मधुमल्ला/ मोरङ मिक्लाजुङ गाउँपालिका–२, ६, ७ र ८ लाई सिंचाइ सेवा पुर्याउने नहर (कुलो) का मुहानहरू बक्राहा–नुनसरी खोलामा आएकोे बाढीले बगाउँदा सयौं उपभोक्ताहरूले हरेक वर्ष सास्ती व्यहोर्दै आएका छन् ।

दिगो र व्यवस्थित नहरको मुहान नहुँदा उपभोक्ताहरू त्यसको प्रत्यक्ष मारमा पर्नु परेको तोरीबारी संयुक्त सिंचाइ योजनाका अध्यक्ष शेरबहादुर बस्नेतले बताए ।

खोलाको भूगोल भिरालो भएको र तीव्र वेगका साथ नुनसरी बक्राहा खोलामा वर्षासँगै पानीको वेग आउने गरेकाले स्याउला र ढुङ्गाको प्रयोग गरी खोला थुनेको मुहान बगाउने गरेको योजना समिति सदस्य वासुदेव भण्डारीले बताए । अर्का स्थानीय उपभोक्ता नन्दकेशर अधिकारीले निरन्तर ४ दिनदेखि पैनी बनाउन थालेको बताए ।

मिक्लाजुङको वडा नं. २, ६, ७ र ८ का किसानहरूको यथार्थ पीडा हो । बक्राहा नुनसरी खोलाबाट कम्तीमा एक दर्जन बढी साना– ठूला गरी कुलोका मुहानहरू सञ्चालन हुँदै आएका छन् । चुरे पहाडको फेदी मिक्लाजुङ–२ र इलामको चुलाचुली गाउँपालिका वडा नं. ६ बाट मात्र करिब आधा दर्जन बढी कुलो सञ्चालन हुँदै आएका छन् । ती कुलोमार्फत् करिब सातसय हेक्टर जमिन सिंचाइ हुँदै आएको छ ।

६ वटा कुलोको मुहानलाई समेटी बृहत् योजना बनाई तोरीबारी संयुक्त सिंचाइ योजनाले उक्त स्थानमा चेक ड्याम बनाउने योजना सिंचाइ डिभिजन कार्यालय सुनसरीमा पेश गरे पनि हालसम्म आशलाग्दो कुनै काम नभएको तोरीबारी संयुक्त सिंचाइ योजनाका अध्यक्ष शेरबहादुर बस्नेतले बताए ।

यस्तेै खोला पश्चिमतर्फ वडा नं. २ र ६ का लागि नुनसरी, रचना, कालीदह सिंचाइ आयोजना सञ्चालनमा छ । उक्त सिंचाइ आयोजना पनि पूर्ण भने भएसकेको छैन तर उक्त योजनाका लागि पनि मुहानमा चेक ड्याम नभएकाले पानी उठाउन समस्या रहेको स्थानीय हेम कटुवालले बताए ।

उक्त योजनाले दुईवटा वडाका करिब ३ सय हेक्टर क्षेत्रमा सिंचाइ पुग्छ भने तोरीबारी संयुक्त योजनाले मिक्लाजुङको वडा नं. ७, ८ र इलामको चुलाचुली वडा नं. ६ का केही भू–भाग गरी करिब ४ सय हेक्टर जमिनमा सिंचाइ हुने स्थानीय अगुवा किसान लक्ष्मण अधिकारीले बताए ।

यी दुईवटा योजनाले मिक्लाजुङ गाउँपालिकाको करिब सात सय हेक्टर जमिनमा सिंचाइ हुन्छ । साथै सोही स्थानबाट तोरीबारी मधुमल्ला खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले खोनपानीसमेत सञ्चालन गर्दै आएको छ । तर वर्षा शुरु भएसँगै बाढीले उक्त खानेपानी योजनासमेत बन्द हुँदै आएको छ ।