विराटनगर । यातायात व्यवस्था कार्यालय विराटनगरका अधिकृतको सरकारी छाप र हस्ताक्षर आफैले कीर्ते गरेर सवारीको ब्लुबुक नवीकरण गर्ने एक बिचौलिया पक्राउ परेका छन् ।
सरकारी कागजात कीर्ते गरी सर्वसाधारणलाई ठगी गरेको आरोपमा प्रहरीले विराटनगर–६ का ३७ वर्षीय कमलकुमार स्वर्णकारलाई नियन्त्रणमा लिएको हो । विराटनगर–४ खार्जीस्थित यातायात कार्यालय परिसरमै लेखापढीको काम गर्दै आएका स्वर्णकारले सेवाग्राहीबाट राजस्वबापतको रकम असुल्ने तर कार्यालयमा दाखिला नगरी आफैले नक्कली छाप र हस्ताक्षर प्रयोग गरी नवीकरण गर्ने गरेको खुलेको छ । चैत १६ गते को ३९ प ९५७९ नम्बरको मोटरसाइकलको ब्लुबुकमा सरकारी छाप र छैटौं तहका अधिकृतको दस्तखत कीर्ते गरेको फेला परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रहरीले स्वर्णकारलाई चैत १६ गते दिउँसो पक्राउ गरेको हो । मोरङ प्रहरीका अनुसार, स्वर्णकारले सेवाग्राहीसँग राजस्वको मोटो रकम बुझ्ने र नवीकरणका लागि लगिएको सवारी दर्ता किताब (ब्लुबुक) मा आफैले अधिकृतको नक्कली दस्तखत र छाप ठोकेर दिने गरेका थिए । “राजस्व आफैले राख्ने र ब्लुबुकमा कीर्ते छाप लगाउने गरेको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले उनलाई नियन्त्रणमा लिएको हो” मोरङ प्रहरीका प्रवक्ता डिएसपी लीलाराज लामिछानेले भने, “ब्लुबुकमा सरकारी छाप र हस्ताक्षर कीर्ते गरेर सम्बन्धित सवारी धनीलाई फिर्ता गरेको पत्ता लाग्यो ।”
उनका अनुसार अन्य सेवाग्राहीहरूले नवीकरणका लागि बुझाएका विभिन्न सवारीसाधनका दर्ता किताबहरूमा समेत नक्कली छाप र दस्तखत कीर्ते गरेर स्वर्णकारले ठगी गरेको सूचना प्रहरीलाई प्राप्त भएको थियो । खानतलासीका क्रममा स्वर्णकारको साथबाट थप ११ थान सवारी दर्ता किताबसमेत बरामद गरिएको छ । ती ब्लुबुकहरू पनि कीर्ते प्रक्रियामै रहेको हुनसक्ने प्रहरीको अनुमान छ । पक्राउ परेका स्वर्णकारमाथि मोरङ जिल्ला अदालतबाट म्याद थप गरी ठगी र सरकारी कागजात कीर्ते मुद्दामा विस्तृत अनुसन्धान भइरहेको छ ।
प्रहरीले स्वर्णकारलाई ब्लुबुक नवीकरणका लागि जिम्मा दिएका अन्य सेवाग्राहीहरू पनि ठगिएको हुनसक्ने भन्दै उनीहरूलाई तत्काल सम्पर्कमा आउन र आफ्नो ब्लुबुकको आधिकारिकता जाँच गर्न अनुरोध गरेको छ । यातायात कार्यालयजस्तो संवेदनशील सरकारी निकायको छाप र अधिकृतको हस्ताक्षर नै बिचौलियाको हातबाट कीर्ते हुनुले सुरक्षा र निगरानीमाथि समेत प्रश्न उठाएको छ ।
































