धरान/ धरान १४को बुढासुब्बा मन्दिर नजिकै ‘तेह्रथुम श्रेष्ठ खाजा घर’ सञ्चालन गर्दै आएका ५२ वर्षीय भीमबहादुर श्रेष्ठले गत वैशाखदेखि व्यावसायिक रूपमा टर्की र कडकनाथ (कालो मासु हुने कुखुरा) पालन शुरु गरे ।

चितवनबाट ८० वटा टर्की र ३० वटा कडकनाथका चल्ला ल्याएर व्यवसाय थालेका भीमबहादुर अहिले टर्की र कडकनाथको मासु, चल्ला र अन्डा समेत बिक्री गर्छन् । टर्कीका चल्ला ४ सय ५० रुपैयाँ गोटा र कडकनाथका चल्ला २ सय २५ रुपैयाँ गोटा किनेर ल्याएपछि सामान्य खोर बनाएर उनले पाल्न थाले । ६ महिनामै टर्कीको तौल ६ देखि ७ केजी पुग्यो । कडकनाथ पनि खान योग्य भए । तिनले अण्डापनि पार्न थाले ।

उनले जिउँदो टर्की प्रतिकिलो ७ सयदेखि ७५०सम्म र काटेर प्रतिकिलो ९ सयले बिक्री गर्छन् । टर्कीको अन्डा प्रतिगोटा १ सय ५०ले बेच्छन् । कडकनाथको भाले १७ देखि १८ सयसम्म र पोथी १ हजारदेखि १२ सम्म र अन्डा प्रतिगोटा ४० रुपैयाँले बिक्री गरिरहेको उनी बताउँछन् । उनी भन्छन्, ‘सानो लगानीमा राम्रो आम्दानी गर्न सकिने व्यवसाय रहेछ तर बजारमा अहिलेसम्म माग कम छ । स्वादिलो मासु र स्वास्थ्यका लागि पनि राम्रो भएपछि धेरैले यसबारे थाहा पाएका छैनन् ।’

भीमबहादुर अहिले टर्की र कडकनाथको बजार खोजीमा छन् । उनले विभिन्न होटलहरूमा गएर कुरा गरे तर धेरैलाई जानकारी नभएको उनी बताउँछन् । अहिले देशैभर टर्की जस्ता सानो लगानीमा राम्रो आम्दानी गर्न सकिने व्यवसाय गर्नेहरूको सङ्ख्या बढ्दो छ । भीमबहादुरले पनि देशका विभिन्न ठाउँमा भइरहेका कृषि र पशुपालनबारे युट्युब र विभिन्न समाचारबाट थाहा पाए ।

उनलाई बोइलर कुखुरा पाल्नु भन्दा टर्की र कडकनाथ पाल्नु ठिक लाग्यो । उनी चितवनमै पुगेर विभिन्न फर्महरूको अवलोकन पनि गरे । त्यसपछि पाल्ने आँट गरेका उनी अहिले अरु तीनवटा खोर बनाउने तयारीमा छन् । उनले पालेका मध्ये आधा जसो बिक्री गरिसके । ६ महिनामै लगानी उठाइसकेका उनी उत्साहित छन् । भन्छन्, ‘यसको स्वाद पाउनेहरू खोजी खोजी आउँछन्, त्यसैले विस्तारै बजार राम्रो हुन्छ भन्ने आशा छ ।’

भीमबहादुरका अनुसार टर्कीको मासु प्रेसर, सुगर, कोलेस्ट्रोल हुनेले समेत खान मिल्छ । कडकनाथको मासु त क्यान्सर प्रतिरोधात्मक समेत हुने उनी बताउँछन् । उनले उत्पादन गरेका टर्की र कडकनाथ शुरुमा घरमै खानेहरूले किने । अहिले केही होटलहरूले लान थालेको उनी बताउँछन् । भन्छन्, ‘होटल, रेष्टुरेन्टले टर्कीबाट राम्रो फाइदा लिन सक्छन् ।’

अहिले भीमबहादुरको फर्मबाट चल्ला र अन्डा लगेर पाल्नेहरू पनि बढेका छन् । उनी सानो लगानीमा राम्रो आम्दानी गर्न सकिने भन्दै टर्की पालन गर्न आग्रह गर्छन् । भन्छन्, ‘सानो लगानीबाट घरमै पनि पाल्न सकिन्छ । शुरुमा थोरै पालेर हेर्दा अनुभव हुन्छ । यो निक्कै फाइदाजनक लाग्यो ।’

turki turki1