काठमाडौ / कतिपय नेताहरूले सार्वजनिक रूपमा सरकार र पार्टीप्रति 'असन्तुष्टि' व्यक्त गरिरहेका बेला शनिवार बसेको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले कुनै निर्णय गर्न नसकेको नेताहरूले बताएका छन् ।

जिल्ला इन्चार्जहरूको टुङ्गो लगाउने र राजनीतिक प्रतिवेदनबारे ठोस निर्णय गर्ने ठानिएको उक्त बैठकले कुनै निर्णय गर्न नसक्नुलाई कतिपयले पार्टीभित्र थप मतभेदहरू बढेको हुनसक्ने रूपमा अर्थ्याएका छन्। पार्टी नेताहरूले चाहिँ प्रधानमन्त्री एवम् एकजना अध्यक्ष केपी शर्मा ओलीको समय अभावका कारण शनिवार कुनै निर्णय हुन नसकेको बताए।

सहभागी नेताहरूका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा ओलीले आफ्नो युरोप भ्रमणबारे जानकारी दिए। त्यस्तै अर्का अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदनलगायतका विषयमा जानकारी गराएका थिए। नेता झलनाथ खनालले बैठकपछि भने, ‘बैठकमा खासै केही निर्णय भएन। तर आगामी बैठकहरू एजेन्डामा आधारित भएर बस्नुपर्छ भन्ने चाहिँ निर्णय भयो।’ उनले प्रधानमन्त्री ओली मुस्लिम समुदायको एउटा कार्यक्रममा जानै पर्ने भएकाले समय अपुग भएको जानकारी दिए।

नेकपाका महासचिव विष्णु पौडेलले पनि बैठकले दुईवटै विषयमा निर्णय नगरेको बताए। उनले भने,‘पार्टीको राजनीतिक प्रतिवेदन सम्पादन अध्यक्षहरूले गरिरहनु भएको छ। त्यसलाई जतिसक्दो सकेर शीघ्र प्रकाशित गर्ने एउटा निर्णय भएको छ।’ उनका अनुसार पार्टी एकीकरणको सबै प्रक्रियाहरू सम्पन्न गर्न जिल्लास्तरीय नेतृत्त्व सहितको कार्य विभाजनबारे सम्पूर्ण गृहकार्य गरेर अर्को बैठक बस्ने पनि निर्णय भएको छ।

पालोमै नपरेको ‘आलोपालो’

प्रचण्डले केही साताअघि सरकारको नेतृत्व आलोपालो गर्ने भनी गरिएको सहमतिको प्रसङ्ग उठाएपछि त्यसले पार्टीभित्र निकै तरङ्ग उत्पन्न गरेको थियो। ओलीनिकट कतिपय नेताहरू उक्त सहमतिले पार्टीमा औपचारिक प्रवेश नपाएको भन्दै त्यसलाई त्यति महत्त्व दिन आवश्यक ठान्दैनन्।

उक्त बैठकमा मन्त्रिपरिषद् पुनर्गठन र अध्यक्षहरूको आलोपालोबारे कुराकानी नभएको पौडेलको दाबी छ। उनले भने,‘बाहिर केके हल्ला हुनसक्छ। त्यो बैठकको एजेन्डा त बन्दैन नि१ हामी बैठककै विषयमा केन्द्रित भयौँ।’ उनले मन्त्रिपरिषद् पुनर्गठन वा विस्तारको विषय प्रधानमन्त्रीको स्वविवेकीय अधिकार भएको बताए।

अध्यक्षता ओलीकै
कतिपयले पार्टी एकता घोषणा गर्दाको सहमतिविपरीत बैठक सञ्चालन पनि ओलीले नै मात्र गर्दै आएको बताउने गरेका छन्। बैठकको अध्यक्षता गर्ने पालो पनि नपाउँदा प्रचण्डको भूमिका उपाध्यक्ष वा ओलीको सहायकको जस्तो देखिएको टिप्पणी पनि प्रचण्डनिकट नेताहरूको पाइन्छ। प्रचण्ड स्वयम्‌ले पनि आफ्नो भूमिका परिभाषित हुनुपर्ने धारणा व्यक्त गरेका थिए। तर शनिवारको बैठकमा सहभागी नेताहरूका अनुसार बैठकको अध्यक्षता ओलीले नै गरे र अध्यक्षताबारे कुनै प्रश्न पनि उठेन।

माझियो मन
केही समययता दुई अध्यक्षबीच जिम्मेवारी बाँडफाँटलाई लिएर मतभेद रहेको समाचार आइरहेका थिए। तर नेताहरूका अनुसार शनिवार दुवै अध्यक्षहरूले आ(आफ्ना मतहरू खुलेरै राखेका थिए। दुवै अध्यक्षले पछिल्लो राजनीतिक घटनाक्रमबारे पनि शनिवार आफ्ना धारणा राखेका थिए।

तर शनिवार पनि उक्त बैठकले कुनै निर्णय गर्न नसक्नुले भने पार्टीभित्र मतभेद बढिरेको हुनसक्ने देखिएको नेकपाकै कतिपय नेताहरूको धारणा छ। ओलीनिकट नेताहरूबाहेक अरूले उनको ुएकलौटी ढङ्गले चल्ने प्रवृत्तिुले पार्टीमा मतभेदहरू बढिरहेको ठान्ने गरेका छन्। शनिवारै राजधानीमा आयोजित एक कार्यक्रममा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले पनि त्यस्तै सङ्केत गरेका थिए।

उनले आफ्नै पार्टी नेतृत्त्वको सरकार र पार्टीको नेतृत्त्वप्रति सङ्केत गर्दै ूआत्मसमीक्षा गर्नुपर्नेू बताए।

रूपचन्द्र विष्टको २० औँ स्मृति दिवसको कार्यक्रममा उनले ‘समयले माग गरेबमोजिम आफूहरूले भूमिका निर्वाह गर्न सकेका छौँ कि छैनौँ भनेरआत्म समीक्षा गर्नुपर्ने’ भनेका हुन्।

उनले भने, ‘यदि सकिरहेका छैनौँ भने व्यापक छलफल र बहसहरू गर्नुपर्ने आवश्यकता पनि छ।’