भण्टाबारी / सुनसरी जिल्लाको ६२ किलोमिटर क्षेत्र भारतीय सीमासँग जोडिएको छ । उक्त क्षेत्रमा नेपाल–भारत सिमाना जोड्ने साना–ठूला गरी दर्जनबढी सडक छन् । जसमध्ये भण्टाबारी, लौकही र घुस्कीलाई मुख्य नाका मानिन्छ । सदरमुकाम इनरुवामा सशस्त्र प्रहरी बल सीमा सुरक्षाको कार्यालय अवस्थित छ । त्यसैगरी जिल्लाका विभिन्न नौ स्थानमा सीमा सुरक्षा, आपराधिक गतिविधि नियन्त्रण, चोरी–पैठारी नियन्त्रणलगायतका १३ वटा सुरक्षा कार्य गर्न बिओपी स्थापना गरिएका छन् ।

तर, प्राप्त जनशक्ति र अपेक्षित साधन स्रोत नहुँदा सीमा सुरक्षा चुनौतिपूर्ण छ । सशस्त्र प्रहरी ऐन २०५८ ले सशस्त्र प्रहरीलाई सीमा सुरक्षाको जिम्मा दिएको छ । तर, सीमामा सशस्त्र प्रहरीको उपस्थिति न्यून छ । जसले गर्दा

सीमा क्षेत्रमा प्रभावकारी गस्ती र अपराध नियन्त्रणमा समस्या आउने गरेको सशस्त्र प्रहरीको भनाइ छ ।
सुनसरीमा ५ सयको हाराहारीमा सशस्त्र प्रहरी रहेको सशस्त्र प्रहरी बल सीमा सुरक्षा प्रमुख कृष्ण ढकाल बताउँछन् । आवश्यकताअनुसारको जनशक्ति नभएको जनाउँदै प्रमुख ढकालले सुनसरीमा भएका ४ सय ८५ सशस्त्र प्रहरीमध्ये २ सय ५० जना सीमा सुरक्षा गर्न विभिन्न नौ वटा बिओपीमा परिचालन गरिएको बताए । सीमा सुरक्षासँगै सशस्त्र प्रहरीले धेरै कुरा गर्नुपर्ने अवस्था भएको भन्दै उनले भने सबै प्रकारका अपराधसँगै हरेक गतिविधिको निगरानी सशस्त्र प्रहरीले गर्दै आएको छ ।

भारतले तीनदेखि पाँच किलोमिटरको दूरीमा भारतीय सीमा सुरक्षा बल एसएसबीको पोष्ट राखेपनि नेपालतिर त्यस्तो मापदण्ड नभएको ढकालले बताए । उनले भने, ‘सुनसरीसँग सीमा जोडिएका भारतीय क्षेत्रको प्रत्येक तीनदेखि पाँच किलोमिटरमा पोष्ट बनाइएका छन् । तर, त्यही क्षेत्रमा नेपालतर्फ १० देखि १३ किलोमिटरमा एउटा पोष्ट छ । सुरक्षाकर्मीको संख्या पनि धेरै कम छ ।’

पोष्ट थपिए, जनशक्ति थपिएन
एकवर्ष अगाडिसम्म सुनसरीमा हरिपुर, श्रीपुर, लौकही, घुस्की, साहेवगञ्ज र कप्तानगञ्ज गरी ६ वटा बिओपी मात्र रहेको थियो । पछि खुला सिमानाले सीमामा सुरक्षा चुनौति भएको भन्दै लाही, अमडुवा र वसन्तपुर गरी थप तीनवटा बिओपी थपियो । तर, जनशक्ति थपिएन । ६ वटाबाट नौ वटा बिओपी बनाए पनि जनशक्ति भने नथपिएको ढकालले बताए । ‘गस्ती होइन, पोष्ट कुर्दैमा ठिक्क छ’ उनले भने, ‘एक सशस्त्र प्रहरीले १० देखि १३ किलोमिटर हेर्नुपर्ने हुन्छ ।

जसले गर्दा अवैध सामान चोरी–पैठारी नियन्त्रण गर्न समस्या भएको छ ।’ एउटा बिओपीमा २५ देखि ३२ वटासम्म सशस्त्र प्रहरी छन् । उपलब्ध जनशक्तिले सीमा सुरक्षाका साथै सीमावर्ती क्षेत्रमा आपराधिक गतिविधि रोकथाममा भूमिका निर्वाह गर्दै आएको एसपी ढकालको दाबी छ । उनले भने, ‘सशस्त्र प्रहरीले सीमामा निरन्तर गस्ती गर्दै आएकोले जिल्लाको शान्तिसुरक्षा कायम राख्न सहयोग पुगेको छ ।’ सशस्त्र प्रहरीको पोष्ट बढाउँदा जनशक्ति र स्रोत साधनसमेत थप गर्नुपर्ने उनको कथन छ । कतिपय ठाउँमा कार्यालयको लागि जग्गा र उपयुक्त ठाउँको अभावमा सीमाभन्दा कार्यालय टाढा भएकोले गस्तीमा कठिनाइ भएको सशस्त्र प्रहरीको भनाइ छ । सुनसरीमा खुला सीमा नाकाको फाइदा उठाउँदै दुवैतर्फ चोरी, तस्करी हुँदै आएको छ ।

निरन्तर अतिक्रमण हटाइदै
सशस्त्र प्रहरीले नेपाल–भारत दसगजा क्षेत्रमा अतिक्रमण गरी बनाइएका संरचना हटाउने कार्यलाई निरन्तरता दिएको छ । केही दिनअगाडि दसगजा क्षेत्रमा अतिक्रमण गरी सुनसरीको बर्जु गाउँपालिका क्षेत्रमा बनाइएको घरटहरा हटाएको सशस्त्र प्रहरीले शनिबार कोशी गाउँपालिका–८ भण्टाबारीमा समेत दुईजना स्थानीयले दसगजा क्षेत्रमा बनाएको भौतिक संरचना हटाएको जनाएको छ । सशस्त्र प्रहरी बल बिओपी भण्टाबारीको नेतृत्वमा भारतीय एसएसबी र सीमा प्रहरी चौकी भण्टाबारीको सहकार्यमा दसगजा अतिक्रमण गरी बनाइएका भौतिक संरचना हटाइएको सशस्त्र प्रहरी बल बिओपी भण्टाबारीले जनाएको छ ।