इटहरी । गत १९ गते बुधबार धरान–१८ की १९ वर्षीया अनिता श्रेष्ठले आत्महत्या गरिन् । सलको पासो लगाएर आफ्नै घरमा उनले आत्महत्या गरिन् । बुधबार नै धरान–१५ का ६८ वर्षीय तेजबहादुर पौडेलले झुण्डिएर आत्महत्या गरे । एकै दिन धरानमा दुई जनाले आत्महत्या गरे तर कारण पत्ता लागेन । २१ गते बिहीबार दुहबीकी दयावती ऋषिदेवले आत्महत्या गरिन् ।

प्रदेश एकमा आत्महत्याको घटना बर्सेनी बढ्दो क्रममा देखिएको छ । दैनिक दुई जनाभन्दा बढीले प्रदेश एकमा आत्महत्या गरिरहेको एक नम्बर प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कले देखाउँछ । ०७३÷७४ मा जम्मा १ हजार ९ जनाले आत्महत्या गरेका थिए । आत्महत्या गर्नेको यो सङ्ख्या बढेर ०७४-७५ मा ११ सय ६९ पुगेको देखिन्छ । त्यही तथ्याङ्क बढेर गत आर्थिक वर्षमा १२ सय ३६ जनाले आत्महत्या गरेको एक नम्बर प्रदेशका प्रहरी प्रवक्ता शेखर कोइरालाले बताए । चालू आर्थिक वर्षको अहिलेसम्म २ सय ८४ जनाले आत्महत्या गरिसकेको प्रहरी प्रवक्ता कोइरालाले बताए ।

देखावटी माया–प्रेम, प्रेममा धोका, असफलता, अस्वस्थता, घृणा, अपहेलनालगायतले गर्दा पनि मानिस आत्महत्या गर्न बाध्य हुने गरेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । विवाह गरेर छोटो समयमा नै विदेशिने युवाहरूको जमात निकै ठूलो रहेको र त्यसले समाजमा कस्तो असर पुर्याएको छ भन्ने विषयमा ख्याल नगर्दा पनि आत्महत्या वृद्धि भएको प्रहरीको भनाइ छ । परिवारलाई सुख र सुविधा दिन जाँदा माया र प्रेमलाई भुलेपछि समाजमा आत्महत्याको दर बढेको गएको प्रहरीको भनाइ छ । प्रहरीको तथ्याङ्कअनुसार नेपालमा आत्महत्या गर्नेहरूको सङ्ख्या बर्सेनी बढ्दो क्रममा छ । त्यसमा युवा तथा किशोरकिशोरीको सङ्ख्या बढी छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को पछिल्लो तथ्याङ्कले नेपाल धेरै आत्महत्या हुने मुलुकहरूको सूचीमा परेको छ ।

आत्महत्या गर्नुअघिका सङ्केतलाई पहिचान गर्न सकेमा धेरैको ज्यान जोगाउन सकिने मनोचिकित्सकहरू बताउँछन् । डब्ल्यूएचओका अनुसार आत्महत्याका कारण विश्वमा प्रत्येक ४० सेकेण्डमा एक जनाको ज्यान जाने गरेको छ । प्रदेश १ का घटनाहरू हेर्दा प्रहरीले मात्र यस्ता घटना नियन्त्रण गर्न कठिन भइरहेको छ । पूर्वका ठूला शहर विराटनगर, इटहरी, धरान, बिर्तामोडलगायतमा कुनै बेला प्रहरीको सक्रियताले अपराधको सङ्ख्या घटेको थियो । तर, अहिले त्यतिले मात्र अपराध नियन्त्रण हुने देखिँदैन । प्रहरी अधिकारीहरू नै समाजको सक्रिय सहभागिताबिना अपराध नियन्त्रण गाह्रो भएको बताउन थालेका छन् । बेला–बेला प्रहरीले नागरिकसँग सहकार्य गर्ने उद्घोष गरे पनि त्यसको व्यवहारिक प्रयोग हुन सकेको छैन । दैनिकजस्तो आत्महत्या भए पनि यसको कारण भने अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।

आ.व. ०७४-७५ मा यो सङ्ख्यामा वृद्धि भएर आत्महत्या गर्ने बालकको सङ्ख्या ३८ र बालिकाको सङ्ख्या ५८ पुगेको देखिन्छ । त्यस्तै गत आ.व.मा यो सङ्ख्या झन् बढेको देखिन्छ । गत आ.व.मा ४९ जना बालक र ८३ जना बालिकाले आत्महत्या गरेका छन् । यसमध्ये पनि १४ जिल्ला रहेको प्रदेश एकमा अन्य जिल्लाको तुलनामा मोरङ र सुनसरीमा आत्महत्या गर्नेको सङ्ख्या बढी देखिएको प्रदेश प्रहरी कार्यालयले बताएको छ ।

गत आ.व.मा सबैभन्दा बढी झापामा २ सय ९३ जनाले आत्महत्या गरेको प्रहरी तथ्याङ्कले देखाउँछ । त्यसपछि अन्य जिल्लाभन्दा बढी मोरङमा २ सय ३२ जनाले आत्महत्या गरेका थिए । सुनसरीमा १ सय ६४ जनामा १ सय २३ जना पुरुष, २६ जना महिला र १५ जना बालिका रहेका छन् । प्रेममा असफलतासँगै पारिवारिक झगडा, आर्थिक विपन्न हुँदा हुने तनाव, लागूपदार्थ सेवन र यी सबैका कारण हुने डिप्रेसन एवम् मानसिक समस्याका कारण आत्महत्या गर्नेको सङ्ख्या बढिरहेको उनको भनाइ छ ।

प्रदेश एकमा प्रहरीले आत्महत्या गर्न बाध्य बनाउनेहरूलाई दुरुत्साहन मुद्दा लगाउन थालेको छ । नयाँ फौजदारी अपराध संहिता जारी भएपछि प्रदेश एकमा १७ वटा दुरुत्साहन मुद्दा दर्ता भएका छन् । प्रदेश प्रहरी कार्यालयले दिएको तथ्याङ्कअनुसार प्रदेशका ८ जिल्लामध्ये खोटाङमा ४, झापा र सङ्खुवासभामा २–२, उदयपुर र पाँचथरमा १–१, भोजपुर र मोरङमा ३–३ वटा दुरुत्साहनसम्बन्धी मुद्दा दर्ता भएका छन् ।