विराटनगर । खेतमा लगाएको तरकारी बालि छरपष्ट छ । पाक्न लागेको आलु र मुलाको बोट कलिलैमा बाँदरले उत्खनन् गरेर बोटहरू मारिदिएको छ । मकै र मुला बाँदरले उधिनेर खतैभरी सेताम्मे छ । ३ देखि ५ सयको जुथामा आएको बाँदरले मोरङको बुढीगंगा गाउँपालिको ६ नम्बर वडाका सिंगो गाउँका कृषकले लगाएको बालीमा मच्याएको उपद्रो हो ।

यही वडा भित्रको गाउँमा प्रतिनिधि सभाका सदस्य अमनलाल मोदीको घर पर्दछ । मोदीको गाउँमा बाँदरको उपद्रोले अहिले कृषक हैरानी भएका छन् । ‘बाँदरको उपद्रोले बालि जोगाउन सकिएन,’ बुढीगंगा गपा ६ टिकलीगाछीका ढालुराम माझीले खेतमा आएको बाँदर खेदाउँदै भने, ‘अहिले भर्खर १५/२० वटा समूहमा आएको बाँदरलाई खेदाएर आएँ । अहिले लखेटो । साझ परेपछि फेरी आइहाल्छ ।’ बाँदरले गाउँमा लगाएको तरकारी खेती सखाप पारिसकेको उनले बताए ।

पाँच कठा क्षेत्रफलमा माझीले तरकारी बालि लगाएका छन् । करिब २ कठामा मुला र तीन कठामा आलु ढालुरामले लगाएका छन् । ‘पाक्न लागेको बालि बाँदरको उपद्रोले सबै नष्ट बनाइसक्यो,’ उनले दुःखेसो पोख्दै ब्लाष्टसँग भने, ‘आधा जति मुला खान्छ । उधिनेर त्यही छोडेर हिडने गरेको छ । मेहनत र लगानी पनि उठन सकेन । यो साल लगाएको बाली बाँदरले सखाप पा¥यो ।’ उनको जम्मा आठ विघा जमिन छ । ५ विघामा व्यवसायीक रुपमा कागती र २ विघामा विभिन्न जातका बोट विरुवा लगाएका छन् । जस मध्ये २ कठामा तरकारी लगाएका छन् ।

वर्षौदेखि ग्रामीण क्षेत्रका यहाँका स्थानीयले बाँदरबाट सास्ती खेप्नु परेको छ । बुढीगंगा गपा ५ र ६ वडाको बस्तीमा ‘बाँदर आतंक’ नै हुने गरेको स्थानीय बताउँछन् । बाँदरको सास्ती अन्त्य गर्न गाउँपालिकालाई जानकारी गराउँदा पनि अहिलेसम्म कुनै सुनवाइ नभएको ढालुरामले बताए । यस्तै बुढीगंगा ६ का पानालाल माझिले पनि १० कठठामा तरकारी खेती लगाएका छन् । उनको पनि खेती ढालुरामको जस्तै बनाइदिएको छ, बाँदरले ।

‘बारीमा लगाएको फलफूलदेखि अन्न, तरकारी बालि नष्ट गरिदिइसक्यो,’ उनले भने, ‘दिउँसो र साझ परेपछि खेतीबारमाी बाँदर आएर बालि नष्ट पारिदिन्छ ।’ बाँदर पछिल्लो समय घरघर पसेर आतंक मच्चाउन थालेको यहाँका स्थानिय बताउँछन् । ‘बाँदर आतंकबाटै हरानै भएपछि यहाँबाट बसाइँ हिडनुजस्तो बनाइसक्यौं,’ उनले भने, ‘गाउँघरमा सडक, खानेपानीको मात्र चिन्ता छैन, सबैभन्दा ठूलो चिन्ता अहिले बाँदरले दिएको सास्तीबाट कसरी उन्मुक्ति पाउँने भन्ने रहेको छ ।’ यहाँका स्थानियले बाँदर नियन्त्रण गरिदिन आफ्ना जनप्रतिनिधि र गाउँपालिकामा जानकारी गराउँदा पनि नियन्त्रणमा कुनै पहल नभएको गुनासो गरेका छन् । यहाँ बाँदरबाट सयौं घरपरिवार पीडित छन् ।

‘बिहान उठेदेखि बेलुकीसम्म अरू काम छोडेर बाँदर लखेट्न बारीमा टिन ठटाएर बस्नुपरेको छ’, उनले भने ‘बालीनाली पनि रहँदैन, हातमुख जोड्ने बाटो नै बाँदरले खोसिदेला भन्ने पिरलोमा छौं ।’ अधिकांस गाऊँमा बाँदरबाट सर्वसाधारण आक्रान्त बनेको स्थानिय कालुराम माझीले बताए । उनले करिब १ विघामा तरकारी खेती लगाएका छन् । स्थानीयले बाँदर लखेट्न नै घरमा जनशक्ति तयारी अवस्थामा राख्दै आएको उनको भनाइ छ । बाँदरको उदण्ड मच्चाएपछि बालीनाली जोगाउन सास्ती खेप्नु परेको उनी बताउँछन् । ‘एक पटक बालीबाट बाँदरलाई खेदायो,’ उनले भने, ‘केही समय पछि आइहाल्छ । यहाँका स्थानिय बाँदरको आतंकबाट हैरानी भइसक्यौं ।’