विजयपुर । धरान उपमहानगरपालिकामा नगर अस्पताल नहुँदा स्वास्थ्य बिमा सेवा बञ्चित हुने अवस्था देखिएपछि नगर अस्पताल निर्माणको बहस सुरु भएको छ ।

आइतबार नागरिक तहबाट उपमहानगरपालिकामा अस्पताल निर्माणको विषयमा छलफल आयोजना गरिएको थियो । तर पहिलो छलफलमै कार्यवाहक नगर प्रमुख अइन्द्रविक्रम बेघा र स्थानीय नागरिक तथा सरोकारवालाबीच विवाद भएको छ । विवादको मुख्य जड धरान–१ छाताचोक स्थित पुरानो नगर अस्पतालको जग्गा स्वामित्व रहेको छ ।

सरोकारवालाहरूले सोही जग्गामा नगर अस्पताल पुनःस्थापना गर्नुपर्ने अडान राखेका थिए । तर कार्यवाहक प्रमुख बेघा उक्त विषयमा स्पष्ट देखिएनन् । उनले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. विक्रमप्रसाद श्रेष्ठसँग छलफल गरेको र प्रतिष्ठानले उक्त जग्गा नगरलाई फिर्ता नदिने अडान लिएको जानकारी गराएका थिए ।

जुनसुकै स्थानमा पनि जग्गा पाए अस्पताल निर्माण गर्न आफू प्रतिबद्ध रहे तापनि पुरानो अस्पतालमा अस्पताल निर्माण गर्न स्पष्ट नदेखिएपश्चात् बुद्धिजीवी डा. राजेन्द्र शर्माले भने, “मेयर सा’पको कुरा नगर अस्पतालको जग्गा कुनै पनि अवस्थामा फिर्ता आउन सक्दैन, तिमीहरूको अस्पताल निर्माण त्यहाँ हुँदैन भन्ने कुरा आयो त ।” उनले जग्गाको स्वामित्व फिर्ता ल्याउन उपकुलपतिसँग नभई मन्त्रालयबाट निर्णय आवश्यक पर्ने पनि सम्झाए । त्यसपश्चात् आक्रोशित बेघाले अन्य फेसबुक युट्युबमा आलोचना गरेका कुराको समेत स्पष्टीकरण दिन थाले । उनले जग्गा व्यवस्थापन पनि सरोकारवालाले नै गर्नुपर्ने अभिव्यक्तिसमेत दिए । उनले ‘म कहाँ जानुपर्छ जान्छु’ भन्ने अभिव्यक्ति दिए । तर सरोकारवालाले संस्थागतरूपमा नगरका का.वा. प्रमुखले नै पहल गर्नुपर्ने बताए ।

धरान–१६ स्थित पञ्चायत आधारभूत विद्यालयलाई ‘मर्ज’ गरी नगर अस्पताल बनाउने छलफल भइरहेको छ । यसअघि नै धरान उपमहानगरले विद्यालय क्षेत्रमा मापदण्डविपरीत ठूलो पार्टी प्यालेस सञ्चालनको अनुमति दिइसकेको छ । अर्थात् विद्यालयको १ सय मिटरभित्र मादक पदार्थ बेचबिखन गर्न नमिल्ने शिक्षा ऐनले व्यवस्था गरेको छ ।

शिक्षाक्षेत्रमा काम गर्ने सुनिल नेपालले फेसबुकमा “सञ्चालित स्कुलको १ सय मिटरभित्र मादक पदार्थ बेचबिखन गर्न नपाइने प्रचलित नियम उल्लङ्घन गर्दै होटल सञ्चालन गर्न दिएको विद्यमान अवस्थामा स्कुल नै बन्द गरिदिए । न रहे बाँस, न बजे बाँसुरी । अब कुन स्कुल बन्द गर्नु छ ? होटल सञ्चालन गर्दै गरौँ” लेखेका छन् । 

उक्त कुरामा वरिष्ठ पत्रकार हर्ष सुब्बाले पनि मसर्थन गरेका छन् । प्रचलित नीतिविपरीत विद्यालयको नजिक पार्टी प्यालेस सञ्चालन अनुमतिका विषयमा उक्त समयमा ब्लाष्टले समाचार प्रकाशित गरेको थियो । केही समय स्थगित गरी पुनः उक्त पार्टी प्यालेस सञ्चालनको अनुमति दिइसकेको छ । अस्पताल निर्माण गर्ने कुरा ल्याई विद्यालयको ऐतिहासिकता नै नामेट गर्ने कार्य हुन लागेपछि आलोचना भइरहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीकी कोशी प्रदेशकी कार्यवाहक सभापति गोमा तामाङ (शरीन) ले भनिन्, “इतिहास नामेट गरेर स्कुलको जग्गामा अस्पताल निर्माण गर्नु हँुदैन ।” 

बुद्धिजीवी डा. शर्माले पनि विद्यालयको जग्गामा अस्पताल निर्माण गर्न नहुने तर्क गरे । डा. शर्माले वि.सं. १९९२ सालमा नागरिक तहबाट स्थानीयबासीले निःशुल्क जग्गा प्रदान गरी पुरानो अस्पताल निर्माण भएको स्मरण गराए । २०७४ सालमा मन्त्रिपरिषद्को निर्णयमार्फत् उपमहानगरको नाममा रहेको उक्त जग्गा बीपी प्रतिष्ठानको नाममा नामसारी गरिएको थियो । रास्वपाकी नेतृ गोमा तामाङ (शरीन) ले नगर अस्पतालको टुङ्गो नलागेसम्म विनियोजित २ करोड रुपैयाँ कार्यान्वयन नगर्न आग्रह गरिन् । उनले पुरानो अस्पतालको जग्गा फिर्ता ल्याउन आफूले पनि पहल गर्ने बताइन् । अभियन्ता महेश श्रेष्ठले पनि पुरानो नगर अस्पतालको पुनःस्थापनाको माग दोहो¥याए ।

भेलामा सहभागी अधिकांशले पुरानो अस्पतालको ऐतिहासिक महत्वलाई ध्यानमा राख्दै सोही स्थानमा नगर अस्पताल निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । कार्यवाहक नगर प्रमुख बेघाले आगामी बैठक उपमहानगरपालिकाले आह्वान गर्ने र थप छलफल अगाडि बढाउने जानकारी दिए । साथै १५ दिनभित्र जग्गा उपलब्ध भए सरोकारवालाको मागअनुसार अस्पताल निर्माण प्रक्रिया अघि बढाइने बताए ।