इटहरी/ नेपालकोे पूर्वी नाका काकडभिट्टा र जोगवनी नाका हुँदै नेपाली युवा दिन प्रतिदिन कामको खोजीमा भारततर्फ गइरहँदा भारतीय नागरिकहरूले भने यहीँ आएर मनग्गे आम्दानी गरिरहेका छन् । भारतबाट रोजगारीको खोजीमा नेपाल भित्रिएकाहरू अहिले इटहरी चौकमा मनग्य आम्दानी गरिरहेका छन् ।

नेपालमा काम नपाएको भन्दै विदेशिनेको सङ्ख्या बढिरहेका बेला भारतीयहरूले इटहरी आएर गरिरहेको कमाइ लोभलाग्दो छ । इटहरीमा रिक्सा चलाएर दैनिक कम्तीमा ५ सय रुपैयाँ कमाउनेदेखि ठेलामा चाट, परौठा, समोसा, पकौडा, पुरीको व्यापार गर्नेहरूको आम्दानी निकै राम्रो छ । उनीहरू बेलुका भएपछि सडकमा ठेला लिएर निस्कने गर्छन् । इटहरीको चौक तथा आसपासमा ठेला पसल गर्नेहरू धेरै भारतीय नै छन् ।

कामको मेसो नपाएर र राम्रो मूल्याङ्कन नभएर नेपालीहरू कामका लागि भारतलगायतका मुलुकमा जानेको सङ्ख्या बढिरहे पनि भारतीयहरू भने नेपाली बजारमा मासिक राम्रो आम्दानी गरिरहेका छन् ।

स्थायी घर भारत भई इटहरीमा ठेलामा व्यवसाय गर्दै आइरहेका प्रमेश्वर मण्डलले दैनिक दिउँसो २ बजेदेखि साँझ ७ बजेसम्म ठेलामा व्यवसाय सञ्चालन गर्दै आएका छन् । दैनिक जसो ८ सयदेखि हजारसम्म आम्दानी हुने गरेको उनी बताउँछन् । फुटपाथमा व्यवसाय गर्दा धुलो धुवाँको समस्या हुँदा हुँदै पनि जीविकोपार्जनको लागि व्यवसाय गर्दै आएको बताए । मासिक २५ देखि ३० हजारसम्म बचाउन सक्छु उनले भने ।

व्यापार शुरु गर्दा उनले यसबाट यति राम्रो होला भन्ने सोचेका थिएनन् । भारत नै घर भएका राजकुमार मण्डल दैनिक दिउँसो १ बजेदेखि साँझ ९ बजे सम्म फुटपाथमै व्यवसाय गरेर दैनिक २ हजारसम्म कमाउँदै आएको बताए । मेहेनत ग¥यो भने पैसा कमाई हुने रहेछ । उनी खुसी साथ भन्छन् । पैसा कमाउन मेहेनत गर्नुपर्ने रहेछ, मण्डल भन्छन् ।

इटहरी चौकमा व्यापार गरेर आफ्ना छोराछोरीलाई राम्रो स्कुल पढाउनुको साथै बैङ्क ब्यालेन्स पनि गरेको छु उनी भन्छन् । इटहरीको अर्का ठेला व्यवसायी राकेशकुमार महाशय लामो समयदेखि निरन्तर ठेलामा व्यवसाय सञ्चालन गर्दै आएका छन् । दैनिक बेलुका ४ बजेदेखि १० बजेसम्म व्यवसाय सञ्चालन गर्दै आएको बताउने महाशयले भने दैनिक १ हजारदेखि १५ सयसम्म आम्दानी गर्ने गरेको बताए । दैनिक मेहेनत गरेकै कारण आम्दानी भइरहेको बताउँछन् उनी ।

उनले छोराछोरीलाई निजी विद्यालयमा पढाएका छन् । ‘ठेलाको व्यापारले मज्जाले खान, लाउन र उपचार गर्न पुगिरहेको छ उनीहरू भन्छन् । बिहान बेलुका थोरै समयको व्यापारले पनि परिवार चल्ने गरेको बताउने उनलाई दिनभरि फुर्सद नै फुर्सद छ । उनीहरूलाई काम गर्न लाज लाग्दैन । ‘के को शरम ! व्यापार गर्न पनि लाज लाग्छ र ? आफ्नो धन्दा गरेर पेट पाल्दा पनि के लाज ?’ उनीहरू भन्छन् ।