विराटनगर । कोशी प्रदेशमा करिब पाँच वर्षमा आफन्तबाटै दुई सय दुई जनाले ज्यान गुमाएका छन् ।

प्रहरीको तथ्यमा ‘प्रेम, विश्वास र समर्पणबाट निर्मित सम्बन्धहरू क्षणिक आवेग, अविश्वास र शङ्काको भरमा’ बीभत्स हत्यामा परिणत भएको देखिएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको अभिलेखअनुसार विगत चार वर्ष आठ महिना (२०७८ साउनदेखि २०८२ फागुनसम्म) को अवधिमा आफन्तबाटै २ सय २ जनाको हत्या भएको छ । यी घटनाको अनुसन्धानका क्रममा प्रहरीले १ सय ७८ पुरुष र ४२ महिला गरी कुल २ सय २० जनालाई कानूनी कठघरामा उभ्याएको छ ।

तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७८/०७९ मा आफन्तबाटै ४१ जनाको हत्या भएको देखिएको छ । जसमा ३९ पुरुष र ६ महिला पक्राउ परेको देखिन्छ । २०७९/०८० मा ३८ वटा हत्याका घटनामा ३३ पुरुष र ९ महिला, २०८०/०८१ मा ४५ वटा हत्यामा ३५ पुरुष र ३ महिला पक्राउ परेका थिए । यस्तै २०८१/०८२ मा यो सङ्ख्या अझै बढेर ४९ पुग्यो । जसमा ५१ पुरुष र २१ महिला पक्राउ परे । चालु आर्थिक वर्ष २०८२/०८३ को फागुन मसान्तसम्ममा मात्रै २९ वटा यस्ता हत्याका घटना भइसकेका छन् ।

विचलन किन ?
सुरक्षा र हार्दिकताको केन्द्र मानिने घरपरिवार नै ‘असुरक्षाको केन्द्र’ बन्दै जानुमा बहुआयामिक कारणहरू रहेको सुरक्षा अधिकारीहरूको विश्लेषण छ । कोशी प्रदेश प्रहरी प्रमुख डिआईजी विनोद घिमिरेका अनुसार पारिवारिक किचलो, कुलत र प्रेममा हुने धोका नै अपराधका मुख्य कारक हुन् । “यस्ता हत्यामा आर्थिक, सामाजिक, मानसिक र यौनिक कारणहरू पनि जेलिएका हुन्छन्” डिआईजी घिमिरे भन्छन्, “अधिकांश हत्या आपसी विवाद र शङ्काबाट सुरु हुन्छन् । विशेषगरी श्रीमतीको हत्यामा दम्पतीबीचको अधिकार असन्तुलन र लैङ्गिक हिंसा मुख्य कारण देखिन्छ ।”

लागूऔषध र मदिराको सेवनले मानिसले विवेक गुमाउने र त्यसपछि हुने झगडाले हत्याको रूप लिने गरेको प्रहरीको अनुसन्धानको निष्कर्ष छ । मोरङ प्रहरी प्रमुख एसपी कवित कटुवालका अनुसार आवेग नियन्त्रण गर्न नसक्नु र आफन्तलाई नै आफ्नो उन्नतिको बाधक देख्नुले पनि यस्ता क्रूर घटना निम्त्याइरहेका छन् ।

समाजशास्त्री डा. डिल्लीराम प्रसाईं पारिवारिक संरचनामा आएको तीव्र बदलाव र व्यक्तिवादी सोचलाई यसको कारक मान्छन् । “अहिले मानिसमा ‘म र मेरो’ भन्ने सोच हाबी भएको छ । प्रविधिको दुरुपयोगले मानिसलाई एकाङ्की बनाएको छ” डा. प्रसाईं भन्छन्, “सामूहिकता र हार्दिकता हराउँदै जाँदा स–साना कुरामा पनि मानिसहरू चरम् क्रूर बन्न थालेका छन् ।” मनोविमर्शकर्ता मन्जिता उपाध्यायका अनुसार समाजमा व्याप्त दण्डहीनता र ‘जे गरे पनि हुन्छ’ भन्ने मानसिकताले घरभित्रै हिंसा बढाइरहेको छ । उनी भन्छिन्, “हिंसाको मुख्य कारण शक्ति र शक्तिहीनता बीचको खाडल हो । पितृसत्तात्मक सोच र ‘म श्रीमान् वा प्रेमी हुँ, मैले जे भन्यो त्यही हुनुपर्छ’ भन्ने अहङ्कारले गर्दा आफ्नै प्रियजनको ज्यान लिने स्थिति बनेको छ ।”

बेरोजगारी र आर्थिक असमानताले पनि यस्ता घटनालाई थप प्रश्रय दिएको विज्ञहरूको बुझाइ छ । नेपाल प्रहरीको पूर्व डिआइजी हेमन्त मल्ल ठकुरीले घरभित्रै हुने अपराध र मानिसमा बढ्दो आक्रोशमा सामाजिक सञ्जालको पनि केही भूमिका रहेको बताउँछन् । “सामाजिक सञ्जालका ‘अल्गोरिदम’ हरूले मानिसलाई झन् आक्रामक बनाइरहेका छन् । बेरोजगारी र प्रविधिले ल्याएको एकाङ्कीपनले पनि मानिसमा वितृष्णा र आक्रोश थपेको छ । यस्ता कुराहरूलाई कसरी नियमन र नियन्त्रण गर्ने भन्नेतर्फ राज्यले गम्भीर भएर सोच्न जरुरी छ”–उनले भने ।