउँदा एक दिन धरान टेक्ने इच्छा राख्न सक्छन् ।

२. ह्विलचेयरमैत्री सहर
हामीलाई लाग्छ पर्यटकहरू शारीरिक रूपमा सबलहरू मात्रै हुन् । अझ भारी झोला बोक्ने ब्याकप्याकरहरू हुन् । यो सोचाइ गलत हो । विश्वमा ह्विलचेयरमा हिँड्नेहरूको जमात ठुलो छ । विश्व बैङ्कको एक अध्ययनले संसारमा १९ करोड मानिसहरूलाई विभिन्न अपाङ्गता भएको देखाउँछ । यो सङ्ख्याको ठुलो हिस्सा ह्विलचेयरमा हिँड्नेहरू पनि पर्छन् । नेपाल जस्तो विश्वकै प्राकृतिक रूपमा सुन्दर सहर कुनै पनि ह्विलचेयरमैत्री छैनन् । सात विश्व सम्पदा भएको काठमाण्डौ देखि काठमाण्डौ बाहिरका लुम्बिनी, पोखरा र चितवन पनि ह्विचेयरमैत्री छैनन् ।

धरानले नेपालको पहिलो ह्विलचेयरमैत्री सहर बन्ने नेतृत्व गर्न सक्छ । धरानलाई ह्विलचेयर मैत्री सहर बनाउन भएकै पूर्वाधारमा सामान्य मेहेनत गर्दा पुग्छ । उदाहरणका लागि धरानका सबै धार्मिक धरोहर, धरानका मुख्य घुम्नै पर्ने स्थलहरू पुग्ने सडकलाई ह्विलचेयर सहजै हिँड्न सक्ने बनाउन सकिन्छ । धरानको चिन्डे (वाबु) डाँडा वा छोटी मोरङ आदिबाट प्याराग्याइडिङ गर्न जान होस् वा धरानको शिरमा रहेका शिवजट्टा वा साँघुरीगढी सबै महŒवपूर्ण क्षेत्र पुग्न आवश्यक ह्विलचेयरमैत्री बाटो बनाउन सकिन्छ । कुनै सहयोगी लिएर ह्विचेयरमै धरानको पर्यटन क्षेत्र सफर गराउन सकिन्छ । धरानका मुख्य पर्यटन क्षेत्र, बजार तथा सार्वजनिक स्थलमा हुने होटल, सपिङ सेन्टरदेखि शौचालयलाई ह्विलचेयरमैत्री बनाउन सकिन्छ ।

भएकै पूर्वाधारलाई ह्विलचेयरमैत्री बनाउन स्थानीय सरकारले अनुदान वा प्रोत्साहन दिएर निजिक्षेत्रसँग सहकार्य गर्न सक्छ । यसो भएमा धरान नेपालकै पहिलो ह्विलचेयरमैत्री सहर हुनेछ । ह्विलचेयर चढ्ने भएकैले पैसा भएर पनि घुम्न नपाउनेहरूको आँखामा धरान पर्नेछ । ह्विलचेयरमा हिँड्नेहरूको विभिन्न रास्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता, महोत्सव, भेला तथा कार्यक्रमहरूको भेन्यु धरान हुन सक्छ ।

सार्वजनिक निजी साझेदारीमा धरानका गल्लीगल्ली कालेपत्रे गर्न सक्षम धरानले इच्छाशक्ति देखाएमा नेपालको पहिलो ह्विलचेयरमैत्री शहरको ब्रान्ड बनाउन सक्षम हुनेछ । एसियामा सिङ्गापुर, हङ्गकङ्ग, बेइजिङ, टोकियो आदि मात्रै ह्विलचेयरमैत्रि सहर मानिन्छन् । धरानले ह्विलचेयरमैत्री सहर बनाएमा यो लिस्टमा दक्षिण एसियाको बलियो ह्विलचेयर गन्तव्य शहरको रूपमा दरिन सक्छ । पूर्वाञ्चल ज्ञानचक्षु विद्यालय, पूर्वाञ्चल बहिरा विद्यालय आदि भएको धरानले अन्य फरक क्षमता भएकाहरूलाई आकर्षण गर्ने प्याकेज समेत बेचेर पासापोर्टधारी पर्यटक तान्न सक्छ ।

३. ‘एलजिबिटि आइक्यू’ मैत्री गन्तव्य
‘एलजिबिटिआइक्य’ू मैत्रि पर्यटन प्याकेज अहिलेको विश्व पर्यटनमा चलेको एक ट्रेन्ड हो । सन् २०१६ मा संयुक्त राष्ट्र सङ्घको पर्यटन सम्बन्धी आधिकारिक निकाय विश्व पर्यटन सङ्गठनले निकालेको प्रतिवेदन अनुसार विश्वका हरेक १०० पर्यटकमा ५ देखि १० जना यो समूहका हुन्छन् । सामान्य भाषामा तेस्रो लिङ्गीमैत्री पर्यटन भनेर यसलाई बुझ्न सकिन्छ । तेस्रो लिङ्गीहरूलाई हेर्ने धेरै देशको सामाजिक संरचनाको कारणले सकरात्मकता छैन । धरानले पर्यटनकर्मी, स्थानीयदेखी पर्यटनसँग सरोकार राख्नेलाई तेस्रो लिङ्गीमैत्री सहर बनाउन सक्छ ।

तेस्रो लिङ्गीले माग्ने बेग्लै सार्वजनिक शौचालयदेखि उनीहरूको आत्मसम्मानलाई इज्जत दिने पूर्वाधार, जनशक्ति, प्रचार तथा सामाजिक मनोविज्ञान निर्माण गरेर धरानले बेच्न सक्छ । प्रदेश १ का शहरहरूमा सबैभन्दा धेरै लिबरल मानिने धरानले यसको नेतृत्व लिन सक्छ । नोमाडिकबोइज डटकमको एक अध्ययन अनुसार नेपाल एसियाको उत्कृष्ट दश तेस्रो लिङ्गीमैत्री देशमा पर्छ । लोन्ली प्लानेट, हफिङ्टनपोस्टदेखि न्यूयोर्क टाइम्सका स्तम्भकारसमेत रहेका तेस्रो लिङ्गी स्टेफेन एरेसस्टिसको अध्ययनले लिस्ट बनेको हो । नेपालमा सन् २००७ मा समलिङ्गी बिहे वैधानिक भएको, तेस्रो लिङ्गीको नाममा पनि राज्यको नागरिकता लिन सक्ने जस्ता प्रावधानहरू भएको भन्दै स्टेफेनले नेपाल एशियाको उत्कृष्ट दश तेस्रो लिङ्गी गन्तव्यमा छनौट गरेको तर्क गरेका छन् । नेपालभित्रको सबैभन्दा धेरै तेस्रो लिङ्गीमैत्री शहरको परिचय बनाएर धरानले यो जमातलाई आकर्षण गर्न सक्छ । तेस्रो लिङ्गीका विभिन्न विश्वस्तरीय खेलकुद प्रतियोगिता, महोत्सव, फेसन आदि कार्यक्रमहरू ल्याएर उनीहरूको आगमनलाई निरन्तर बढाउन सकिन्छ ।

४. मौलिक कल्चर कम्प्लेक्स
धरानलाई आदिवासी जनजातिको शहरको रूपमा नेपालभरि चिनिन्छ । त्यही आदिवासी जनजातिका मौलिक सांस्कृतिक ब्रान्डहरूलाई धरानले बेच्न सक्छ । बेच्दा कङ्क्रिटका संरचना र रड तथा सिमेन्टले हैन सम्बन्धित जातिको रैथाने कला, श्रम, औजार र उपकरणहरू प्रयोग गरेर कल्चरल कम्प्लेक्स बनाउन सकिन्छ । उदाहरणको लागि धरान याक्थुङ (लिम्बु) हरूको घना बस्ती भएको सहर हो । याक्थुङहरूका मौलिक सांस्कृतिक विम्बहरूमा सिलामसाक्मा, मुन्धुम, च्याबु्रङ आदिलाई झल्काउने कलाकृतिले एक विशाल कम्प्लेक्स बनाउन सकिन्छ । जसमा सांस्कृतिक सङ्ग्रहालय, सम्बन्धित भाषाका किताबको पुस्तकालय, रैथाने सङ्गीत अध्ययन केन्द्र हुँदै म्युजियमसम्मका खुराकहरू राख्न सकिन्छ ।

याक्थुङहरूले परापूर्वक कालमा जसरी भौतिक संरचना बनाउँथे ठिक त्यसैगरी र त्यसका हरेक माटो र ढुङ्गा अनि भुइँ र भित्तामा मौलिक कला झल्कने आकृति कुँदेर यस्ता कम्प्लेक्स बनाउन सकिन्छ । नेपाल सरकारले रड, सिमेन्ट जस्ता इन्जिनियरिङ परिभाषामा अटाउने संरचनामा मात्रै लगानी गर्ने गरेको छ । त्यसको आश नगरि समुदायले स्तरीय डिपिआर बनाएर मौलिक तरिकाले, मौलिक कला, श्रम, औजार र उपकरण प्रयोग गरेर यस्ता कम्प्लेक्स बनाउन सक्छ । ताकि सम्बन्धित जातिको भाषा, धर्म, लिपि, संस्कार, संस्कृतिदेखि चालचलनको रिसर्च गर्नेहरू त्यहीँ आऊन् । याक्थुङहरूले मात्रै हैन किराँत राई, याक्खा आदि समुदायले पनि धरानमा यस्ता मौलिक सांस्कृतिक कम्प्लेक्सहरू बनाउन सक्छन् । कालान्तरमा मौलिक कला, श्रम, औजार र उपकरण प्रयोग गरी बनाइएका यस्ता संरचनाहरू विश्व सम्पदा सूचीमा पर्न सक्ने सम्भावना हुन्छ । आज लिच्छवि र मल्लकालीन सांस्कृतिक सम्पदामात्रै नेपालबाट विश्व सम्पदा सूचिमा छन् । उनीहरूको मौलिकता र कला पक्ष बलियो भएकाले उनीहरू विश्व सम्पदा सूचीमा परेका हुन् । धरानका आदिवासीले अहिलेबाटै मेहेनत गरेर आफ्ना मौलिक सांस्कृतिक धरोहर बनाएमा अबको शताब्दीमा धराने सम्पदाले विश्व सम्पदा सूचीमा गर्वसाथ दावा गर्न सक्छन् ।

५. सस्तो र उत्कृष्ट साहसिक पर्यटन प्याकेज
धरानको महŒवपूर्ण पर्यटकीय ब्रान्ड एडभेन्चर टुरिजम अर्थात् साहसिक पर्यटन हो । धरानमा प्यराग्याइडिङ, जङ्गल सफारी, ¥याफ्टिङ, माउन्टेन बाइकिङदेखि विभिन्न प्रकारका साहसिक पर्यटन प्याकेजहरू व्यावसायिक रूपमा सञ्चालन भएका छन् । तर, चल्नुपर्ने जति चलेका छैनन् । यसो हुनुमा दुई कारण छन् । एक, धरानको साहसिक पर्यटन न सबैभन्दा सस्तो भयो । दुई, न सबैभन्दा उत्कृष्ट भयो । उदाहरणका लागि पोखराको भन्दा भव्य सुन्दरता धरानको प्याराग्याइडिङमा हुन्थ्यो भने आगन्तुकहरू पोखरा होइन धरानमै उड्न चाहन्थे । अर्थात् पोखरामा ५ हजार सम्ममा हुने प्याराग्याइडिङ धरानमा ३ हजारमै भएको भए पनि सस्तो खोज्नेहरूको नजरमा धरान हुन्थ्यो ।

धरानमा यी दुवै हुन सकेनन् । अन्य प्याकेजमा पनि यही लागु हुन्छ । आज पोखरा र भोटेकोशी दुवै क्षेत्रमा बन्जी छन् । तर, बन्जीका मुख्य पारखी भोटेकोशी जान्छन् । कारण, पोखराको ७० मिटरको बन्जीभन्दा भोटेकोशीको १६० मिटरको बन्जी उत्कृष्ट गन्तव्य हो । अब भोटेकोशीलाई पछि पार्दै कुस्मामा २२४ मिटरको अर्को बन्जी बन्दैछ । त्यसले भोटेकोशीको भीड आफूतिर तान्छ । यसरी चल्छ पर्यटनको ट्रेन्ड । धरानले हाल सञ्चालनमा भएका साहसिक पर्यटन प्याकेज बाहेक अल्ट्रालाइट, जिप फ्लायर, हटएयर बेलुन, बन्जी जम्पदेखि रक क्लाइम्बिङ जस्ता नयाँ खुराकहरू बेच्न सक्छ । तर, यी परियोजनाहरू कि विश्वकै सबैभन्दा सस्तो हुनुप¥यो, कि विश्वको सबैभन्दा उत्कृष्ट हुनुप¥यो । औसत प्याकेजमा विदेशी तान्न सकिँदैन ।

६. विश्व स्तरीय तर सस्तो मेडिकल पर्यटन गन्तव्य
धरान राष्ट्रिय रूपमा अहिले नै मेडिकल गन्तव्य हो । प्रदेश १ र २ का धेरै बिरामीहरू धारनको बीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्न आउँछन् । पासपोर्टधारी विदेशीहरू भने अध्ययन र इन्टर्नशिपको लागि मात्रै फाटफुट मात्रामा आउँछन् । यो सङ्ख्या बढाउन धरानले नेपालको विश्व बजारमा चलेका दुई उपचारको सुविधा विस्तार गर्न सक्छ । नेपालको दन्त उपचार र आँखाको उपचार विदेशीहरू माझ अत्यन्तै लोकप्रिय छ । नेपालका म्यागासेसे पुरस्कार प्राप्त आँखा डाक्टर सन्दुक रुइतका अनुसार युरोप अमेरिकामा पाँच लाख बढी पर्ने आँखाको शल्यक्रिया नेपालमा करिब बीस हजारमै हुन्छ । अर्थात् विदेशमा उपचार गर्ने पैसाले त नेपालमा उपचार गरेर पूरा नेपाल घुमेर फर्किने पैसा पनि बच्छ । दाँतको उपचार पनि नेपालमा सस्तो र स्तरीय छ ।

यही ब्रान्डलाई धरानको बीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानले राम्रो प्याकेज ल्याएर मेडिकल पर्यटन बढाउन सकिन्छ । दाँत तथा आँखा जस्ता नेपालका ब्रान्डेड विषयको अध्ययन र उपचारमा धरान सबैभन्दा सस्तो र स्तरीय गन्तव्य बन्ने पूर्वाधार बनाउन सकिन्छ । आँखा र दाँत बाहेकका अन्य महŒवपुर्ण उपचार पद्धतिहरू भएमा तिनीहरूको पनि पूर्वाधार, जनशक्ति र प्रचारको लागि प्रतिष्ठानले स्थानीय र प्रदेश सरकार तथा सरोकारवालासँग मिलेर रोड म्याप ल्याउन सक्छ । सामाजिक सञ्जालको दुनियाँमा यो कुरा एक कान दुई कान मैदान हुँदै लक्षित वर्गमा पुगेर धरानको मेडिकल पर्यटनमा व्यापक विकास हुन सक्छ ।