सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, चर्चित कम्युनिष्ट नेता सीपी मैनाली, रामचन्द्र यादव, अमृत बोहराहरूले २०३२ सालमा कोेअर्डिनेशन केन्द्र निर्माण गरेका थिए । उक्त केन्द्रमा २०३६ सालमा आबद्ध भएका पार्टीका होनहार नेता प्रकाश राई यति बेला नेकपाको जिल्ला कमिटी सदस्यमा रहेका छन् । २०७४ सालको सुनसरी क्षेत्र नं. १ को निर्वाचन परिचालन समितिको नेतृत्व समालेर १ नंं क्षेत्रबाट नेकपाका सबै उम्मेद्वारलाई जिताउन सफल राई यति बेला धरान उपमहानगरको मेयरका लागि आफै मैदानमा छन् । एक वर्ष अघि मेयर तारा सुब्बाको मृत्यु पछि उहाँले परिकल्पना गरेको धरानलाई सुन्दर, सवल र समृद्ध बनाउने एउटा अभियानमा निस्किएका छन् । अहिलेसम्म कुनै लाभको पदमा नलोभिएका राई २०३६ सालदेखि आजसम्म अभियान र आन्दोलनमा अनवरत रहदा एउटा स्वच्छ र इमान्दार नेताको उपमा पाएका छन् । उनको शालीनता, इमान्दारिता र उनको शुन्य भ्रष्टाचार अभियानलाई देखेर नेकपाले यही मङ्सिर १४ गते हुने धरान उपमहानगरपालिकाको उपनिर्वाचनमा मेयर पदका लागि उम्मेदवार बनाएको छ । जनताको घरदैलोमा व्यस्त राईका ऐजेण्डा र योजनाबारे ब्लाष्टले गरेको कुराकानीको सार यहाँ प्रस्तुत गरिएको छ ।

तपाईंका चुनावी एजेन्डाहरू के छन् ?
– हाम्रो पार्टीलाई यहाँका जनता, नागरिक, धरानवासीहरूले पाँच वर्षका लागि जनमत दिएर पठाउनुभएको हो । तर, बीचमा हाम्रा नगर प्रमुख तारा सुब्बाको असामयिक निधन भएका कारण अहिले हामी आसन्न निर्वाचनमा छौं । र, आज मलाई पार्टीले मेयर पदको उम्मेदवारका रूपमा त्यहाँ पठाउँदै छ । हामीले त्यतिबेलाको घोषणापत्र, प्रतिबद्धतापत्रमा तयार पारेको कुराहरूलाई पूरा गर्नु मेरो जिम्मेवारी रहन्छ । ती प्रतिबद्धतापत्रहरूको विशेष विषयगत कुरा गर्दा धरानबारे हामीले एउटा स्वच्छ सफा हराभरा धरानको कुरा गरेका छौं । धरानलाई शिक्षा, स्वास्थ्य र पर्यटनको हब बनाउने कुरा गरेका छौं । सांस्कृतिक, धार्मिक, प्राकृतिक पर्यटन प्रवद्र्धनका कुरा पनि गरेका छौं । त्यस्तै हामीले हाम्रो धरान भौगोलिक विविधताका रूपमा रहेकाले यहाँ कृषिको कुरा गरेका छौं । वडा ६, वडा ५ र वडा २० लगायतलाई हामीले नगदेबाली तथा अन्य बालीको पनि विशेष किसिमले प्रोत्साहन गरिनुपर्छ र त्यसलाई प्याकेज बनाइनुपर्छ भनेर कुरा गरेका छौं ।
अहिले एसियाकै मात्र नभएर अन्तर्राष्ट्रिय क्षेत्रमा ख्यातिप्राप्त बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा विस्तार र गुणस्तर कायमका लागि मेरो भूमिका हुनेछ । धरानलाई खेलकुदको शहर बनाउन ेअभियानअन्तर्गत खेलकुद ग्राम निर्माणको तयारीमा छ । यसका साथै सरसफाइका सवालमा हामीले धरानबाट निस्कने फोहोरमैलालाई प्रशोधन गरेर वडा ६ बाट घरघरमा सिलिन्डर भरेर जाने खालको ग्यास निकाल्ने र त्यसबाट कम्पोस्ट मल उत्पादन गर्ने योजना अन्तर्गत काम थालनी भएको छ । त्यसलाई पुरा गर्ने मेरो जिम्मेवारी हुनेछ । खानेपानी योजना विगतदेखि नै सुरुवात गरेका छौं । त्यसलाई हामीले एकीकृत सहरी विकास परियोजनासँग पूरा गर्दै छौं । हामीले धेरै पहिला हाम्रा तत्कालीन नेकपा एमालेका मेयर मनोजकुमार मेन्याङ्बोको पालामा एउटा बसपार्कको योजना सुन्दरबस्तीमार्फत गरेका थियौं । त्यो बसपार्कका हरेक समस्या झेलेर हामीले अहिले शिलान्यास गरेका छौं । त्यहाँ डीपीआर तयार भइरहेको छ । त्यसलाई पुरा गर्ने मेरो जिम्मेवारी हुने छ । अन्य सडक, बिजुली, कल्भट निर्माणलगायतका पूर्वाधार विकासका काम मेरो पहिलो प्राथमिकता हो ।

यसबीचमा जनताको घरघरमा पुग्दा उहा“हरूबाट के–कस्तो आशा र अपेक्षा राखेको पाउनुभयो ?
– सामान्य नागरिकहरूदेखि लिएर यहाँ प्राज्ञिकहरू बस्ने ठाउँ हो । यहाँ कलेज तथा युनिभर्सिटीहरू भएकाले आफ्नो स्तरअनुसारका सामान्य नागरिकहरूले दिनहुँ आइपर्ने रोजगारका कुराहरू उठाउनुभएको छ । सामान्य बाटोघाटोको कुरा उठाउनुभएको छ । शैक्षिक कुराहरूको विषयमा सामुदायिक विद्यालयहरूमा भौतिक संरचनाहरूको कुरा उठाउनुभएको छ । अन्य प्राइभेट स्कुलको दाँजोमा सामुदायिक विद्यालयलाई लान पहल गर्नुपर्छ भन्ने कुराहरू उठाउनुभएको छ भने प्राज्ञिकहरूले दीर्घकालीन भावी योजनाका कुराहरू उठाउनुभएको छ । बाटो, खानेपानी, आयआर्जन र रोजगारीको विषयमा कुरा उठाउनु भएको छ । उहाँहरूले उठाएका सबै विषय नोट गरेर राखेको छु । मङ्सिर १४ मा उहाँहरूले मलाई मत दिएर जिताएपछि ती योजनाहरू लिएर उहाँको घरदैलोमा पुग्ने प्रतिबद्धता गरेको छु ।

उपनिर्वाचनको उत्साह कस्तो पाउनुभएको छ ?
– निश्चय नै यहाँका जनता उत्साही हुनुहुन्छ । घरदैलोमा जनताले उत्साहापूर्ण सहभागिता जनाएर मलाई हौसला दिनुभएको छ । उहाँहरूले मलाई सुझाव पनि दिनुभएको छ । डेढ वर्षसम्म अभिभावक विहीन भएर बसेको अवस्था थियो । उहाँहरूले पाँच वर्षमा हामीले गरेको प्रतिबद्धता पूरा गर्नुपर्छ भनेर चुनेर पठाउनुभएको हो । उक्त प्रतिबद्धता नेपाल कम्युनिष्ट पार्र्टीले पूरा गर्नुपर्छ भनेर पार्टीले मलाई जिम्मेवारी दिएको छ । त्यसो भएको हुनाले पनि उहाँहरूले अभिभावकविहीन अवस्थामा एउटा प्रतिनिधि आउँदै छ र लामो समयदेखि यस धरानमा बसेको प्रतिनिधित्व गर्ने स्थानीय मान्छे आउँदै छ । चिनजानको हैसियतले पनि उहाँहरूले धेरै अपेक्षा गर्नुभएको छ । उत्साहित पनि हुनुहुन्छ । उहाँहरूले मलाई अनुमोदन गरेपछि उहाँहरूको यो उत्सहलाई म मर्न दिने छैन ।

तपाईं धरानको मेयरमा निर्वाचन भएपछि के कुरालाई प्राथमिकतामा राखेर काम गर्नुहुन्छ ? अधुरा काम त धेरै छन् ?
– विकास भन्नाले दीर्घकालीन विकास र अल्पकालीन विकासहरू हुन्छन् । भौतिक संरचनाका कुराहरू छन् । अन्य सामाजिक विषय पनि छन् । यसमा भौतिक निर्माणको विषयमा बाटोहरू स्तरोन्नतिका कुराहरू छन् । यहाँको मानिसहरूलाई मनोवैज्ञानिक रूपमा सकारात्मक कुरामा लान सक्नुपर्नेछ । हाम्रा केही साथीले पाँच वर्षमा एकपटक खेती गर्ने गर्नुहुन्छ, कुर्सीमा पुग्न । उहाँहरूले धेरैजसो नकारात्मक कुराहरू जनतामा लाने गर्नुभएको छ । हाम्रो पार्टीले र मैले सकारात्मक कुरामा जोड दिने गरेका छौं । ती सबै कुरा पूरा गर्न मेरो प्रतिबद्धता रहनेछ । निश्चय नै नेकपा नेतृत्वले धरानका लागि केही ठूला परियोजनाहरू थालेको छ । धराने जनताका लागि अत्यावश्यक खानेपानी, बसपार्क, फोहोर व्यवस्थापन यी काम शुरु भएका छन् । त्यसलाई मैले प्राथमिकतामा राखेर पुरा गर्नु पहिलो काम हुने छ । विषयमा अवका चुनावमा कुनै दलहरूले एजेण्डा बनाउन पाउनुहुने छैन ।

तपाईंलाई धराने जनताले किन जिताउने त ?
– मलाई नै भन्दा पनि विशेषगरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई जिताउने हो । दोस्रो कुरा, नेकपाको धरानमा म आफू पार्टीमा लागेको ३५ वर्षदेखि निरन्तर लागिरहेकाले पार्टीमा एउटा अग्रज, एउटा सरल, इमानदार कार्यकर्ता भएकाले पार्टीले मलाई पत्याएको हो । धरान भनेको एउटा सानो शहर हो । आपसी घनिष्ठता रहेको सहर भएकाले यो सहरमा म आफू अधिकतम मात्रामा चिनजान रहेको अवस्थाले मैले बोकेको एजेन्डाहरूप्रति आश्वस्त र विश्वस्त हुनुहुन्छ ।
धरान हिजोदेखि नै वामपन्थीहरूको केन्द्र भएका कारण र अहिलेसम्म कुनै पनि जनप्रतिनिधि वामपन्थीबाहेक अरु कुनै विचार राख्ने मान्छेले नजितेको अवस्थाले गर्दा पनि यो निरन्तरता रहन्छ र यसमा विगतमा हाम्रा जनप्रतिनिधिले गरेका राम्रा कामहरू आधार छन् । ती कामका हिसाबले हामीले यहाँको जनताको मत प्राप्त गरेका छौं । हामीले कहीँ पनि कमीकमजोरी नगरेकाले पनि जित्छौं भन्ने विश्वास छ । हामी एजेण्डा लिएर विकासका खाका लिएर मैदानमा आएका छौं । करिब सवा अर्ब बजेट धरानमा नेकपा नेतृत्वले ल्याएको छ । त्यसलाई पूर्ण कार्यान्वयन गरेर समृृद्ध धरानको किस्ती बोकेर हामी आएका छौं ।

नेकपा सत्तामा रहँदा पनि उल्लेखनीय कामहरू गर्न सकेका छैनन् नी ? प्रतिपक्षले यही विषयलाई चुनावी मुद्दा बनाएको छ । तपाई यसलाई कसरी चिर्नुहुन्छ ?
– प्रतिद्वन्दी साथीहरू र हाम्रो आस्थाको विरोध गर्ने साथीहरूले जनतामा नकारात्मक कुराहरू मात्र राख्ने कार्य गरिरहनुभएको छ । यसले उहाँहरू आफैलाई नोक्सान गरेको थाहा पाउनुभएको छैन । हामी उहाँहरूलाई के भन्न चाहन्छौं भने हिजोको र पहिलेको धरानको सवालमा साथमा दुई वर्षअगाडिको मात्रै धरानको विचार गर्ने हो भने यहाँ अहिले सङ्घबाट, प्रदेशबाट बजेटहरू आइरहेको कुरालाई उहाँहरूले मूल्याङ्कन गर्न जरुरी छ । उहाँहरूले छरेको भ्रमबाट जनता परिचित हुनुहुन्छ । प्रदेशबाट, सङ्घीय सरकारको सहयोगबाट झन्डै हामीले आठवटा पुल निर्माण गरिरहेका छौं । हामीले अहिले सर्दु र सेउती करिडोर निर्माणका लागि कजेट आएको छ । यहाँ रहेका सुकुम्बासी सबैलाई सुरक्षित गर्नेछौं । ५५ करोडको बजेट विनियोजन भएकोले कार्य शुरु गर्दै छौं । अब प्रदेशबाट लगानी गरेर खेलग्रामको काम भइरहेको छ । त्यसैगरी हामीले यसपटकदेखि बसपार्कको कार्य शुरु गरिरहेका छौं । त्यसपछाडि हामीले कृषिग्रामको कुरा पनि गरिरहेका छौं । त्यो कृषिग्राम वडा ६ मा शुरु गर्दै छौं । यी विविध कुरा हेर्दाखेरि उहाँहरूको हामीलाई लगाएको लाञ्छना मात्रै हो भनेर म प्रमाणित गर्छु । सुकुम्बासी समस्या समाधानका लागि हामीले घर नं. वितरण शुरु गरेका छौँ । अब मेरो नेतृत्वकालमा सबै सुकुम्बासीहरूले धनीपूर्जा पाउनु हुनेछ ।

धरानलाई केन्द्रीय सरकारसँग कसरी जोड्नुहुन्छ ? तपाईंको भूमिका कस्ता होला ?
– स्वाभाभिक रूपमा हिजोका दिनमा हामीलाई पनि त्यस्तो लाग्थ्यो । धरान जङ्गलभन्दा माथिको आइल्यान्ड हो कि भन्ने जस्तो लाग्थ्यो । तर, अहिले हामीले यो नयाँ संविधानको संरचना बनेदेखि प्रदेश, सङ्घ र स्थानीय सरकार बनेदेखि यो महसुस गरेका छैनौं । किनभने, हामीले अहिले प्रदेश र सङ्घसँग निरन्तर आपसमा हाम्रो समझदारी भइरहेको अवस्था छ । अहिले आएर प्रदेशमा पनि धरानकै क्षेत्र १ (क) बाट विजयी हुनुहुने नेता सभामुख हुनुहुन्छ । ख बाट पानीको स्थायी समिति सदस्य हुनुहुन्छ । हामीले माननीयका रूपमा सङ्घमा पनि जयकुमार राईलाई पठाएका छौं । त्यहाँबाट पनि प्रशस्त रूपमा बजेटहरू र शिक्षा क्षेत्रमा खेलकुद क्षेत्रमा प्राप्त भइरहेको छ । स्वास्थ्य क्षेत्रमा पनि हामीलाई हस्पिटलसँग सम्बन्धित सबै सामान उहाँहरूले प्रदान गरिरहनुभएको छ । जुन हिजोको अवस्थाभन्दा अहिले प्रदेश र सङ्घसँग स्थानीय सरकारलाई जोडेको अवस्था छ । किनभने, तिनै तहमा नेपाल कम्युनिस्ट पार्टी नेकपाको सरकार छ, जसको हिसाबले पनि हामीलाई हिजोको लाञ्छना मात्र रहेको अवस्था अहिले छैन । झण्डै सवा अर्ब बजेट आएको छ । त्यसलाई सदुपयोग गर्न पनि फेरि नेकपाको नेतृत्वको आवश्यक छ ।

तपाईं मेयरमा विजयी भएर नेतृत्व तहमा पुगिसकेपछि आफ्ना प्रतिबद्धताहरूलाई के–कसरी लागू गर्नुहुन्छ ?
– निर्वाध रूपमा अक्षरशः पालना गर्नेछु । किनभने, म अहिलेसम्म कहिले पनि संवैधानिक अङ्गमा गएको मान्छे होइन । र, एकदम आशा गरेर अपेक्षा गरेर बसेको हिजोका नागरिक भएकाले म त्यसभित्र पर्ने मान्छे हुँ । म त्यो कुर्सीमा गएँ भने त्यसलाई क्रमागत रूपमा १, २, ३ गरेर प्रतिबद्धतालाई पूरा गर्नेछु । त्यो प्रतिबद्धतालाई पूरा गर्न म पार्टी र माथिल्लो नेतृत्व, स्थानीय सरकार र सम्बन्धित विषयका विज्ञहरूसँग, नागरिकहरूसँग व्यावसायीहरूसँग सहकार्य गरेर ती सबै कुरालाई पालना गरेर, सहकार्य गरेर व्यवस्थापन गरेर पनि निर्विवाद रूपमा लागू गर्नेछु । नीजी क्षेत्रको लगानीलाई प्राथमिकतामा राखेर काम गर्नेछु ।
अन्त्यमा नेकपाको नेतृत्वले धरानको सम्वृद्धिको योजना भित्राएको छ । त्यो पूरा गर्न म मैदानमा आएको छु । विकासको दियो जगाउँदै गर्दा तपाईं मतदाताहरू अलमलिनुभयो भने धरानको विकास अलमलिनेछ । सम्वृद्ध धरानको सपना बरालिनेछ । कहिकतै कुनै तुस भए आउनुहोस् बसेर बहस र छलफल गरौं । तपार्इंहरूले पठाएका जनप्रतिनिधि कतै अनमलिनुभयो भने निरन्तर खबरदारी गरौं । नागरिक अधिकार प्रयोग गरौं भन्न चाहन्छु । तपार्इंरूको सुझाव, इच्छा र खबरदारीलाई शिरोधार्य गर्दै धरानलाई बनाउने मेरा प्रतिबद्धता हो । मङ्सिर १४ मा हुने उपनिर्वाचनमा तपाईंहरूबाट अनुमोदनका लागि मैले हात जोडेको छु ।