इटहरी/ व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत रानी–विराटनगर–इटहरी–धरान ६ लेन सडक निर्माण कार्यमा आयोजनाकै लापरबाहीले भइरहेको पाइएको छ । ६ लेन सडक इटहरीमा तीव्र विवाद भइरहे पनि सडक आयोजनाका प्रमुखसहित अधिकांश कर्मचारी कार्यालय बस्दैनन् ।

सडक आयोजनाका कर्मचारीहरूकै कमजोरीका कारण इटहरीमा ६ लेन विवाद हुँदै आएको छ । रानीदेखि धरानसम्म कुल ४९ किमी सडकको निर्माणको लागि स्थापना भएको कार्यालयमा अधिकांश समय कार्यालयमा कर्मचारी बस्दैनन् । ०६९÷७० बाट शुरु भई चालू आ.व.सम्ममा सम्पन्न हुनुपर्ने थियो । तर अहिलेसम्म आधाजसो मात्र काम भइरहेको कार्यालयले स्वीकारेको छ ।

‘सडक आयोजनामा अहिलेसम्म ४ जना कार्यालय प्रमुख हेरफेर भए । अहिलेसम्म विजय चापागाईं, दीपक भट्टराई, विनोदकुमार मोवर, नरेन्द्रनाथ कोइराला, बद्री शर्मा कार्यालय प्रमुख भए तर अधिकांश कार्यालय प्रमुख कार्यालय बस्दैनन्’ इटहरीका युवानेता तथा सडक निर्माणको लागि स्थापना भएको सङ्घर्ष समितिका संयोजक मदन चूडालले भने, ‘कार्यालय प्रमुख शङ्काका घेरामा छन्, त्यसैले अनुसन्धानमा तान्न आग्रह गर्दछु ।’

अहिलेसम्म आधा दर्जनभन्दा बढी इञ्जिनियर हेरफेर भएका छन् । तर कार्यालयमा अधिकांश इञ्जिनियरसम्म बस्दैनन् । अहिलेसम्म कैलाश देव, हर्क प्रधान, सुबोध पोखरेल, उपेन्द्र दास अहिलेसम्म कार्यालय आएर हेरफेर भए । अहिले गौतम देव र रमेश गोइत कार्यालयमा छन् । ‘अधिकांश कार्यालय समयमा इञ्जिनियरहरू बस्दैनन्’–इटहरीका राम निरौलाले भने, ‘मनपरी गरिरहेको विषयमा निकै गम्भीर हुनु पर्छ ।’

सडक विस्तारको क्रममा आयोजनाको गम्भीर गल्ती देखिएको इटहरीका व्यवसायी नवराज सुवेदीले बताए । बजार विस्तार गर्ने क्रममा बजारमा छलफलसमेत नगरी घरवालाको सेटिङमा बाटो विस्तार गर्ने काम गरेको देखियो उनले बताए । आयोजनाले छलफल नै नगरी केन्द्रमा समेत गलत जानकारी दिएको उनी बताउँछन् । ‘६ लेन सडक आयोजनाकै कारण इटहरीको विवाद उग्र हुन पुग्यो’ उनले भने, ‘यहाँका वडाध्यक्षहरूको समेत कमजोरी देखियो ।’

यता ६ लेन सडक आयोजनाका इञ्जिनियर गौतम देवले भने कार्यालयका कर्मचारीहरू फिल्डमा नै जानुपर्ने भएको कारण कार्यालयमा धेरै बस्न नसकिने तर्क गरे । ‘हाकिमहरू धेरै समय काठमाडौं नै बस्नुपर्ने हुन्छ’ उनी भन्छन्, ‘कार्यालय प्रमुख अहिले पनि काठमाडौंमा नै हुनुहुन्छ ।’

‘रानीदेखि तरहरासम्ममा आशिष रोशन जेभी, कान्छाराम कन्स्ट्रक्सन, तुदिरमण जेभी, कञ्चनजङ्घा कन्स्ट्रक्सनले ठेक्का लिएर काम अघि बढाएको छ’ –देवले भने । २०७३ भदौ २४ गते २०७५ चैत २३ गतेभित्र सडक निर्माण सम्पन्न गर्ने सम्झौता गरेको थियो । तर अहिले पनि दुहबी र तरहरादेखि धरानसम्म ठेक्कासमेत लाग्न सकेको छैन ।

रानीदेखि धरानसम्म निर्माणाधीन ६ लेन सडकमा अहिलेसम्म ७ अर्बको ठेक्का लागिसकेको आयोजनाले जनाएको छ । अहिलेसम्म ३ अर्बको भुक्तानी भएको जनाएको छ । बाँकी ३ अर्बको ठेक्का लाग्न बाँकी रहेको आयोजनाका इञ्जिनियर देवले बताए ।