विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको दोस्रो कार्यकालका लागि अध्यक्षमा राजेन्द्र राउत निर्वाचित भएका छन् । विराटनगरमा आइतबार राति सम्पन्न महासंघको ८ औँ प्रदेशसभाबाट राउत भारी मतान्तरले विजयी भएका हुन् ।
अध्यक्षका लागि भएको प्रतिस्पर्धामा राउतले आफ्ना निकटतम प्रतिद्वन्द्वी, विराटनगरकै उद्योगी एवं महासंघका केन्द्रीय सदस्य नवीन रिजाललाई ८४ मतान्तरले पराजित गरे । कुल खसेको मतमध्ये राउतले १४२ मत प्राप्त गर्दा रिजालको पक्षमा ५८ मत मात्र खस्यो ।
यसअघि तीन वर्षअघि झापामा भएको निर्वाचनमा निर्विरोध चुनिएका राउत शिवम् अर्गनाइजेसनका अध्यक्ष तथा महासंघ कोशीका संस्थापक अध्यक्ष हुन् । उनको कार्यकालमा हाल प्रदेश कार्यालय भवन निर्माण भइरहेको छ ।
निर्वाचनको मत परिणाम अनुसार राउतले सबै क्षेत्रमा रिजाललाई निकै पछाडि पारेका छन् । वस्तुगततर्फ राउतले ११ मत पाउँदा रिजालले ६ मत पाए । जिल्ला–नगरतर्फ राउतले २४ मत ल्याउँदा रिजालले १३ मत ल्याए भने एसोसिएट्सतर्फ राउतले १०७ मत ल्याउँदा रिजालले ३९ मत पाए ।
महासंघ कोशीको नयाँ कार्यसमितिमा राउतको प्यानलै निर्वाचित भएको छ । अध्यक्षबाहेक अन्य ४ जना पदाधिकारीहरू यसअघि नै निर्विरोध निर्वाचित भइसकेका थिए, जो सबै राउत समूहका हुन् ।
निर्विरोध निर्वाचित हुने पदाधिकारीहरूमा जिल्ला–नगर उपाध्यक्षमा ऋषिराज तिम्सिना, वस्तुगत उपाध्यक्षमा राजन श्रेष्ठ, एसोसिएट्स उपाध्यक्षमा रविनकुमार दाहाल र कोषाध्यक्षमा श्रवणकुमार अग्रवाल रहेका छन् ।
त्यसैगरी, सदस्य पदका लागि भएको निर्वाचनमा पनि राउत पक्षकै वर्चस्व रहेको छ । जिल्ला–नगर सदस्यतर्फ कृष्णप्रसाद रिजाल, राजु ढुंगाना राजीव, जयप्रकाश शर्मा, हर्कबहादुर श्रेष्ठ र नवीनकुमार चौधरी निर्वाचित भएका छन् । वस्तुगततर्फबाट सुवास आचार्य र दीपक पाण्डे विजयी भए । एसोसिएट्स सदस्यमा देवकीनन्दन अग्रवाल र भविशकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।
महासंघ कोशीमा जिल्ला–नगरबाट ३८, वस्तुगतबाट १९ र एसोसिएट्सबाट १४८ गरी कुल २०५ जना मतदाताले मतदान प्रक्रियामा सहभागी भएका थिए । यो जितसँगै राउतले कोशी प्रदेशमा निजी क्षेत्रको नेतृत्वलाई थप सुदृढ बनाउने संकल्प गरेका छन् ।

































