विजयपुर । धरान–१६ स्थित युएन नवोदय कलेजले १६ औँ वार्षिकोत्सव तथा बिदाइ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृतसमेत गरेको छ ।

शनिबार धरान–१५ स्थित चुम्लुङ भवनमा आयोजित वार्षिक उत्सवमा कक्षा–१२ बीएचएम र विज्ञान विषयका विद्यार्थीलाई बिदाइ गरेको हो । समारोहमा विधागत र उत्कृष्ट वर्ष विद्यार्थीलाई पुरस्कार प्रदान गरेको क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापोले जानकारी दिए । कलेजले उत्कृष्ट वर्ष विद्यार्थी–२०८२ बाट विषयगततर्फ विद्यार्थीलाई सम्मान गरेको छ । सम्मानित हुने कक्षा–१२ का विद्यार्थीहरूमा विज्ञान विषयतर्फ प्रशन श्रेष्ठ, व्यवस्थापनतर्फ प्रतीक्षा राई, कम्प्युटर विज्ञानतर्फ रेशिका शर्मा र होटल व्यवस्थापनतर्फ सलिना राई हुन् । कलेजले शैक्षिक सत्र २०८२ का लागि विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई समेत वर्ष विद्यार्थी पुरस्कार प्रदान गरेको थियो ।

कलेजले आयोजना गरेको समारोह विद्यार्थीहरूको अनुशासन, सरसफाइ, नियमितता र सामाजिक सक्रियता जस्ता पक्षलाई आधार मान्दै सम्मान प्रदान गरिएको जनाएको छ । कलेजले छात्र र छात्रा दुवै समूहमा छुट्टाछुट्टै विधामा अवार्ड वितरण गरेको थियो । युएन नवोदय कलेजले विद्यार्थीको बहुआयामिक क्षमतालाई कदर गर्दै १० वटा फरक शीर्षकमा अवार्ड प्रदान गरेको जनाएको छ । जसअन्तर्गत अनुशासन विधामा छात्रतर्फ रविन्द्रकुमार श्रेष्ठ र छात्रातर्फ विनिता घिमिरेले ‘मोस्ट डिसिप्लिन्ड स्टुडेन्ट’ को उपाधि प्राप्त गरे ।

उनीहरूले वर्षभरि कलेजको नियम पालना र मर्यादित आचरण प्रदर्शन गरेकोमा सम्मान दिइएको हो । त्यस्तै, कलेजले विद्यार्थीको व्यक्तित्व र सरसफाइलाई ध्यान दिँदै ‘वेल ग्रुम्ड स्टुडेन्ट’ अवार्ड अङ्कित विश्वकर्मा र कामना तामाङलाई प्रदान गरेको छ । कलेजको वातावरण र पेशागत मर्यादा सुहाउँदो पोसाक तथा प्रस्तुतीकरणमा उनीहरू उत्कृष्ट ठहरिएको कलेजले जनाएको छ । हस्पिटालिटी विधामा रिन्चेन तामाङ र जेसिका अधिकारीले आफ्नो कौशल प्रदर्शन गर्दै ‘बेस्ट स्टुडेन्ट’ को अवार्ड हात पारे । पर्यटन र आतिथ्य सत्कारको क्षेत्रमा उनीहरूको व्यवहार र दक्षता प्रशंसनीय रहेको कलेजले जनाएको छ ।

सहकार्य र सहयोगी भावनाका लागि ‘को–अपरेटिभ स्टुडेन्ट’ विधामा लाजाम कुरुम्बाङ र बेबिका चौधरी सम्मानित भए । उनीहरूले शिक्षण सिकाइ र सामूहिक क्रियाकलापमा देखाएको सहयोगी भूमिकाको कदर गरेको हो । वर्षभरि कलेजमा सबैभन्दा बढी उपस्थित हुने ‘मोस्ट रेगुलर स्टुडेन्ट’ विधामा सलिना विश्वकर्माले अवार्ड जितिन् भने सामाजिक कार्य र नेतृत्वमा सक्रिय रहेकी निर्विका भुजेलले ‘सोसल एक्टिभिस्ट स्टुडेन्ट’ को उपाधि पाइन् ।

यसैबीच बिएचएमतर्फ नयाँ भर्ना भएका विद्यार्थीहरूलाई सधैँका वर्ष झैँ यस वर्ष पनि ल्यापटप वितरण गरेको छ । विद्यार्थीहरूको अध्ययनअध्यापनमा सहज होस् भन्ने उद्देश्यका साथ ल्यापटप वितरण गरिँदै आएको प्रमुख तुम्बापोले जानकारी दिए । सूचना प्रविधिको उच्चतम् प्रयोग गरेर विद्यार्थीहरूले आफ्नो ज्ञानको विस्तार गर्न सकून् भन्ने उद्देश्यले ल्यापटप दिँदै आएको हो ।

त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन लिएको युएन कलेजले वर्षमा ३३ जना विद्यार्थीहरूलाई भर्ना दिँदै आएको छ । कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख अइन्द्रविक्रम बेघा, कलेजका अध्यक्ष एवम् प्रबन्ध निर्देशक ज्ञानेश्वर झा, क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापो, नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष सन्तोष काफ्लेलगायतले पुरस्कार तथा ल्यापटप हस्तान्तरण गरेका थिए । कार्यक्रममा विद्यार्थीहरूले विभिन्न नृत्य तथा गायन प्रस्तुत गरेका थिए ।