पूर्वराजा ज्ञानेन्द्रको चर्चा गर्नुभन्दा पहिला राजा त्रिभुवनको चर्चाबाट शुरु गर्दा राम्रो हुनेछ । भारतीय प्रधानमन्त्री नेहरुको समयमा सन् १९५० को नेपाल–भारत असमान सन्धि र त्यसपछि दिल्ली सम्झौता भए यता भारतले नेपालको सार्वभौम सत्तामा गिद्दे दृष्टि लगाउन थालेको हो । भारतले सहयोग गरे जस्तो गर्छ तर त्यो सहयोग ब्वाँसोले गाई–गोरु कनाए जस्तोमात्र हुन्छ । दिए जस्तो पनि गर्छ तर धेरै नेपालबाट लिएको छ । राजा त्रिभुवन २००७ सालमा दिल्ली पुगेपछि दिल्ली सम्झौता गराएर नेपाललाई आफ्नो प्रभावमा राख्ने उसको उद्देश्य थियो । दिल्ली सम्झौताका राष्ट्रघाती बुँदामध्ये राजाको सुरक्षाको लागि राजदरबार भित्र शाही सेनाको अतिरिक्त पञ्जाबी सेना र राजाको प्रमुख सचिवको ज्ञपमा गोविन्दनारायण सिंह, मन्त्री परिषद्को मुख्य सचिवमा भारतकै दुर्गेश्वर, नेपालको कानूनी सल्लाहकारमा भारतकै आयंगार, नेपालको आर्मि हेडक्वाटरमा भारतकै जर्नेल शारदानन्दन सिंह, राख्ने र उत्तरमा चेकपोष्टमा भारतीय सेना राख्ने व्यवस्था भयो । यसरी नेपालको सार्वभौम सत्तामा भारतले रजाइँ ग¥यो । त्यति बेलाको अवस्थामा ९०% भारतीय नोट चल्दथे । भारतीयहरूले नेपालको जमिन खरिद बिक्री गर्न पाउँथे ।

राजा त्रिभुवनको मृत्युपछि राजा महेन्द्र नेपालको राजगद्दीमा आसीन भए । राजा महेन्द्रबाट नै आमचुनावको घोषणा गरेर भएको आम चुनावमा नेपाली काङ्ग्रेस दुई तिहाई बहुमतले विजयी भयो । कम्युनिष्ट पार्टीले ४ सिट मात्र जित्यो । स्व.विश्वेश्वरप्रसाद कोइराला प्रधानमन्त्री भए । राजा र प्रधानमन्त्री दुवैको सम्बन्ध शुरुमा राम्रो थियो । दुवै जनासँगै हिंडेर दाङसम्म गए । दुवैले दाङको मञ्चमा भाषण पनि साथै गरे । पछि प्रधानमन्त्री दाङबाट राजधानी फर्किए । राजा नेपालगञ्ज तर्फ गए । त्यहाँ राजा महेन्द्रले विभिन्न भारतीय स्थानीय नेतासँग भेट पनि गरे । यहीँबाट राजा प्रधानमन्त्री बिपीको राम्रो सम्बन्धमा पुनः भारतीय राजनीति प¥यो । २०१७ साल पौष १ गते आयो । यसमा भित्री भूमिका सूर्यप्रसाद उपाध्यायले खेलेका थिए ।

२०२८ साल माघ २८ गते राजा महेन्द्रको देहावसान भयो । त्यसपछि राजा वीरेन्द्र राजगद्दीमा बसे । अब राजा वीरेन्द्रदेखि नै भारतले नेपालमा शाहवंशीय राजा हटाउन चक्रव्यूह रच्न थाल्यो । राजा वीरेन्द्रको शान्ति क्षेत्र प्रस्ताव, जनताको बीचमा लोकप्रियता, प्रजातन्त्रप्रेमी, देश विकास गर्न ५ विकास क्षेत्रको प्रस्ताव, अन्तर्राष्ट्रिय ख्याति त बढेको थियो नै, त्यसमध्ये प्रमुख नेपाली राष्ट्रियता बढेको थियो । २०३३ साल पौष महिनामा राष्ट्रिय मेल मिलापको नीति लिएर बीपी नेपाल आए । बीपी त्यसबेला ‘मेरो गर्धन राजाको गर्धनसँग जोडिएको छ’ भन्दै नेपाल आएका थिए ।

बीपीले यसो भन्नुमा दुई कारण छन् :
१) सिक्किम भारतमा विलीन हुनु ।

२) आसामको मुख्य मन्त्री वरोडाले बीपीलाई बनारसबाट बोलाएर इन्दिरा गान्धीसँग भेट गराउन दिल्ली लगे । इन्दिरा गान्धीले भेटको क्रममा निम्न दुईवटा कुरा बीपीसँग भनिन् ।

(१)‘तपाईं नेपाल जानुहोस् म धनजन सबै दिन्छु ।’

(२)‘नेपालबाट राजा हटाउनुपर्छ ।’
यी कुराले बीपीको दिमाग चक्करायो । त्यहाँ भनाभन पनि भयो । अब भारतमा वीपीलाई बस्ने स्थिति भएन । त्यसपछि मेलमिलापको नीति लिएर नेपाल आएका थिए । अन्त्यमा दरबार हत्याकाण्ड मच्चाएर ‘रअ’ले नेपालको राजपरिवारको अन्त्य ग¥यो भन्ने भनाइ पनि छ । देवयानीलाई कुन शक्तिले उकासो भन्ने कुरा अहिलेसम्म पत्ता लागेको छैन । २०५८।२।१९ गते शुक्रबार राति राजपरिवारको नरसंहार गरियो । दीपेन्द्रको मृत्यु भने २२ गतेमात्र घोषणा गरियो । २०५८।२।२३ गते ज्ञानेन्द्र नेपालको राजा भए । उनले महेन्द्रकै शासनको कल्पनाबाट देश सञ्चालन गर्ने सोच बनाएका थिए । तर, नदीमा पानी धेरै बगिसकेको थियो । त्यो कुरा ज्ञानेन्द्रलाई थाहा भएन । राजा ज्ञानेन्द्रले आफ्नो कार्यकालमा गरेका गल्तीहरू निम्न छन् ।

१) प्रधानमन्त्रीको लागि विज्ञापन गरिनु ।
२) राजनैतिक पार्टीहरू र पञ्चहरुलाई समेट्न नसक्नु ।
३) व्यापारिक सोचबाट देश चलाउनु ।
४) राजामा अहंपना बढी आउनु ।
५) राजा र प्रधानमन्त्री दुवै आफै हुनु ।
६) शरदचन्द्र शाहको मात्र कुरा सुन्नु ।
७) भारतलाई सन्तुलनमा राख्न नसक्नु ।
८) मिति गुज्रिएका व्यक्तिलाई राखेर देश चलाउन खोज्नु ।
९) प्रचण्डको भूलभुलैयामा राजा पर्नु । आदि

१) प्रधानमन्त्रीको लागि विज्ञापन गरेर शासन व्यवस्थाको धज्जी उडाउन जरुरी थिएन । राजाले सबैलाई पाच्य हुने काम गर्नुपर्छ । माधव नेपालले निवेदन दिएकै थिए । प्रधानमन्त्री दिएको भए उनले नै दलहरूलाई समेट्ने काम गर्ने थिए ।

२) २० औं शताब्दीमा आएर प्रजातन्त्र मास्न खोज्नु मुर्खतापूर्ण कुरा थियो । राजा ज्ञानेन्द्रबाट पार्टीका नेताहरू र पूर्व पञ्चहरू कोही पनि समेटिएनन् । कहिले काहीँ प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नै पनि राजासँग भेट पाउँदैनथिए अरे । पूर्व पञ्चहरू बीच कुनै विषयमा पनि एकमत थिएन । यी कुरालाई ख्याल राखेर राजाले काम गर्नुपर्दथ्यो ।

३) राजा ज्ञानेन्द्र नेपालका १० ठूला व्यापारीमध्ये एक हुन् । रूपजोति एक उद्योगपतिलाई ल्याएर अर्थमन्त्री बनाउनु भुल थियो ।

४) राजाले “म दाजु जस्तो टुलुटुलु हेरे बस्दिन” भनेर पत्रकार दुर्गानाथ शर्मासँगको अन्तर्वार्तामा भन्नु ठीक थिएन । त्यसबाट उनमा बढी अहमता भएको स्पष्ट देखियो ।

५) राजा र प्रधानमन्त्री दुवै आफै हुनु ठूलो भुल थियो । पूर्व प्रधानमन्त्री मरिचमान सिंहले दरबारको एउटा पार्टीमा राजालाई भनेका थिए–‘सरकार यो प्रधानमन्त्रीको पोष्ट बढी भयो । यो बिसाइ बक्सियोस् ।’ त्यसपछि दरबारका कुनै पनि पार्टीमा मरिचमान सिंह बोलाइएनन् र कहिल्यै भेट पनि पाएनन् । माओवादी आन्दोलनको बेलामा मरिचमान सिंहलाई पुटिनले रुस घुम्ने निम्तो दिए । मरिचमान सिंह रुस गए । पुटिनले सिंहसँगको भेटमा ‘म नेपालको राजालाई सहयोग गर्न तैयार छु । तपाईंले गएर भन्नुहोस्’ भन्दा नेपाल आएर राजासँग सिंहले भेट मागे तर राजाले मरिचमानसिंहलाई ६ महिनासम्म पनि भेट दिएनन् । यसरी राजा पूर्व इमानदार पञ्चहरूबाट टाडिए ।

६) राजाले एकमात्र शरदचन्द्र शाहको कुरा सुने । राजाले गठन गरेको मन्त्री परिषद्मा सबै शरदचन्द्र शाहका मानिस बढी राखिए जस्तै कमल थापा, टङ्क ढकाल आदि । तर ,पछि राजा र शरदचन्द्र शाह बीच पनि सम्बन्ध बिग्रियो । राजाबाट शरदचन्द्र शाहको फोन पनि रिसिभ भएन । त्यसैले शरदचन्द शाहले सिंगापुर हस्पिटलमा आफ्नो देह त्याग्नु भन्दा पहिला “मेरो लास नेपाल नलग्नु” भने तर परिवारले नेपालै ल्याए ।

७) राजा ज्ञानेन्द्रको समयमा भारतसँगको सम्बन्ध बिग्रिएको थियो । राजा फाल्ने कुरामा भारतले प्रचण्डलाई उक्साएको थियो । फेरि सार्क सम्मेलनमा चीन, अफगानिस्थान, अमेरिकालाई पर्यवेक्षकको रूपमा राख्न प्रस्ताव गर्दा, चीनको नाम सुन्ने बित्तिकै भारत तर्सियो । यसरी भारतसँगको सम्बन्ध झनै बिग्रियो ।

८) आजको स्थितिमा कीर्तिनिधि विष्ट, तुलसी गिरी जस्ता मानिसलाई ल्याएर देश सञ्चालन गर्न खोज्नु ठूलो भुल थियो ।

९) प्रचण्डको भुलभुलैयामा पनि राजा परेको देखिन्छ । प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र राजा ज्ञानेन्द्रसँग प्रचण्डको दोहोरो भूमिका देखिन्छ । जस्तै पहिले राष्ट्रपति बन्न गिरिजाप्रसाद कोइरालालाई उकास्नु र पछि रामराजा प्रसाद सिंहलाई राष्ट्रपतिको उम्मेदवार बनाउनु । उता राजालाई “म जनता थाम्न सक्दिन, भोलि नारायण हिटीको पर्खाल पनि भत्काउन सक्छन् भनेर राजालाई डर देखाउनु । अहिले छोडी बक्सियोस्, पछि स्थिति राम्रो भएपछि फेरि स्थापना गरौंला” भन्ने कुराले राजा विश्वासमा परे । त्यसैले बेला बेलामा राजा “मसँग भएको सम्झौता लागू गर” भनी राजाले भन्नुको अर्थ त्यो हो । प्रचण्ड र राजाबीच दरबारको सम्पत्तिबारे पनि सम्झौता भयो भन्ने कुरा पनि सुन्नमा आएको छ । तर, त्यो प्रकाशमा आएको छैन ।

यी उपरोक्त कारणहरूबाट राजा आफै आफ्नो पतनको कारण बन्न पुगे । राजा संवैधानिक राजामात्र भएर बसेका भए केही पनि हुने थिएन । राजा वीरेन्द्रलाई पनि भारतले दुःख दिएकै थियो । तर, राजा वीरेन्द्रले स्थिति बुझेर नै २०३६ सालमा जनमत सङ्ग्रह र पछि २०४६ सालमा संवैधानिक राजा घोषणा गरेर आफूलाई र राजपरिवारको साख जोगाएका थिए । यसैकारणले पनि राजा वीरेन्द्र उदार र लोकप्रिय राजाका रूपमा चिनिन सफल भएका थिए ।