दमक/ शरणार्थी शिविरमा रहेका अधिकांश अमेरिकालगायतका देशमा पुनर्वास भएपछि अहिले धेरै वृद्धवृद्धा सहाराविहीन बन्न पुगेका छन् । 
 
त्यहीमध्येका लीलाधर आचार्य एक हुन् । ७० वर्षीय आचार्य सन् १९९२ मै भुटानबाट भागेर सपरिवार नै नेपालमा शरण लिन आइपुगे ।  ९ जनाको परिवारले शिविरको नियमानुसार शरणार्थी फारम भरेर परिचय प्राप्त गरे । ‘परिचय प्राप्त गर्दा हामी खुशी थियौं’ –उनले भने । क्याम्पबाट आउने रासनपानीले नै बिहान–बेलुकाको छाक टथ्र्यो । तर, केही वर्षपछि शिविरमा रहेकालाई तीनवटा प्रस्ताव आएको उनी स्मरण गर्छन् । ‘पहिलो भुटान फर्कने, दोस्रो नेपालमै बस्ने र तेस्रो तेस्रो मुलुक पुनर्वासमा जाने’ –विगत स्मरण गर्दै उनी भन्छन् । 
 
उनका अनुसार यो प्रस्तावले क्याम्पमा हल्लीखल्ली भयो । तीनवटै प्रस्तावबारे चर्चा भयो । चिया गफदेखि छाप्रा–छाप्रामा चर्चा हुन्थ्यो । अधिकांश पुनर्वासका लागि तयार भए । केही मात्रै देश (भुटान) फर्किन तयार भए । त्यहीमध्येमा आफू एक भएको आचार्य बताउँछन् । अहिले पनि उनको चाहना देश नै फर्किनेछ ।
 
आफ्नै जन्मभूमिमा प्राण समर्पण गर्ने सोच छ । तर, उनीबाहेक सपरिवार पुनर्वास अन्तर्गत विभिन्न देशमा छन् । परिवारका सदस्य पुनर्वास गएको बेग्लै कथा उनीसँग छ । ‘परिवारका हरेक सदस्यलाई आफ्नै देश फर्कनु पर्छ भन्ने कुरामा सम्झाउँदै थिएँ’ उनी भन्छन्, ‘तर, ती सबैलाई जाने बेलामा काठमाडौंमा तालिम छ भनेर झुक्याएर लगियो । पुनर्वासमा जबर्जस्ती पठाइयो ।’ 
 
उनलाई लाग्छ, यो विषयमा क्याम्पले उनीमाथि ठूलै अन्याय गरेको छ । भुटान फर्किने मानसिकता बनाइरहेका बेला क्याम्पले जालझेल गरेर पुनर्वास पठाएको उनको बुझाइ छ । भुटान फर्किने भन्दै बसेका आचार्य अहिले छाप्रोमा एक्ला छन् । भनेको बेलामा तातो पानी दिनेसम्म छैनन् ।
 
‘७० वर्षको म बूढो मान्छे, आज हो कि भोलि कुनै टुङ्गो छैन’ उनी भन्छन्, ‘डाँडामाथिको घामजस्तै भइसकेँ । अहिले म बिरामी भएँ भने तातोपानी तताएर दिनेसमेत कोही छैनन् ।’