अहिले देशभर मौसम परिवर्तनसँगै गर्मी बढेको छ । अत्यधिक तापक्रम, धुलो, धुँवा र प्रदूषित वातावरणको कारण गर्मीयाममा स्वास्थ्यमा नकरात्मक असर पर्ने गर्छ ।

गर्मी बढेसँगै अहिले खासगरी छालासँग सम्बन्धित समस्याहरू, भाइरल ज्वरो, रुघाखोकी, टाइफाइड ज्वरो, पेट दुख्ने, झाडापखाला, बान्ता हुने, फुड पोइजन जस्ता स्वास्थ्य समस्या बढेका छन् । प्रायःजसो यस्ता समस्याहरू अस्वस्थकर खानपान र बानी व्यहोराका कारण हुनेगर्छन् । कहिलेकाहीँ सामान्य जस्तो लागेर बेवास्ता गर्दा यस्ता समस्याले ज्यानै खतरामा पुर्याउन सक्छ । यी समस्याबाट बच्न निम्न सावधानी अपनाउनु जरुरी देखिन्छ ।

१. हाइड्रेसन मेन्टेन अनिवार्य
उमालेर सेलाएको शुद्ध पानी प्रशस्त पिउनुहोस् । कोल्ड ड्रिंक्सलाई सकेसम्म त्याग्नुस् । यसले शरीरमा झनै डिहाइड्रेसन गराउँछ । घरमा, काममा वा अफिसमा पानी पिउन कन्जुस्याइँ नगर्नुहोस् । लस्सी, मही तथा सन्तुलित सर्वत पानी पिउनु पनि उपयोगी हुन्छ तर स्वास्थ्यकर हुनुपर्यो ।

२. जङ्क फुड त्याग्नुस्
जङ्क फुड प्रायः सबै मौसममा हानिकारक नै हुन्छ । झन् गर्मीमा जङ्क फुड त टाइफाइड ज्वरो, पेट दुख्ने, झाडापखाला, बान्ता हुने, फुड पोइजन जस्ता मौसमी सरुवा रोगको प्रमुख कारण नै हो । खानेकुराको सवालमा कुरा गर्दा खाना स्वास्थ्यकर, सफा र यसको भण्डारण पनि स्वस्थकर ढङ्गबाट भएको हुनुपर्छ । रोगी, बालबालिका र वृद्धहरूको रोगप्रतिरक्षा शक्ति कमी हुने भएकोले यस्ता खानाको प्रयोगले तिनीहरू झनै पीडित हुन्छन् ।

३. स्किन केयर गर्नुस्
उच्च वातावरणीय ताप र घामबाट बच्न छाताको प्रयोगसँगै हातखुट्टा ढाक्नेगरी कटनको खासगरी सेतो रङ्गको कपडा प्रयोग गर्नुहोस् । बाहिर हिँडडुल गर्दा सन ग्लास प्रयोग गर्नुस् । चिकित्सकको सल्लाह अनुसार एन्टी सन प्रोटेक्सन क्रिमको प्रयोग गर्नुहोस् । याद गर्नुस्, बजार, फार्मेसी वा व्युटी पार्लरमा पाइने यस्ता क्रिम विना स्किन टेस्ट प्रयोग गर्नु हँुदैन किनभने यस्ता क्रिमले छालामा एलर्जिक रिएक्सन गरी कुरूप पनि बनाउन सक्छन् ।

४. स्वास्थ्यकर खानेकुरा खानुहोस्
सिजनेवल सागसब्जी, प्रशस्त फलफूल र झोलिलो खानेकुरा खानेकुरा खानुहोस् । चुरोट र मदिरा सेवनकर्ताको ज्यान गर्मीमा झनै जोखिममा हुन्छ ।

५. घर तथा वातावरणीय सरसफाइ अनिवार्य
अहिले देशैभरि डेङ्गु ज्वरोको प्रकोप बढेको अवस्था छ । घर वरिपरि सफा गर्न आवश्यक छ । लामखुट्टे र सर्पको टोकाइबाट बच्न वातावरण सफाइ गर्नुपर्छ । डेङ्गु गराउने लामखुट्टेले दिउँसो टोक्ने हुनाले लामखुट्टेको टोकाइबाट सधैं बच्नुपर्छ । साथै घरभित्र पानी जम्न दिनु हुँदैन ।

(धमला इटहरी अस्पतालका इमरजेन्सी इन्चार्ज हुन्)
साभारः स्वास्थ्यखबर