उदयपुर / बालबालिका तथा महिलाहरुमा जलवायु परिवर्तनको प्रत्यक्ष असर परेको एक तथ्याङ्कले देखाएको छ ।
त्रियुगा नगरपालिका–१ र २ को विभिन्न ठाउँमा महिला चेतना समूह उदयपुरले गरेको एक अध्ययनले जलवायु परिवर्तनको प्रत्यक्ष असर परेको देखाएको हो । जलवायु, न्याय, महिला सहभागितात्मक कार्यगत अनुसन्धान, कार्यक्रमअन्र्तगत ल एण्ड डेभलपमेन्ट एसिया प्यासिफीक फोरम अन ओमनको सहयोगमा चेतना महिला समूह उदयपुरले अध्ययन गरेको थियो । चुरे क्षेत्रको बढ्दो अतिक्रमण जिल्लाका लागि जलबायु परिवर्तनको मुख्य कारण भएको तथ्याङ्कले देखाएको छ ।

चुरे क्षेत्रको वन जङ्गल दिन दिनै मासिदै जानु, सामुदायिक वन क्षेत्रको अवधारणा विकास भए पनि त्यसको संरक्षण नभई वन जङ्गल मासिनाले विनाश निम्तिने तथ्याङ्कले देखाएको छ । अहिलेको बढ्दो वन विनाश नरोक्ने हो भने भविष्यमा ठूलो विपत आई पर्ने तथ्याङ्कले देखाएको छ । वन विनाश रोक्नको लागि सरोकारवालाहरूले विपद् पूर्वका योजना तर्जुमा गर्नुपर्ने देखाएको छ । जलवायु परिवर्तनकै कारण मौसममा परिवर्तन आउने गरेको, समय सिमा अघि नै यसका लक्षणहरू देखा पर्ने गरेको, उत्पादित कृषि वस्तुहरूमा रोग लाग्ने, समयमा नफल्ने, किरा लाग्ने, बोटबिरुवाहरू मर्ने जस्ता समस्या देखा परेको मुख्य अनुसन्धानकर्ता तारा खनालले बताइन् ।

पानी समयमा नपर्नु समय भन्दा अघि पछिसम्म बाढी आउनु, हावाहुरी चल्नु, खण्ड खण्ड भएर पानी पर्नु जस्ता समस्या देखा पर्ने गरेको खनालले बताइन् । जलवायु परिवर्तनकै कारण विपत्तिहरू देखा पर्ने गरेको र त्यसको असर बालबालिका तथा महिलामा पर्ने गरेको उनले बताइन् । विपत्तिकै कारण खेतीयोग्य जमिन वगरमा परिणत हुने र उब्जनी नहुने गरको छ । खेती योग्य जमिन बगर बनेपछि उत्पादनमा कमी हुँदा गर्भवती, सुत्केरी भएको बेला रासायनिक तथा बिषादी मिसिएको खानेकुरा खान बाध्य हुने गरेको र आकस्मिक उपचार गर्न नपाई अकालमै महिलाको ज्यान जाने गरेको तथ्याङ्कले देखाएको हो ।

झाडापखाला, हैजा, महामारी जस्ता समस्या प्राकृतिक विपत्तिबाट नै समस्या उब्जिएका उनको तर्क छ । अधिकांस पुरुषहरू कमाउनका लागि देश तथा विदेशमा जानुपर्ने र महिलाले घर सम्हालेर बस्नुपर्ने अवस्थामा खेतीयोग्य जमिन बगर हुनु, कृषि सामग्री उत्पादन गर्न लाग्दा किरा लाग्ने, डढ्ने, रोग तथा महामारी लाग्ने जस्ता समस्याहरू रहेको चेतना महिला समूहकी अध्यक्ष अरुणा चौधरीले बताइन् । बालबालिका तथा महिलाको शिक्षा र स्वास्थ्यमा यसले प्रत्यक्ष असर पु¥याएको उनले बताइन् ।

दुई वर्ष लगाएर गरिएको अध्ययनमा संस्थाले २१ वटा महिला समूह गठन गरी पूर्व अनुसन्धान र छलफल, सरोकारवालासँग समन्वय र बैठक, जलवायु परिवर्तन प्रतिको स्थानीयसँगको बुझाई, सोधपुछ, सचेतनामुलक कार्यक्रम सञ्चालन गरी तयार गरेको अनुसन्धानकर्ता खनालले बताइन् । अनुसन्धानको क्रममा जलवायु परिवर्तनका बारेमा थाहै छैन भन्नेको सङ्ख्या ५ प्रतिशत, भगवानको कारण विपत्ति आइलागेको भन्ने २६ र मानवीय गतिविधिलाई मुख्य कारक मान्नेको सङ्ख्या ६९ प्रतिशत रहेको जनाइएको छ । भौगोलिक अवस्था, समुचित बाँधको अभाव, खोलाकिनारा चरीचरण बन्द नहुनु, लामो समय खडेरी पर्नु बाढीको जोखिम बढ्नु जलवायु परिवर्तनको असर भएको र त्यसले सबैभन्दा बढी महिला र बालबालिकालाई प्रभावित बनाएको खनालले बताइन् ।