बिर्तामोड / घटना १ : माघ ३ गते बिर्तामोडको एक विद्यालय नजिकैबाट प्रहरीले सोही नगरपालिका–२ का विकास उप्रेती र सुवास तामाङलाई पक्राउ ग¥यो । उनीहरूको साथबाट २७ वटा पोकामा राखिएको अवस्थामा ३ ग्राम ५ मिलिग्राम ब्राउनसुगर बरामद भयो ।

घटना २ : लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय बिर्तामोडको प्रहरी टोलीले माघ ७ गते बिर्तामोडको एक होटलमा बसिरहेको अवस्थामा मेचीनगर–१३ का रोशनी तामाङ, सोही ठाउँका विवेक ताम्लिङ सुब्बा र सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका बस्ने राजेन्द्र शिवाकोटीलाई पक्राउ ग¥यो । उनीहरूको साथबाट १६ ग्राम ब्राउन सुगर प्रहरीले बरामद ग¥यो ।

घटना ३ : अर्जुनधारा नगरपालिका–११ बुट्टाबारीका आशिष बस्नेतको साथबाट माघ ८ गते प्रहरीले ४९ ग्राम लागूऔषध ब्राउनसुगर बरामद ग¥यो । प्रहरीसँगको बयानमा बस्नेतले सो लागूऔषध विद्यार्थीलाई बिक्री गर्ने बताए । उनलाई इलाका प्रहरी कार्यालयको हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ । झापा प्रहरीले सञ्चारकर्मीलाई इमेलमार्फत् पठाएका घटना विवरणका केही उदाहरण हुन् यी ।

पछिल्ला केही दिनमा दैनिकजसो लागूऔषधसहित मानिस पक्राउ पर्ने गरेका छन् । लागूऔषधमा पनि ब्राउन सुगर सबैभन्दा धेरै पक्राउ पर्न थालेको झापाका एसपी कृष्णप्रसाद कोइराला बताउँछन् । पछिल्लो समयमा चिकित्सकको सिफारिसमा मात्र प्रयोग गर्न पाइने कतिपय औषधिको लागूऔषधका रूपमा प्रयोग गर्ने क्रम भने घटेको तथ्याङ्कमा उल्लेख छ । यद्यपि कडाखालको लागूऔषध प्रयोगकर्ता बढेका कारण ब्राउन सुगरको माग उच्च भएको हुनसक्ने कोइरालाले बताए ।

बिर्तामोड नगरपालिका क्षेत्रमा लागूऔषधका घटना धेरै हुन थालेको झापा प्रहरीको तथ्याङ्कमा उल्लेख छ । पछिल्लो समयमा ब्राउन सुगर प्रयोगकर्ताको सङ्ख्या अचाक्ली बढेको झापा प्रहरीको तथ्याङ्कले देखाएको छ । झापा जिल्लाभर बरामद भएका लागूऔषधको आधा हिस्सा बिर्तामोडले ओगटेको पाइएको छ । आर्थिक वर्ष २०७३÷०७४ मा झापा प्रहरीले २०३ दशमलव ६१६ मिलिग्राम ब्राउनसुगर बरामद गरेको थियो । सो समयमा चरेस, अफिम, गाँजा, फेनारगन, लुपिजेसिक, कोरेक्सलगायतका लागूऔषध प्रयोगकर्ता पनि ठूलो सङ्ख्यामा रहेका थिए । प्रहरीले २५ महिलासहित १ सय ७३ जनालाई पक्राउ गरेर मुद्दा चलाएको उपलब्ध तथ्याङ्कमा उल्लेख छ ।

आर्थिक वर्ष २०७४/०७५ मा महिला ८ सहित १ सय ८० जनालाई प्रहरीले लागूऔषध ओसार–पसार तथा बिक्री गरेको अभियोगमा पक्राउ गरेर मुद्दा चलायो । १ सय २० दशमलव ९ सय ९३ मिलिग्राम ब्राउन सुगर सो अवधिमा फेला परेको प्रहरीले जनाएको छ । डाइजेपाम, लुपिजेसिक, फेनारगनलगायतका १३ प्रकारका लागूऔषध प्रहरीले बरामद गरेको तथ्याङ्कमा उल्लेख छ । २०७५/०७६ मा ब्राउन सुगरको कारोबार र प्रयोगकर्ताको सङ्ख्या ह्वात्तै बढेको पाइएको छ ।

सो अवधिमा ७ सय ६७ दशमलव ९ सय ९७ मिलिग्राम ब्राउन सुगर बरामद भएको तथ्याङ्कमा उल्लेख छ । प्रहरीले यो अवधिमा डाइजेल्याव, पियोमिन, कृपिजेसिकलगायत २३ प्रकारका लागूऔषध बरामद गरेको जनायो । १५ महिलासहित २ सय १ जनालाई सो आर्थिक वर्षको विभिन्न मितिमा पक्राउ गरेर मुद्दा चलाएको प्रहरीको भनाइ छ ।

चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा ९ सय ८६ ग्राम २ सय ८६ मिलिग्राम (झण्डै १ किलो) ब्राउन सुगर बरामद गरेको प्रहरीको भनाइ छ । यस अवधिमा १ किलो ५ सय ग्राम अफिम बरामद भएको झापाका प्रहरी प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिए । चालू अािर्थक वर्षको ६ महिनामा झापा प्रहरीले ७ महिलासहित ९५ जनालाई पक्राउ गरेर मुद्दा चलाएको जनाएको छ । यस अवधिमा इलाका प्रहरी कार्यालयमध्ये सबैभन्दा धेरै ब्राउन सुगर बिर्तामोड प्रहरीले बरामद गरेको तथ्याङ्कमा उल्लेख छ । बिर्तामोड प्रहरीले यस अवधिमा ४ सय ५९ दशमलब ३ सय ५ मिलिग्राम (झण्डै आधा किलो) ब्राउन सुगर बरामद गरेको छ ।

४ महिलासहित ४० जनालाई यस अवधिमा पक्राउ गरेको बिर्तामोडका डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए । अहिले पनि बिर्तामोड प्रहरीको हिरासतमा १८ जना लागूऔषधसहित पक्राउ परेका अभियुक्त रहेको उनले बताए । उनीहरूमाथि म्याद थप गरेर अनुसन्धान भइरहेको उनले बताए । लागूऔषध ब्राउन सुगर बरामद गरेपछि काठमाडौंमा रहेको ल्यावमा परीक्षण गरेर मुद्दा चलाउनुपर्ने भएका कारण लामो समय हिरासतमा राख्न मिल्ने उनले बताए ।

लागूऔषध नियन्त्रण ब्यूरोका अनुसार सन् २०१७ देखि लगातार लागूऔषध प्रयोगकर्ता पक्राउ पर्ने घटनामा वृद्धि भएको छ । ब्यूरोका प्रवक्ता तथा एसपी वीरेन्द्रकुमार बस्यालका अनुसार २०१७ मा १ सय ४३ महिलासहित ३ हजार ७ सय ८२ जना नेपाली, ७ महिलासहित १ सय ४४ भारतीय र ३ महिलासहित १५ जना तेस्रो मुलुकका लागूऔषध ओसार–पसार तथा प्रयोगकर्ता पक्राउ परेका थिए । त्यो वर्ष ३ हजार ९ सय ४१ जनालाई प्रहरीले पक्राउ गरेको थियो । ब्यूरोका अनुसार २०१८ मा त्यो सङ्ख्या ४ हजार ८ सय ९८ पुग्यो । ४ हजार ७ सय ३१ नेपाली, १ सय ५६ भारतीय र ११ जना तेस्रो मुलुकका पक्राउ परेको तथ्याङ्क ब्यूरोसँग छ ।

यसैगरी २०१९ को डिसेम्बर अन्तसम्ममा यो सङ्ख्या झन् बढेको पाइएको छ । यस अवधिमा ५ हजार ४ सय १ नेपाली, १ सय ८५ भारतीय र २१ जना विदेशी पक्राउ परेको ब्यूरोले जनाएको छ । २०१९ मा २ सय ५४ जना महिला पक्राउ परेबाट लागूऔषध तस्करीमा महिलाको प्रयोग ह्वात्तै बढेको देखिएको छ । एसपी बस्यालले लागूऔषध नियन्त्रणको लागि नेपाल प्रहरीसँग दक्ष जनशक्ति नभएको बताए । उनले लागूऔषध जाँच गर्ने उपकरण नाकामा राखेर तालिमप्राप्त जनशक्ति खटाउनु पर्ने धारणा उनको छ । नेपाल प्रहरीसँग भएको क्षमताको उच्च प्रयोग गरेर अहिलेको सफलता हात परेको समेत बस्यालले बताए ।

लागूऔषधको क्षेत्रमा क्रियाशील गैरसरकारी संस्था नार्काेनन नेपालका अध्यक्ष वसन्तराज कुँवरले लागूऔषध नियन्त्रणका लागि सरकारसँग कुनै योजना नरहेको आरोप लगाए । ‘लागूऔषध नियन्त्रणका लागि प्रहरीले गर्ने कारबाही भनेको अन्तिम विकल्प हो’ पूर्व प्रहरी अधिकारीसमेत रहेका कुँवरले भने, ‘लागूऔषध प्रयोग नगर्नेलाई गर्न नदिनु र प्रयोग गर्ने मान्छेको पहिचान गरेर उपचार र पुनस्र्थापनामा लाग्नु नै नियन्त्रणको उत्तम विकल्प हुन्छ ।’

खुला सिमानाका कारण यतिधेरै लागूऔषध नेपालमा भित्रिएको प्रहरीको भनाइ छ । मुख्य नाकाबाट कडाइ गर्दा पनि यसलाई नियन्त्रण गर्नुको साटो झन् बढिरहेको छ । नेपाल र भारतको नीति निर्माता तहमा लागूऔषध नियन्त्रणको पहल हुनु जरुरी देखिएको सरोकारवालाले बताएका छन् । भारतको सुरक्षा संयन्त्रले कडाइ नगरेसम्म नेपालमा लागूऔषध नियन्त्रण कठिन रहेको उनीहरूको धारणा छ ।