धनकुटा/ धनकुटाको महालक्ष्मी नगरपालिका–१ चित्रेका नारद बहादुर कटुवाललाई यतिबेला एकछिन फुर्सद छैन । उनलाई १६ रोपनीमा लगाएको बन्दकोपी टिप्न भ्याइनभाइ छ । खेतभरी लगाएको बन्दकोपीले डाँडाकाँडा हरियाली देखिएको छ ।

‘विगतको वर्षहरूमा भन्दा यस पटक लगाएको कोपीको उत्पादन चाँडै भयो,’ बिक्री गर्न कोपी खेतबारीमा टिप्दै गरेका कटुवालले भने, ‘यस पटक एक महिना अगाडि कोपीको उत्पादन भयो । गर्मी बढेको करणले गर्दा पनि उत्पादन चाँडो भएको होला । गत असार महिनाको शुरूवातमा लगाएको कोपी २ महिनापछि उत्पादन बिक्री गर्ने तयारीमा रहेको उनले बताए ।

कोपी चाँडै उत्पादन भएकोले मूल्य पनि राम्रो पाएको उनी बताउँछन् । ‘खेतबारीमा व्यापारी कोपी खरिद गर्न आएका छन्,’ उनले भने, ‘तराइ क्षेत्रमा बर्खाले खोलामा आएको बाढीले तरकारी खेती नष्ट गरिदिएको छ । त्यही भएर पनि यस पटक भाउ राम्रो आएको हो ।’ यहाँका कृषकहरूले अहिले खेतबारीमा व्यापारीलाई प्रतिकेजी १६ रुपैयाँले बन्दकोपी बिक्री गर्दै आएको कटुवालले बताए ।

kopi2

धनकुटा र तेह्रथुम कापी खेतीको लागि पकेट क्षेत्रको रूपमा चिनिने गरेको छ । धनकुटाको छथरजोरपाटी गाउँपालिको सिधुवा, जोरपार्टी परेवाधि र महालक्ष्मी नगरपालिको मूर्तीढुङ्गगा, चित्रे र गुमाउनेमा सबैभन्दा बढी कोपी खेती हुने गरेको छ । यस क्षेत्रका सिंगा गाउँ नै तरकारी खेतीमा आवद्ध छन् । त्यस्तै तेह्रथुमको लागिगुरास नगरपालिमा सबैभन्दा बढी कोपी खेती हुने गरेको चित्रे बजार व्यवस्थापन समितिको अध्यक्ष समेत रहेका कृषक कटुवालले बताए ।

कृषक कटुवाल अकाशप्राप्त शिक्षक पनि हुन् । अवकाश भएपछि विगत १० वर्षदेखि तरकारी खेतिमा आवद्ध भएको उनी बताउँछन् । ‘सिजन अनुसारको तरकारी खेती व्यवसायिक रूपमा गर्दै आएको छु,’ उनी भन्छन्, ‘अहिले कोपीको सिजन हो । त्यसपछि मटर र आलुको खेती सुरु हुन्छ ।’ गत वर्ष १६ रोपनीमा ३० मेक्टिून कोपी उत्पादन भएको जानकारी दिदै उनले खर्च अटाएर ३ लाख रुपैयाँ आम्दानी भएको बताए ।

‘२१ रोपनीमा कोपी लगाउँदा गत वर्ष १ लाख २५ हजार रुपैयाँ खर्च भएको थियो,’ उनले भने, ‘ ३० मेक्ट्रिन उत्पादन भएको कोपी ४ लाख ५० हजारमा बिक्री भएको थिए ।’ यस पटक भाउ राम्रो आएकोले मुनाफा पनि बढी आर्जन हुने अपेक्षा राखेका छन् । उनका १० जनाको परिवार छ । परिवारनै तरकारी खेतीमा आबद्ध छन् । श्रीमती तुलसा सहित २ छोरा र बुहारीहरू सिजन अनुसार तरकारी उत्पादन गरी बिक्री गर्दै आएको कुटवाल बताउँछन् ।

यसरी सिजनअनुसार तरकारी खेती गर्ने कटुवामात्र होइनन् । यहाँ करिब ९ सय देखि १ हजार घर परिवार तरकारी खेतीमा गर्दछन् । धनुकोटाको महालक्ष्मी नगरपालिका घर भए पनि नगेन्द्रमणि पराजुलीले २१ रोपनीमा कोपी खेती पाँचथरको लागीगुरास नगरपालिका ४ चित्रेमा लगाएका छन् । धनकुटा र पाँचथरको सिमानामा चित्रे पर्दछ । त्यही भएका यहाँका कृषकहरू यता उत्ता तरकारी खेती गर्दै आएका छन् । कृषक पराजुलीले गत वर्ष पनि २१ रोपनीमा कोपी खेती गरेका थिए ।

kopi3

‘२ लाख रुपैयाँ खर्च गरेर लगाएको खेतीमा करिब ५० मेक्ट्रिन टन कोपी उत्पादन भयो र ५ लाखमा कोपी बिक्री भएको थियो,’ उनले भने । गत वर्ष खर्च कटाएर तीन लाख मुनाफा भएको उनले जानकारी दिए । यस वर्ष पनि राम्रो मुनाफा हुने उनले बताए । उनीहरूले तरकारी खेतीबाट छोरा राजलाई डिग्रीसम्म पठाएका छन् । २५ वर्षदेखि तरकारी खेती गर्दै पाएका पराजुलीलाई उनका श्रीमिति लिलाले साथ सहयोग गर्दै आएका छन् । ‘हामी दुवै जना तरकारी खेतीमा व्यस्त हुन्छौ,’कोपीमा गाढे रोगले सताएको जरा देखाउँदै लिलाले ब्लाष्टकर्मीलाई दुःखेसो सुनाउँदै भने,’ हेर्नुहोस् न ! गाढे रोगले कोपीको जरालाई आक्रमण गर्छ । गाढे रोग लागेपछि कोपीको मुल जरानै हुदैन् । जसले गर्दा मल सोच्न सक्दैन ।

त्यसपछि कोपी बढन पाउँदैन । ३/४ केजीको हुनुपर्ने कोपी केही त १ केजी पनि हुदैन ।’ गाढे रोगले कोपीमा देखा परेको स्थानिय सरकारलाई सुनाउँदा पनि अहिलेसम्म नियन्त्रणमा कुनै पहल कदमी हुन नसेको उनले बताइन् । गत वर्ष पनि कोपीमा यो गाढे रोग देखिएको कृषकहरू बताउँछन् ।

तेह्रथुम लागिगुरास नगरपालिका ४ चित्रेका कुमार मगरले तरकारी खेतीबाट धरानमा ११ धुर जमिन जोडेका छन् । उनले १० रोपनीमा कोपी खेती गर्दै आएका छन् । ‘यही कापी खेतीमाबाट राम्रो आम्दानी पनि भयो,’ उनले भने, ‘छोराहरूलाई राम्रोसँग उच्च शिक्षा पनि यही व्यवसायबाट गराउँदै आएको छु ।’ तरकारी खेतीबाट उनले कान्छो छारा सुसनलाई धरानमा कक्षा १२ मा पढाउँदै आएका छन् । उनका जेठा छोरा विदेशमा छन् । गत वर्ष १० रोपनीमा लगाएको कोपीबाट चार लाख आम्दानी भएको उनले बताए । ‘गत वर्ष १३ रुपैयाँले बिक्री गर्दा ४ लाख मुनाफा भयो,’ उनले भने, ‘यस पटकको उत्पादन भएको कोपीको मूल्य प्रतिकेजी १६ रुपैयाँ छ । आम्दानी बढ्ने अनुमान गरेको छु ।’

यहाँका किसानहरूले जापनबाट आयत भएको ‘याहुनेम’ जातका कोपीको विउ लगाउने गरेका छन् । १० ग्रामको एक प्याकेटमा १ हजार रुपैयाँ कोपीको विउ खरिद गर्दछन् । २० ग्राम कोपीको बिउले १ रोपनी खेतीमा पुग्ने कृषक बताउँछन् । उनीहरूले कोपीको बिउ राखेको एक महिनापछि रोप्न शुरु गर्दछन् । वैशाखमा नर्सरी गरिसकेर जेठदेखि असारसम्म खेतमा रोपी सक्नुपर्ने कृषक नगेन्द्रमणि पराजुलीले बताए । तीन महिनापछि उत्पादन बिक्री हुन्छ । भदौ देखि कार्तिसम्ममा कोपी बिक्री भइसक्ने उनीहरूको भनाइ छ ।

kopi

सिजनमा ६ करोडको कोपीको कारोबार
यहाँका कृषकहरूले उत्पादन भएको कोपी अधिकांश भारत निर्यात हुने गरको छ । थोरै मात्रमा धरान, विराटनगर र झापाको बजारहरूमा जाने गरेको तीन जिल्लाको कोपी खरिद गर्दै आएका व्यापारी लिल बहादुर काफ्ले बताए । उनले सिजनमा दैनिक ६० मेक्ट्रिन टन कोपी खरिद गरी नेपाल र भारतको विभिन्न बजारमा बिक्री गर्दै आएको जानकारी दिए ।

प्रत्येक वर्षको सिजनमा ५ देखि ६ करोडको कोपी खरिद गर्ने गरेको जानकारी दिए । उनले धनुकटा, तेह्रथुम र संखुवासभाका कृषकहरूले उत्पादन गरेको कोपी बारीमा पुगेर खरिद गर्दै आएका छन् । ‘यस वर्ष कोपी चाँडै उत्पादन भएको छ,’ उनले भने, ‘६ करोडको कारोबार गर्ने मेरो लक्ष्य छ ।’ गत वर्ष ३० लाख घाटा भएको उनले बताए । ‘यहाँबाट खरिद गरेको कोपी व्यापारमा मन्दी आयो,’ उनले भने, ‘तराइमा पनि उत्पादन बढी भएर होला । कोपीको भाउ पनि आएन ।

ट्रकमा कोपी पनि कुहिएर गत वर्ष घाटा खाइयो ।’ गत वर्ष भएको घाटा पनि यस वर्ष उठाउने लक्ष्य लिएर समयमै कृषकले उत्पादन गरेको कोपी बिक्रीको तयारी शुरु गरेको उनले बताए । कृषकले उत्पादन गरेको कोपी बारीमै प्याकिङ्ग गरी बाटोसम्म निकाल्न २० जना मजदुरलाई परिचालन गरेका छन् । ‘कृषकले कोपी काटेर बोरीमा छोडिदिन्छन्,’ उनले भने, ‘हामी मजदुर लगाएर ३० देखि ४० किलो सम्मको बोरामा प्याकिङ्ग बारीमै गर्दछौं ।

त्यसपछि ट्रकमा लोड गरेर बिक्री गर्न लैजान्छौं ।’ २५ लाख ८८ हजार २ सय ५९ हेक्टर क्षेत्रफल रहेको प्रदेश १ मा ३० दशवलप ९२ प्रतिशत खेतीयोग्य जमिन रहेको छ । जसमध्ये ८ लाख ४ हजार ४४ हेक्टरमा खेतीयोग्य जमिनमध्ये ८९.३८ प्रशित अर्थात् ७ लाख १५ हजार ४ सय २७ हेक्टरमा मात्र खेती हुने गरेको भूमि व्यवस्था तथा कृषि मन्त्रालय प्रदेश १ विराटनगरको अभिलेखमा उल्लेख छ ।