ताप्लेजुङ/ विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रको चेराममा रहेको ‘होटल ब्लु–सिप’ का सञ्चालक दावा छिरिङ भोटेको नाममा असोज २९ गते साँझ एक पर्यटन सहयोगी (भरिया) ले चिठ्ठी पुर्याए ।

चिठ्ठीमा अक्टोबर १९ र २० तारिखको लागि ४ वटा डबल रुम राखिदिन आग्रह गरिएको थियो । विज्ञान र प्रविधिको विकाससँगै चिठ्ठीपत्रको चलन घट्दै गएको समयमा सो क्षेत्रमा भने चिठ्ठीकै माध्यमबाट सूचना आदान–प्रदान हुने गरेको छ । ‘गाउँबाट रुम बुकिङको लागि चिठ्ठी नै पठाउने गरेका छन्’ होटल व्यवसायी भोटेले भने, ‘भौगोलिक रूपले निकै टाढा भएका कारण मोबाइल, टेलिफोनजस्ता सञ्चारका साधन चल्दैनन्, त्यसैले सूचना आदान–प्रदानका लागि चिठ्ठीकै भर पर्नुपरेको छ ।’

होटल बुकिङदेखि लिएर होटलमा चाहिने सामान अर्डरका साथै सञ्चो बिसञ्चोको खबर सोध्नका लागि दैनिकजसो चिठ्ठी आदान–प्रदान हुने गरेको यालुङ्खाङ गेष्ट हाउसकी पासाङ डोमा शेर्पाले बताइन् । ‘सिजनमा प्रायः दैनिकजसो नै चिठ्ठी आउने–जाने गरेको छ ’ शेर्पाले भनिन्, ‘घरबाट हिँडेपछि फोन लाग्दैन, फोनको काम चिठ्ठीबाट नै गर्ने गरेका छौँ ।’

चिठ्ठी भने स्थानीय भरियाहरूले ल्याउने–लैजाने गरेका छन् । मोबाइल फोनमा नेटवर्क नहुँदा पर्यटकहरूलाई असजिलो महसुस हुने गरेको होटल व्यवसायी पासाङ डोमाले बताइन् । ‘कुनै कुनै ट्रेकिङ ग्रुपहरूले स्याटेलाइट फोन ल्याउने गरेका छन् । तर त्यसबाट फोन गर्न धेरै नै महँगो हुन्छ’ –उनले भनिन् । कञ्चनजङ्घाको दक्षिणी आधारशिविर क्षेत्र तारोङ्दिन, चेराम र राम्जेर क्षेत्रमा जम्मा ६ वटा होटलहरू छन् ।

सो क्षेत्रमा होटल सञ्चालन गर्नका लागि वर्षको दुई सिजन मात्र जाने गरेका छन् । त्यहाँका सम्पूर्ण होटल याम्फुदिनवासीको छ । याम्फुदिनको ह्लासे भन्ने स्थानसम्म मात्र नेपाल टेलिकमको नमस्ते मोबाइलबाट फोन लाग्छ । असोज–कार्तिक र चैत्र–वैशाख महिना कञ्चनजङ्घा घुम्न जानेको मुख्य सिजन हो । पछिल्लो समय पर्यटकहरू बर्सेनी बढ्दै गएका छन् । साहसिक पदयात्रा क्षेत्र मानिएको कञ्चनजङ्घामा सञ्चारको पहुँच पुग्नसके अझै पर्यटक भित्रिने पर्यटन व्यवसायीहरू बताउँछन् ।