विजयपुर । कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले तावाभञ्ज्याङ क्षेत्र पर्यटनका दृष्टिले अत्यन्त सम्भावनायुक्त रहेको बताएका छन् ।
खोटाङको साकेला गाउँपालिका–३ खिदिमामा पर्ने तावाभञ्ज्याङको समग्र विकासका लागि प्रदेश सरकार गम्भीर रहेको उनले बताए । “मुन्दुम ट्रेलको प्रस्थान विन्दु तावाभञ्ज्याङ भएकाले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्ने निश्चित छ । साकेला गाउँपालिकाले अघि सारेको भिजनअनुसारका योजना कार्यान्वयन गर्न सके यो क्षेत्र मात्र होइन, समग्र देशको आर्थिक समृद्धिको प्रमुख आधार बन्न सक्छ,” उनले भने, “पहिलो पटक आयोजना गरिएको प्रतियोगिताले तावाभञ्ज्याङ क्षेत्रको पर्यटन प्रवद्र्धनमा नयाँ ऊर्जा थपेको छ । पर्यटन प्रवद्र्धनमा प्रदेश सरकार गम्भीर छ ।”
साकेला गाउँपालिका अध्यक्ष राईले नेपाल सरकारले १०० गन्तव्य सूचीमा समावेश गरेको मुन्दुम ट्रेलको सुरुआती विन्दु तावाभञ्ज्याङको अपेक्षित विकास हुन नसकेकामा चिन्ता व्यक्त गरे । “तावाभञ्ज्याङ क्षेत्रलाई पर्यटकीय हब बनाउने उद्देश्यले गाउँपालिकाले तावाताल निर्माण, धार्मिक बगैँचा तथा १३ जातजातिको सांस्कृतिक गाउँ स्थापना गर्ने विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिसकेको छ,” उनले भने, “तर, पटक–पटक केन्द्र र प्रदेश सरकारसँग माग गर्दा पनि यो क्षेत्र अझै ओझेलमा परेको छ । यसप्रति सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।” उनले थपे, “संस्कृति र पर्यटन कहिल्यै समाप्त नहुने सम्पदा भएकाले धार्मिक तथा सांस्कृतिक पर्यटनमार्फत आर्थिक समृद्धिको ठूलो सम्भावना हुन्छ । आगामी दिनमा यसतर्फ विशेष ध्यान दिन आग्रह गर्दछु ।”

तावाभञ्ज्याङ नजिकको चिण्डेपोखरी



































