धरान /  हङकङ टापुलाई सन १९९७ जुलाई १ मा व्रिटिसले चिनलाई हस्तान्तरण गरेपछि शान्तिनको गोर्खा समेट्रीलाई चिनिया सरकारले डोजर लगाउला कि भन्ने त्रास बढेको थियो । तर चिनिया सरकारले गोर्खाको चिहानमाथि डोजर नचलाएर संरक्षण गर्नमा जोड दिएपछि उक्त स्थल हङकङबासी गोर्खालीका लागि मक्का मदिना जस्तै पवित्र भूमि भएको छ ।
गोर्खाहरुलाई आफ्ना पुर्खा स्मरण गर्न सहज पनि भएको छ । शान्तिनमा सन १९४८ देखिका गोर्खालीका चिहान रहेका छन् । हङकङ टापु बेलायतले चिनलाई हस्तान्तरण गरे पनि उक्त सेमेट्रीस्थल भने हालसम्म बेलायतको इतिहास र सरोकारसँग जोडिएकाले उसैको स्वामित्वमा राखेकाले हङकङ सरकारले संरक्षण गरर गोर्खालीको पुर्खाको इतिहास कायम राखेको गोर्खा सेमेट्री ट्रस्ट हङकङका अध्यक्ष रत्न खिम्दिङले बताए ।
आफ्नै कामले नेपाल आएका खिम्दिङले भने, ‘शान्तीनस्थित सेमेट्रीमा करिव सातसय वटा गोर्खालीको समाधी रहेका छन् । समाधीस्थललाई हाल कमनवेल्थ ग्रेभ कमिसनले हेर्ने गरेको छ । स्थानीय स्तरमा हङकङ सरकारको स्थानीय कमिटि र ट्रस्टले रेखदेख गर्ने गरेको छ ।’ त्यहा सन १९९७ जुलाई १ सम्मका गोर्खाका मृत सन्तानहरुमात्र समाधिस्त गरिएका छन् । उनकाअनुसार समाथीस्थलको क्षेत्रले चार विगाह क्षेत्रफल ओगटेको छ । त्यही समाधी स्थल भएकाहरुको आफन्तहरु पनि हङकङमा छन् । नानीहरु मृत्यु भएका भए उनीहरुका बाबु आमाको नाम र सैनिक भएर नाम, उमेर, पल्टन र दर्जा, जन्म र मृत्यु उल्लेख गरेर समाधी स्थल बनाइएको छ ।
उनले भने, ‘सन १९९७ पछि हङकङ जन्मेको आधारमा गोर्खालीका सन्तानहरु आइडीमा बस्न थाले । यद्यपी व्रिटिस सेना भर्नाभएका गोर्खालीको तालिम केन्द्र सन १९७५ सालदेखि हङकङ राखियो । त्यो केन्द्र तत्कालिन मलाया (हालको मलेशिया)बाट सारिएको थियो । तिनै गोर्खालीका सन्तान कतिपय हङकङमै वितेकाले उनीहरुको समाधी शान्तिनमा राखिएको हो ।’
संरक्षीत समाधी स्थल दुवै सरकारको दायित्वमा परेकाले संरक्षण गर्न सहज भएको उनले बताए । चीनले कति व्रिटीस क्याम्प, अरु अरुका भत्काएपनि गोर्खा सिमेट्री भत्काउन नसक्नुको अर्थ गोर्खालीको इतिहास, मुल्य मान्यतालाई सम्मान दिएको अध्यक्ष खिम्दिङले बताए । समाधीस्थलमा अधिकांस लिम्बु र राई शव राखिएका छन् । चिनिया सरकारले समाधीस्थल संरक्षणकालागि तीनजना कामदार नियुक्ती गरेको छ । उनीहरु दैनिक खट्ने र सरसफाइमा व्यस्त रहन्छन् ।
हङकङमा नेपालीहरु करिव ५० हजार देखि ६० हजारको संख्यामा अल्पसंख्यकको रुपमा बसेका छन् । उनीहरुले हरेक अप्रील ५ तारिखमा पर्ने पुर्खा दिवस मनाउने गरेका छन् । उक्त अवसरमा चिनिया तथा नेपाली विद्यार्थीहरुलाई गोर्खाको बारे जानकारी दिने सेमेट्रीमा गोर्खा टुर जाने, पुर्खाका बारेमा बुझ्ने, शैक्षिक भ्रमणको रुपमा सेमेट्रीमा कार्यक्रम राख्ने गरेका छन् ।
समेट्री ट्रस्टमा सचिव अमोद राई, कोषाध्यक्ष देवराज राई, सदस्यहरु मातृदीप राईलगायत रहेका छन् । सचिव आमोद राईले भने, ‘ट्रस्टले चाइल्ड वेल्फेयर स्किम हङकङसंगको सहकार्यमा हरेक बर्षको जनवरीमा पात्सीङ लेङमा गोर्खा ट्रेल व्लेजर रेश आयोजना गरेर आर्थिक संकलन गर्ने गरेको छ । प्रत्येक बर्षको अगस्तमा सिटी च्यालेन्ज रेश गर्दै आएको छ । चाइल्ड वेल्फेयर स्किमसंगकै सहकार्यमा लामा आइल्याण्डमा लामा फण्डे आयोजना गरेर संकलित रकम हङकङमा रहेका नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने, अनलाईन हाइयर डिप्लोमा स्कोलरशीप प्रदान गर्दै आएको छ ।’
उनले हङकङ सरकारले समेत गोर्खा सेमेट्री ट्रस्टले विगत दुय बर्षदेखिमात्र आयोजना गर्दै आएको गोर्खा ट्रेल व्लेजर रेसलाई प्रतिष्ठित कार्यक्रम मानेको बताए । सोही कार्यक्रम ब्रुनाई, सिंगापुर, बेलायत, मलेसियामा नेपालमा पनि क्रमश गर्दै जाने उनले बताए ।
पछिल्लो समयमा गोर्खा सेमेट्री ट्रस्टले हङकङको फेनलिङस्थित नेमलेस डा“डामा खुद रेसको तयारी गरिरहेको छ । खुद रेस १ सय २७ बर्ष लामो इतिहास बोकेको रेस हो । रेश १३ किलोटिरको दुरीको छ ।
ट्रस्टका प्रवक्ता समेतरहेका कोषाध्यक्ष देवराज राईले भर्खरै देखि गोर्खा सेमेट्री टस्ट एजुकेशन फण्ड पनि सुरु गरेको बताए । उनले संकलित रकमले जरुरत परेका नेपाली विद्यार्थीलाई छात्रवृत्तिकोरुपम वितरण गर्ने गरेको बताए । उक्त छात्रवृत्तिमा हाल आठ जना नेपाली विद्यार्थीले हाइयर तहमा पाइलट तालिम, युनिभर्सिटीमा अध्ययन गरिरहेको बताए ।
उनले भने, ‘ट्रस्टले करिव ९० मुलुकमा गोर्खालीको समाधी स्थल रहेको छ । ती समाधीस्थलमा प्रथम र दोश्रो विश्वयुद्धदेखि यताका अनेक युद्धमा प्रयोग भएर वीरगती प्राप्त गरेका गोर्खालीको शव छन् ।’ उनकाअनुसार ट्रस्टले पहिलो र दोश्रो विश्व युद्धमा मरेका गोर्खालीको विवरण सहितको दुइ संस्करणमा पुस्तक समेत निकालेको छ । नेपालमा पनि नेपाल महेन्द्र राईको संयोजकत्वमा गोर्खा सेमेट्रि ट्रस्ट गठन भएको छ । ट्रस्टले नेपालमा पनि चाडै नै च्यारिटीकालागि धरानमा पनि गोर्खा ट्रेल व्लेजर रेस गर्ने जनाएको छ ।