छिटफुट घटना बाहेक उपनिर्वाचन २०७६ शान्तिपूर्ण सम्पन्न भएको छ । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको शनिबार भएको उपनिर्वाचनमा ६५.४३ प्रतिशत मत खसेको छ । २०७४ को निर्वाचनमा जुन उत्साह स्थानीयमा देखिएको थियो, त्यो उत्साह यस उपनिर्वाचनमा नदेखिनुले निर्वाचित जनप्रतिनिधिहरूबाट सन्तोषजनक काम नभएको सङ्केत गरेको छ । निर्वाचनपछि ५२ स्थानका परिणामहरू धमाधम आइरहेका छन् । झण्डै ४५ स्थानको परिणाम आइसक्दा अघिल्लो निर्वाचनमा जितेका दलहरूलाई छोडेर अन्य दल वा व्यक्तिलाई जनाधिकार दिएको देखिएको छ । २०७४ सालमा जुन दलले जितेको थियो तिनै दलहरूले विजय हासिल गरेको वडा वा क्षेत्रमा मतान्तरण झिनो देखिएको छ । भोजपुरको पौवादुम्मास्थित श्यामशिलामा नेपाली काङ्ग्रेसले जितेको वडामा यसपटक नेकपाले जितेको छ । मोरङको ग्रामथानमा नेकपाले जितेको स्थानमा यसपटक काङ्ग्रेसले जित हासिल गरेको छ । यस्ता उदाहरण धेरै छन् । पहिलो कुरा मतदाता मतदानस्थलसम्म जान इच्छा देखाएनन् । दोस्रो गएका मतदाताहरूले फरक दललाई रोजेका छन् । यसले हाल जितेका दल वा व्यक्तिप्रति जनताको वितृष्णा छ भन्ने सङ्केत प्रष्ट देखिएको छ । उपनिर्वाचनबाट दलहरूले पाठ सिकेनन् भने आगामी निर्वाचनको परिणाम अनपेक्षित नहोला भन्न सकिँदैन ।

निश्चय नै उपनिर्वाचन दलहरूको एउटा परीक्षा हो । जुन दलले स्थानीय तहमा निर्वाचित जितेका थिए । उनीहरूका लागि यो ठूलो परीक्षा हो । सम्बन्धित दलका जनप्रतिनीधिहरू भएका वडाहरूमा मत न्यून खस्नु तथा दलको भोट घट्नुले जसले स्थानीय तह चलाइराखेको छ, उसप्रति जनताको वितृष्णा जागेको निर्वाचन परिणामले देखाएको छ । २०७४ सालको निर्वाचनपछि प्रदेश, सङ्घ र स्थानीय भएसँगै जनताका अपेक्षा उच्च भएका थिए । घरघरमा सिंहदरबार आएको राज्यले प्रचार गरे पनि जनताले अनुभूत गर्न नसक्नुले कतिपय मतदाताहरू निर्वाचन स्थलसम्म गएनन् । जसले आफ्नो मताधिकार प्रयोग गरे उनीहरूले भिन्न रूपले मताधिकार प्रयोग गरेको अहिले आइरहेको निर्वाचन परिणामले देखाएको छ । अबका राजनीतिक दलहरूले जनता कुनै ललिपपमा भुलिदैनन् अर्थात् उनीहरूको आँखामा छारो हानेर मत परिणाम आफ्नो कब्जामा पार्छु भन्ने दिवा सपना देख्न दलहरूले छाड्नुपर्छ । यतिमात्र होइन जनचाहना अनुरूपका कामहरू समयमा नै गर्न ध्यान दिनुपर्छ ।

जनताको विश्वास जित्ने काम अबका जनप्रतिनिधिहरूले गर्नु वाञ्छनीय हुनेछ । जति पनि स्थानीय तहका जनप्रतिनिधिहरू छन्, दलहरूले उनीहरूलाई जनताको विश्वास जित्ने लोकप्रिय काम गर्न निर्देशन जारी गर्न सकेन भने जनतामा निराश जाग्नेछ । त्यसको परिणाम दलहज्ञले निर्वाचनमा भोग्नुपर्ने निश्चित छ । अब शक्तिमा रहेका दलहरूले आफ्ना आसेपासेहरूलाई जागिर दिने, भर्ती गर्ने, कार्यकर्ताहरूलाई ठेक्का दिने, विकासको बजेट कार्यकर्ताहरूलाई पोस्ने काम बन्द गरेर जनताका लागि निस्वार्थ काम गरेर देखाउनु पर्दछ । यसैबाट जनप्रतिनिधिहरूको पनि क्यारियर बन्नेमा दुई मत छैन।