(जाँते, मोरङ)/ मोरङको उत्तरी क्षेत्रको मिक्लाजुङ गाउँपालिका–५ खोलीटार केराखेतीका लागि परिचित भएको ठाउँ हो । यहाँ सिङ्गो गाउँका कृषक केराखेतीमा आबद्ध छन् । करिब पाँच सय घरपरिवार व्यावसायिक रूपमा लोकल केराखेती गर्दै आएका छन् । अहिले यहाँ पसाएको केराको बोटमा ‘गभारो’ रोगले बोट सुक्न थालेपछि कृषक चिन्तित भएका हुन् ।

पसाएका केराका अधिकांश बोटमा रोग देखिएको छ । पसाएका केरा सुक्ने र बोट नै ढल्ने गरेको कृषकहरू बताउँछन् । यहाँका कृषकले केराको बोटमा लागेको रोगलाई स्थानीय भाषामा ‘गभारो’ भन्ने गरेका छन् । साढे २ बिघा क्षेत्रफलमा लगाएको केराको बोटमा किरा लागेपछि बोट सुक्न थालेको मिक्लाजुङ–५ खोलीटारकी मेनुका श्रेष्ठले बताइन् ।

पाँच बिघा जमिनमध्ये उनले साढे दुई बिघामा केरा खेती गर्दै आएकी छिन् । ‘पसाउन लागेको केरामा अहिले रोग देखा परेको छ,’ कृषक श्रेष्ठले भनिन्, ‘प्रत्येक केराको झ्याङमा रोग लागेको छ । गभारो रोगले अहिले बोट सुक्न थालेको छ ।’ केराको बोटमा गोडमेल गरेपछि बोट सुक्न थालेको कृषकहरू बताउँछन् । ‘उत्पादन हुने बेलामा रोग लाग्न शुरू भयो,’ उनले भनिन्, ‘लगानी पनि उठ्न गाह्रो हुने देखियो । पसाउन शुरू गरेको केराको पत्ता सुक्न थालेको छ । शुरुमा पत्ता सुक्छ । त्यसपछि बोट मर्न थाल्छ ।’

गत वर्षको सिजनमा राम्रो उत्पादन भएपछि यस पटक रोगले गर्दा उत्पादनमा गिरावट आउने चिन्ताले सताएका मिक्लाजुङ–५ का कृषक हरिप्रसाद दाहालले बताए । उनले ३ कठा क्षेत्रफलमा केराखेती गर्दै आएका छन् । उनको पनि समस्या मेनुकाको जस्तै हो । ‘हरेक केराको भ्mयाङमा रोग लागेर बोट सुक्न थालेको छ,’ उनले भने, ‘बाहिर हेर्दा राम्रो बोट देखिन्छ । भित्र भित्रै कुहिने गर्दा पसाएको एउटा केराको बोट पनि राम्रो छैन ।’

यो समस्याले किसान मारमा परेको व्यावसायिक केरा खेती गर्दै आएका अर्का किसान टङ्कप्रसाद श्रेष्ठले बताए । केरामा लागेको रोगका कारण सखाप हुन लागेको उनले बताए । रोगका कारण केराका बोट नष्ट भएको उनले बताए । ‘७ देखि १० वटा भ्mयाङ भएको केरामा ३ देखि ५ वटासम्म किरा लाग्ने गरेको छ,’ उनले भने, ‘शुरूमा पात सुक्दै जान्छ । त्यसपछि गुबो र विस्तारै बोट मर्ने गरेको छ ।’

व्यावसायिक केरा खेती गरेका यहाँका किसानले राज्यले क्षतिपूर्तिको व्यवस्थान गर्नुपर्ने बताए । केरामा उत्पादन लिने बेलामा देखिएको रोगको जिम्मा सरकारले लिनुपर्ने उनीहरूको भनाइ छ । गाउँमा भएको व्यावसायिक केरा खेतीमा समस्या देखिएपछि स्थानीय सरकारले पनि कुनै पहल कदमी नगरेको उनीहरूको गुनासो छ ।

कृषक हरिप्रसाद दाहालले केरामा लागेको रोग तत्काल निवावरण नभए अझै फलिदै जाने र कृषकले लगाएको खेती सखाप हुने खतरा बढेको उनले बताए । कृषि प्राविधिक ल्याएर तत्काल केरामा लाग्ने रोगको पहिचान गरी समस्याको समाधन गर्न राज्यले गरिदिनुपर्ने यहाँका कृषकहरूको माग छ ।