विराटनगर । सिटीजन्स बैङ्कको करोडौँ रकम हिनामिना प्रकरणमा जोडिएकी कर्मचारी फरार भएपछि त्यसको बाछिटा उनको परिवारमा पर्न थालेको छ ।

बैङ्कको रकम अपचलन गरेको आरोप लागेकी रोजी कँडेलका बुबा राजन क्षेत्री कँडेलले मिटरब्याजी समूहले आफू र परिवारलाई ज्यान मार्ने धम्की दिएको भन्दै प्रहरीमा उजुरी दिएका छन् । विराटनगर–१२ का ६१ वर्षीय यातायात व्यवसायी कँडेलले शुक्रबार जिल्ला प्रहरी कार्यालय मोरङमा ५ जनाविरुद्ध ‘अनुचित लेनदेन’ (मिटरब्याज) मुद्दामा किटानी जाहेरी दिएका हुन् । जाहेरीमा विराटनगरका एजाज अहमद, विष्णुकुमार साह, आशिष निरौला, भोलेनाथ गुप्ता र प्रवीन जैनलाई प्रतिवादी बनाइएको छ ।

कँडेलका अनुसार छोरी रोजी फरार भएपछि उक्त समूहले उनको घरै घेराउ गरेर ५ करोड ६० लाख रुपैयाँ माग गर्दै मानसिक आतङ्क सिर्जना गरेको छ । “एउटा सामान्य व्यवसाय गरेर खाइरहेको मान्छेलाई यो समूहले सडकमै ल्याइदिएको छ” कँडेलले जाहेरीमा भनेका छन्, “हामीले हस्ताक्षर नै नगरेका र कुनै लेनदेन नै नभएका नक्कली चेकहरू देखाएर परिवारका सदस्यलाई नै गायब पारिदिने धम्की दिइएको छ ।”

के हो बैङ्क प्रकरण ?
विवादको चुरो सिटीजन्स बैङ्कको कञ्चनबारी शाखाबाट सुरु हुन्छ, जहाँ रोजी कँडेल कर्मचारीका रूपमा कार्यरत थिइन् । रोजीमाथि १३ जना नक्कली ऋणी खडा गरी ४ करोड ९१ लाख रुपैयाँ रकम अपचलन  गरेको गम्भीर आरोप छ । बैङ्कले दिएको उजुरीका आधारमा प्रहरीले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरिसकेको छ, तर रोजी हाल फरार छिन् ।

रोजी फरार भएलगत्तै उनीसँग वित्तीय कारोबार रहेको दाबी गर्ने समूहले बुबा राजनमाथि दबाव बढाएको हो । कँडेलका अनुसार उक्त समूहले उनकी श्रीमती र छोरा–बुहारीका ६–७ वटा चेकहरू कब्जामा राखेको छ । “छोरी बैङ्कमा हुँदा उसैमार्फत् ती चेकहरू उनीहरूको हातमा पुगेको हुनसक्छ, तर हामीले कुनै लेनदेन गरेका छैनौँ”–कँडेलले दाबी गरे ।

आरोपितको दाबीः ‘यो व्यक्तिगत लेनदेन हो’
यता, जाहेरीमा नाम उल्लेख गरिएका व्यक्तिहरूले भने आफूहरू मिटरब्याजी नभएको दाबी गरेका छन् । जग्गा व्यवसायी आशिष निरौलाले रोजीसँग जग्गा लगानीका लागि ७०–८० लाख रुपैयाँको व्यवहार रहेको र सोही पैसा माग्न जाँदा आफूहरूलाई फसाउन खोजिएको बताए । “हामीले मिटरब्याजमा पैसा दिएका होइनौँ, आफ्नै पैसा फिर्ता माग्न गएका हौँ”–उनले भने ।

अर्का आरोपित भोलेनाथ गुप्ताले आफूले आशिष निरौलालाई १० लाख रुपैयाँ दिएको तर कँडेल परिवारसँग सिधा सम्बन्ध नरहेको बताए । यस्तै विष्णुकुमार साहले भने शुक्रबार राति नै सहमतिको प्रयास भइसकेको र व्यक्तिगत लेनदेनको विषयलाई राजनीतिकरण गर्न खोजिएको दाबी गरे । जाहेरी परेका एजाज अहमद र प्रवीन जैन भने सम्पर्कमा आएनन् ।

मोरङका प्रहरी प्रमुख एसपी कवित कटवालले मिटरब्याज र धम्कीको उजुरी परेकाले त्यसबारे सूक्ष्म अनुसन्धान भइरहेको बताए । “बैङ्क ठगी प्रकरणमा फरार रहेकी रोजी कँडेल पक्राउ परेपछि धेरै कुरा स्पष्ट हुनेछ” एसपी कटवालले भने, “अहिले परेको अनुचित लेनदेनको उजुरीका सम्बन्धमा दुवै पक्षलाई झिकाएर सत्यतथ्य बुझ्ने काम भइरहेको छ ।”