आज ब्लाष्ट टाइम्स २५ वर्षमा लागेको छ र यो अवसरमा रक्तदान, स्वास्थ्य शिविर, कविता र वक्तृत्वकला जस्ता सप्ताहव्यापी कार्यक्रम गरेर रजतवर्ष मनाइरहेका छौं । विभिन्न सूचना, समाचार र मनोरञ्जनका सामग्रीहरू सञ्चार गर्दै आज २५ औं वर्ष प्रवेशको अवसरमा रजत महोत्सव मनाउने अवसर प्राप्त गरेका छौं र यो अवसर कष्टसाध्य यात्रा तय गरेर प्राप्त भएको छ, जुन यात्रामा हाम्रा आदरणीय पाठकवृन्द, विज्ञापनदाता, सहकर्मी, शेयर सदस्य महानुभावहरू, विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरू, विभिन्न पार्टीका राजनीतिज्ञहरू, बुद्धिजीवीहरू, पेशाकर्मीहरू, किसान, विद्यार्थीलगायत हजारौं लाखौं शुभचिन्तकहरूको साथ सहयोगमा हामी २५ औं वर्ष टेक्न सफल भएका छौं । यो यात्रामा साथ दिनुहुने सम्पूर्णलाई धन्यवाद र आभार प्रकट गर्दै नमन गर्न चाहन्छौं ।

यस यात्राको दौरानमा नेपालमा धेरै उथलपुथल भए । जननेता मदन भण्डारी र जीवराज आश्रितको हत्या, तत्कालीन माओवादीको जनयुद्ध, वंश नाश हुनेगरीको दरबार हत्याकाण्ड, तत्कालीन राजा ज्ञानेन्द्रद्वारा तत्कालीन संविधानको धारा १२७ को अवाञ्छित प्रयोग गरी सङ्कटकालको घोषणा, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालगायत मौलिक अधिकारमाथिको बन्देज, ०६२÷६३ को जनआन्दोलन, राजाद्वारा गद्दी त्याग, गणतन्त्र स्थापना, गणतान्त्रिक नेपालको संविधान जारी, कहालीलाग्दो ७.८ रेक्टर स्केलको भूकम्पलगायतका सयौं अप्रिय र प्रिय घटनाहरू भए । ती हरेक घटना र सूचनाको सही प्रस्तुतीकरण नै ब्लाष्टको आजको सफलता हो । पाठकहरूले खासगरी पूर्वाञ्चल (हाल प्रदेश नम्बर १) बाट प्रवाह हुने सूचनाप्रतिको विश्वास ब्लाष्टमा प्रकाशन भएपछि मात्र गर्ने धारणा बनाउनुले यो कुरा पुष्टि गर्दै आएको छ । अरु पत्रिकाहरूलाई समेत ‘कुन ब्लाष्ट’ हो भनेर गरिने प्रश्नले ब्लाष्टको सार्वकालिक मान्यतालाई स्थापित गरेको छ ।

तपाईं हामी सबै सभ्य, मेहनती, इमानदार, संस्कारयुक्त र समुन्नत समाज निर्माण, सही सूचना र तत्काल प्रवाह हुने सूचनाको पक्षपाती हौं । हतारमा गरिने अपरिपक्व समाचारको प्रवाहले हाम्रो उद्देश्य प्राप्त हुन सक्दैन । हामीले प्रवाह गर्ने समाचारले अभिप्रेरणा जगाउनुपर्छ न कि घृणा भन्नेतर्फ हामी जहिले सचेत छौं । जबसम्म अनलाइन पोर्टल, सोसियल मिडियामा भाइरल हुने होडको नियमन र नियन्त्रण गर्न सक्दैनौं, तबसम्म हामीले सोचेको संस्कारको स्थापना गर्न पनि सक्दैनौं । नेपालगञ्जमा भएको संस्कृति, पर्यटन र नागरिक उड्डयनमन्त्री योगेश भट्टराईमाथिको आक्रोस संस्कारयुक्त भन्ने कि कुसंस्कारयुक्त भन्ने ? हतारमा धारणा बनाउने कुराले सभ्य र सुसंस्कारयुक्त समाजको निर्माण हुन सक्दैन । मन्त्रीको कारणले हवाईजहाज उड्न ढिलाइ भएको हो भने त्यो ढिलाइको कारणले भएको क्षतिको कानूनी उपचारमार्फत् पूर्ति गर्ने उपाय सोच्नु चाहिँ उपयुक्त सोच अनि संस्कार हो । जनादेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्य भएका मन्त्री भट्टराईमाथिको गालीगलौजले कस्तो संस्कार र समाज अनि पिँढीको कल्पना गरिरहेका छौं त ?

सङ्घीय सरकारले विज्ञापनमा जुन ‘क्लिन फिड’ नीति ल्याउन खोज्दै छ, त्यसले हाम्रोजस्तो सङ्घर्षशील परम्परा भएका मिडियामा केही आशाको सञ्चार गरेको छ । यसले विदेशी च्यानल, युट्युबलगायत विभिन्न सामाजिक सञ्जालमा विज्ञापनमार्फत् बाहिरिने पैसालाई रोक्न सघाउ पु¥याउनेछ । त्यसको प्रत्यक्ष फाइदा सानो लगानीका सञ्चार उद्योगहरूलाई पुग्ने कुरामा दुईमत छैन ।

सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारसँग हामी निकै आशावादी छौं । कुनै पनि कुराको परिणाम तत्काल नहुन सक्छ । धान रोपेपछि पाक्न ३ महिना लाग्छ । विद्यार्थीलाई माथिल्लो कक्षा पुग्न १ वर्ष लाग्छ । तर हामी सरकारबाट तुरुन्त परिणामको अपेक्षा गरिरहेका हुन्छौं । तुरुन्त परिणाम नदेखिएपछि निराश हुन थाल्छौं र सरकारलाई गाली गर्न थाल्छौं । बितेको डेढवर्ष त सरकारलाई कानून बनाउनै लाग्यो, अझै पनि कतिपय योजना र आयोजनामा खर्चिनु पर्ने बजेटको झण्झटिलो प्रावधानलाई सहज बनाउने क्रममा सरकार छ । छिमेकी मुलुक चीन र भारतको निरन्तरको आर्थिक प्रगतिले हामीमा पनि आशा पलाउँदै गएको छ । नेपाल सरकारले बीआरआई, बिमस्टेकजस्ता छिमेकी मुलुकका कार्यक्रमहरूमा प्रतिबद्धता जनाउनुले र केरुङ–काठमाडौं रेलमार्ग र रक्सौल–काठमाडौं रेलमार्गप्रतिको प्रतिबद्धताले हाम्रो भविष्यका सुखद् आधारहरू तयार हुनेतर्फ सङ्केत गरिरहेको छ । यी सबै कुरामा हामी नकारात्मक वा सकारात्मक दुवै पाटोबाट विश्लेषणयुक्त सामग्री दिने प्रयास गरिरहेका छौं ।

१ नम्बर प्रदेश सरकारले पनि स्वच्छ, सुखी र समुन्नत प्रदेशको अवधारणा आफ्नो नीति तथा कार्यक्रममा अङ्गीकार गर्नुले प्रदेशवासीहरूका बीचमा आशाको सञ्चार जागृत भएको छ । विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल, बृहत् विराटक्षेत्रको घोषणा, मुख्यमन्त्री युवा उद्यमशीलता कार्यक्रम, मुख्यमन्त्री ग्रामीण सडक सुधार कार्यक्रम, चतरादेखि तुम्लिङटारसम्मको जलमार्गलाई सहज बनाउने प्रदेश सरकारका महत्वाकांक्षी र गौरवपूर्ण कार्यक्रम हुन् । नेपालको सबैभन्दा उच्च भाग सगरमाथा र सबैभन्दा होचो भाग केचना यसै प्रदेशको गौरव भएकाले प्रदेश सरकारले केचनादेखि सगरमाथाको आधारशिविरसम्म द्रुत सडक योजनालाई अघि बढाउने नीति तथा कार्यक्रममा उल्लेख हुनुले पनि अब विकासका ढोकाहरू खुल्न धेरै समय लाग्ने छैन भन्ने देखाएको छ । यी कुराहरूमा हामी आलोचनात्मक तवरबाट प्रदेश सरकारका हरेक काम कुराहरूलाई होष्टेमा हैंसे गर्दै अगाडि बढ्ने प्रतिबद्धता पनि व्यक्त गर्दछौं । विकासका सम्पूर्ण आयामहरू तयार हुनु भनेको हामी व्यवसायिक रूपमा स्थापित सञ्चारजगत्का पनि सम्भावनाहरू छन् भन्ने तर्फ आशावादी हुनु हो । जबसम्म उद्योग कलकारखाना र व्यवसाय, पर्यटन र कृषिमा अनि समृद्धिका विषयमा आशातीत प्रतिफल हात लाग्दैन, तबसम्म हाम्रो सञ्चार उद्यम पनि फस्टाएर जान सक्ने अवस्था हुँदैन । सञ्चारजगत् स्थायी प्रतिपक्ष हो भन्ने मान्यता भए तापनि सरकारका हरेक काम कुरामा नकारात्मक दृष्टिकोण मात्रै राख्नुपर्छ भन्ने हुँदैन । हामीले तय गरेका हालसम्मका कठिन आरोह अवरोहयुक्त यात्राले हामीलाई यिनै कुराहरू दिए, सिकाए जसले हामीलाई अझ उत्तरदायित्वपूर्ण भूमिकाका साथ अगाडि बढ्ने प्रेरणा र हौसला मिलेको छ ।

हामी तपाईंहरूलाई ब्लाष्ट टाइम्स www.blastkhabar.com अनि blastkhabar youtube बाट नियमित र निमेषभरमै परिपक्व र विश्लेषणयुक्त सामग्री पस्किँदै जानेछौं । जसले गर्दा तपाईंहरूको सूचना र समाचारको भोक मेटिने विश्वास लिएका छौं । ब्लाष्ट टाइम्समार्फत् हामी हरेक बिहान चियाको चुस्कीसँगै जम्काभेट गर्ने र www.balstkhabar.com अनि blastkhabar youtube बाट हरेक सूचना र समाचारको ‘अपडेट’ गराइरहने प्रतिबद्धता व्यक्त गर्दछौं । अन्तमा, हामीलाई हरेक पाइला पाइलामा साथ सहयोग र माया गर्नुहुने सबैमा पुनः आभार र कृतज्ञता प्रकट गर्दछौं । धन्यवाद ।

sig

 

 

 

किशोरकुमार कार्की
प्रबन्ध निर्देशक