सिरहा / मधेस आन्दोलनको आइतवार १३ वर्ष पुरा भएको छ । आन्दोलनको बदलामा संघीयता कार्यान्वयनमा आए पनि सहिद परिवारको पीडा यथाबतै छ । देश संघीयतामा गयो, खुसी छु, राज्यको बेवास्तामा परेका सहिद परिवार सिरहा नवराजपुर गाँउपालिका ३ मझौराका शहिद रमेश महतोको आमा रानोदेबि महतोले भनिन–‘सहिद परिवारले पाउनु पर्ने राहत पनि नपाएर मधेश सरकारकै बेबास्तामा परेका छौं ।’ आन्दोलनको बेला आफ्नो छोराले शहादत दिँदा मधेशका आफुलाई ठुला बडा भन्ने नेताहरुले सिँढी लगाएर कुर्सीमा गएपनि हामीलाई बेबास्ता गरेको उनका भनाई छ । उनले अगाडी भनिन् “नेताहरुले हामीलाई केहि गरेन, गत वर्ष बलिदानी दिबसमा बोलाएर च्यादर ओढाउनु बाहेक केहि गरेका छैन, पहिला भन्दै थियो शहिद परिबारलाई रोजगारी दिन्छु, ५० लाख रुपैया दिन्छु, तर केहि दिएनन, शहिद परिबारका नाममा मेरो छोरालाई दिएको जागिर पनि खोसियो । पैसा पनि दिएन, मधेश आन्दोलनका नाममा शहिद रमेश महतोका दाई बालकृष्ण महतोले मेरो भाई रमेश महतो ट्रष्टको नाममा करोडौ रकम आएपनि नेताहरुले नै गोलमाल गरिरहेको आरोप लगाए । उनले भने “यस ट्रष्टमा करोडौ रकम आउँछ, तर नेताहरुले नै गोलमाल गरिरहेका छन, मलाई गाँउमै रहेको शहिद रमेश महतो माध्यमिक बिद्यालयमा लेखापालमा जागिर दिएको थियो, तर त्यहाँबाट पनि हटाई दियो । काम गरेको पैसा पनि दिएनन । हामीलाई कुनै नेताले बास्ता पनि गर्दैनन, दुखपीडाको पनि कुनै सुनुबाई गर्दैनन, बलिदानी दिबसमा नाम भजाउँनका लागि मात्र खोज्न आँउछ, के भनौ हामी अन्यायमा परेका छौ ।’ आँसु झार्दै रमेशका बुबा रवि महतोले भने “नेताको जरुरी लागेपछि मात्र हामीलाई खोज्न आउँछ, काम भएपछि केहि बास्ता गर्दैन, पहिला गाडी पठाउथ्यो लिन, अहिले लिन पनि आउँदैन, हामीलाई जो पिडा छ, त्यो कसैले बाड्न सक्दैन, मनमा पिडा छ, बर्षमा एक दिन नेताले मञ्चमा बोलाएर हामीलाई च्यादर ओढाउँदा पीडा कम हुने छैन् ।’
२०६३ साल माघ ५ गते सिरहा नवराजपुर गाँउपालिका ३ मझौराका कक्षा ९ मा अध्ययनरत १६ वर्षिय रमेश महतोले सहादत प्राप्त गरेपछि मधेस आन्दोलन उत्कर्षमा पुगेको थियो । पहिलो मधेस आन्दोलनका क्रममा सिरहाका रमेश महतो, प्रमोद सदाय, बेचन यादव, विजय कुमार सहनी, मोहम्मद अनिस लगायत देशभरका ५४ जनाले मधेस मुक्तिका लागि बलिदानी दिए । २०६३ माघबाट सुरु भएको पहिलो मधेस आन्दोलनले मुलुकलाई संघीयताको बाटोमा लगेको थियो । मधेसीको अधिकार, पहिचान र आत्मसम्मानसहित संघीयताका लागि भएको आन्दोलनमा ५४ जनाले ज्यान गुमाए । पहिलो मधेस आन्दोलनबाट उठान भएको मुद्दा प्राप्ति नभए पछि २०७२ मा भएको दोस्रो मधेस आन्दोलनमा ५६ जनाले ज्यान गुमाए । २०७३÷०७४ मा ७ जना सहित अहिलेसम्म १ सय १७ जनाले मधेसमा बलिदानी दिएका छन ।
रमेशको इन्जिनियर बन्ने सपना थियो
रमेशको दाजु बालकृष्ण सिंहले भाई रमेशलाई इन्जिनियर बनाउने सपना साँचेका थिए । १३ औँ रमेश महतो स्मृति दिवसलाई सम्झिदैँ उनी भावुक हुदैँ भने–‘हामी त खासै पढाई प्रति रुचि राख्न सकेनौं । तर पढ्नु पर्छ भनेर बुझ्न लागेका हामीले भाइलाई इन्जिनियर बनाउने सपना साँचेर अध्ययनका लागि लहान पठाएका थियौं । तर दैवको लिला उसलाई इन्जिनियर बनाउन पाइन । रमेशले सहादत प्राप्त गरेको क्षण उनका दाजु चाहिँ भारतको हरियाणामा काम गर्दै थिए । उक्त घटनापछि उनी गाउँमै छन् । उनी अहिले पनि निकै दुख प्रकट गर्दै भन्छन–‘नचाहिँदो आश्वासन दिएर पीडितलाई नै पिडा दिने तरिका चाहिँ नेतालाई थाहा रहेछ ।
सहिद महतोको दाजुले किन जागिर छोडे
तत्कालिन सद्भावना पार्टीबाट राजेन्द्र महतो आपूर्ति मन्त्री छँदा जागिरका लागि बालकृष्ण काठमाण्डौँमा नेता कहाँ धाईरहन्थे । त्यतिबेला मन्त्री राजेन्द्र महतोले उनलाई विराटनगरस्थित नेपाल आयल निगममा करारमा जागिर लगाई पनि दिए । तर करारको म्याद सकिए पछि उनी त्यहाँबाट निकालिए । पछि राजेन्द्र महतोले नै काठमाण्डौँ र इटहरीस्थित नेपाल बायोग्यास तथा उर्जा प्रवद्र्धन नामक संंस्थामा उनलाई जागिर लगाइदिए । तर सो जागिर पनि ३ महिनाको छोटो म्याद वाला थियो, फलतः त्यहाँबाट पनि उनी हटाइए । ०६५ सालतिर सिरहाको जगतपुरस्थित रहेको रमेश महतो स्मृति जनता माध्यमिक विद्यालय फुलबरीया नवराजपुरमा लेखा पदमा ५ हजार रुपैया तलब पाउने गरी मधेशवादी दलकै नेताले जागिर लगाइदिए । त्यहाँ ३ वर्षसम्म काम गर्दा उनले कहिल्यै समयमा तलब पाएनन् । जागिरको पनि ग्यारेण्टी नहुँदा उनी तलब नखाइकनै जागिरबाट मुक्त भए । अहिलेसम्म पनि उनले त्यहाँबाट तलब पाउनसकेका छैनन् ।
अहिले उनी बुवासंगै खेतीपातीमा काम गर्दै आइरहेका छन् । जागिरको लागि अहिले पनि भौतारिन्छन् । तर नेताको बोलीमा उनी अचेल विश्वास गर्न छाडिसकेका छन् ।
शहीद महतोको परिवारमा आर्थिक संकट
शहीद रमेश महतो घरमा सबभन्दा कान्छा छोरा थिए । उनीभन्दा जेठो बालकृष्ण सिंह र माहिलो रामशोभित महतो छन् । यी दुवै भाईको विवाह भइसकेको छ । उनको घरमा आमा रानोदेवी, बुवा रवि महतो र दुई भाईका श्रीमती र छोरा छोरी गरी जम्मा १० जनाको परिवार छ । जग्गाको नाममा करिब १५ कठ्ठा जग्गा छ । रमेशको बुवा र आमा र दाजु सिंह खेतीपातीमै व्यस्त रहन्छन् । माहिलो रामशोभित महतो भने पुनः अध्ययन गर्न थालेका छन् । घरमा रहेका बालबच्चा नजिकैकोे विद्यालयमा पढ्ने गरेका छन् । शहीद परिवारको नाममा त्यतिबेला विद्यालय र नेताले निःशुल्क रुपमा पढाइ दिने भने पनि अहिले आएर शहीद भएको प्रमाणपत्र माग्न थालेपछि समस्या भयो ।
उनी अचेल शहीदको प्रमाण पत्र कहाँ बन्छ भन्दै सबैसंग हारगुहार गर्न थालेका छन् । उनको घरमा एक भैसी र दुई वटा गोरु छन् । छोरा रमेशको यादले आमा रानोदेवी विक्षिप्त छिन । घरिघरि उनी छोराको शोकम ामुर्छित हुन्छिन् । हरेक वर्षको माघ ५ गतेको दिन उनलाई पीडा र कष्टको दिन बनेर आउँछ, छोराको तस्विरलाई नियाल्दै रोएर बिताउछिन् । छोरा अनाहकमा मारिन पुग्दा उनी पीडित बनेकी छिन् ।
शहीद रमेश महतोको नाममा के के बनेको छ
शहीद रमेशको नाममा अहिले गाउँमा नवराजपुर गाउँपालिकामा एउटा विद्यालय छ । उनको नाममा झुलुंगे पुल निर्माण गरिएको छ । शहीदको स्मृतिमा एक प्रतिष्ठान रहे पनि शहीद परिवार भने त्यसप्रति खुसी छैनन् । कारण कुनै एक नेताले नाम भजाएर खाने गरेको शहीद परिवारको आरोप छ । सिरहाको लहानमा रहेको शहीद रमेश महतोको पार्कमा नेताको आर्थिक सहयोग बिना नै शहीद परिवारजनले आफै पार्क बनाएका छन् । शहीद रमेश महतो प्रथम मधेश आन्दोलनको शहीद भए पनि उनका घरपरिवारजन भने राजनीतिकबाट निकै टाढा छन् । गाउँ घरमा हुने गरेको विकासको कामहरुले उनीहरुमा खासै खुसी जगाउन सकेको छैन ।
२०६३ सालमा सुरु भएको प्रथम मधेस आन्दोलनका क्रममा सिरहाका रमेश महतो, प्रमोद सदाय, बेचन यादव, विजयकुमार सहनी, मोहम्मद अनिसलगायत देशभरका ५४ जनाले मधेस मुक्तिका लागि भन्दै बलिदानी दिएका थिए । प्रथम मधेस आन्दोलनबाट उठान भएको मुद्दा नसकिदैं २०७२ मा भएको दोस्रो मधेस आन्दोलनमा ५६ जनाले ज्यान गुमाए भने तेस्रो २०७३/२०७४ मा ७ जना सहित अहिलेसम्म १ सय १७ जनाले मधेसमा बलिदानी दिइसकेका छन् ।