विजयपुर । धरान उपमहानगरपालिकाका चार दर्जन सहकारी निष्क्रिय देखिएका छन् । चालु आर्थिक वर्षमा थप ७ सहकारी निष्क्रिय बनेको नगरको एकीकृत सूचना व्यवस्थापन प्रणाली (कोपोमिस) ले देखाएको छ ।
धरान उपमहानगरको एकीकृत सूचना व्यवस्थापन प्रणाली (कोपोमिस) मा आर्थिक वर्ष २०८१÷०२८ मा ४३ वटा सहकारी निष्क्रिय देखिएका छन् । चालु आर्थिक वर्षमा ५० वटा सहकारी निष्क्रिय देखिएका छन् । महालेखा परीक्षकको प्रारम्भिक प्रतिवेदनअनुसार ८७ वटा सहकारी संस्था सञ्चालनमा रहेकोमा २२ वटा सहकारीले कोपोमिसमा आफ्नो गतिविधि विवरण दाखिला नगरेको देखाएको छ ।
उक्त विवरणका आधारमा उपमहानगरको कोपोमिसमा हेर्दा अझै बढी ४३ वटा सहकारीले आफ्नो विवरण दाखिला नगरेको पाइयो । सहकारीको समष्टिगत प्रतिवेदन, मासिक वित्तीय विवरण र विविध प्रतिवेदन समयमा दाखिला नगरेपश्चात् कोपोमिसले सहकारीलाई निष्क्रिय भएको देखाउँछ । सहकारीले आफ्नो मासिक प्रतिवेदन प्रत्येक महिनाको ७ गते कोपोमिसमा दाखिला गर्नुपर्ने कानूनी प्रावधान छ । तर सहकारीले त्यस्ता कार्य गरेको पाइँदैन ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ तथा सहकारी ऐन, २०७४ को दफा ७३ अनुसार सहकारीले मासिक, चौमासिक, वार्षिक प्रतिवेदन बुझाउनु पर्ने व्यवस्था गरेको छ । यस्तै सहकारी नियमावली, २०७५ को नियम २८ (४) सहकारी संस्थाहरूको सुपरीवेक्षण, निरीक्षण तथा अनुगमन निर्देशिका, २०७८ को दफा ३ मा मासिक प्रतिवेदन प्रत्येक महिना ७ गतेभित्र एकीकृत सूचना व्यवस्थापन प्रणालीमा (कोपोमिस) मा दाखिला गर्नुपर्ने व्यवस्था गरेको छ ।
उक्त विवरणअनुसार पालिकाभित्रका ‘उपमहानगरपालिकाबाट आर्थिक वर्ष २०८१÷०८२ मा सहकारीहरूको अनुगमन गरेको देखिएन । अतः ऐन, नियमावली र निर्देशिका अनुसार प्रणालीमा विवरण दाखिला गर्न लगाई सोको प्रभावकारी अनुगमन गरी सहकारी बचत रकमको उपयोगको सुनिश्चितता गर्नुपर्दछ’ प्रतिवेदनमा भनिएको छ । उपमहानगरपालिकाले अनुमगन नगर्दा धरान नागरिकको करोडौं रुपैयाँ अपचलन भइरहेको छ । तर नगरको ध्यान सहकारी नियमन देखिँदैन ।
आर्थिक महाशाखा प्रमुख भक्तिराज शर्मा ४० देखि ४२ वटा सहकारी मात्र सञ्चालनमा रहेको बताउँछन् । उनले कृषि तथा पशुसँग सम्बन्धित सहकारी नचलेको हुनसक्ने अनुमान लगाए । तर यकिनका साथ भन्न सकेनन् । निष्क्रिय सहकारीलाई खारेजी गर्नका लागि पनि सहकारी सञ्चालकले बाँकी दायित्व भुक्तानी गर्नुपर्ने हुन्छ । उनले अनुगमन नगरेको विषयमा सबै कोपोमिसबाट नै हुने भन्दै पन्छिए । गत अर्थिक वर्षमा आफ्नो समष्टिगत प्रतिवेदन, मासिक वित्तीय प्रतिवेदनलगायतका सामग्री दाखिला नगर्ने सहकारीमा कुशल बचत तथा ऋण, चेलीबेटी बचत तथा ऋण, भरअभर बचत तथा ऋण, भानु पाथीभरा, अनमोल, सम्मान बचत तथा ऋण सहकारी, बिध्याधारी बचत तथा ऋण, सारथि, दर्शन बचत तथा ऋण, भविष्य बचत तथा ऋण रहेका छन् ।
यस्तै, प्रभु बचत तथा ऋण, ठिङ्गाबारी बचत ऋण, सुम्निमा बचत तथा ऋण, गौधारा सहकारी, आत्मनिर्भर, उत्साह कृषि सहकारी संस्था, सल्लेरी, औजार प्रकाशन सहकारी, श्रेया बचत तथा ऋण, हिउँचुली, यति सहकारी, पूर्वेली बचत तथा ऋण, सुनकोशी बचत तथा ऋण, सहकारी छन् ।
यस्तै, सेहरा खोला सहकारी, हाम्रो पाँचकन्या सामुदायिक, जगेडा सहकारी, ज्ञानकुञ्ज, कृपा बचत तथा ऋण, बालाजी दुग्ध सहकारी, सयपत्री बचत तथा ऋण, चेतना सहकारी, शुभ जागृति महिला बचत तथा ऋण सहकारी छन् । नौलो बचत, परिश्रमी, श्रमजीवी, वसन्तटार कृषि सहकारी, सिद्धकाली, नमो बचत तथा ऋण सहकारी रहेका छन् । यस्तै सिद्धकाली, शुलभ बचत तथा ऋण दृष्टि बचत तथा ऋण र शिरिजङ्गा रहेका छन् ।
चालु आर्थिक वर्षमा अझै बढी सहकारी ५० निष्क्रिय देखिएका छन् । कृपा बचत तथा ऋण, बालाजी दुग्ध सहकारी, ज्ञानकुञ्ज, सयपत्री बचत तथा ऋण, चेतना, आत्मनिर्भर, उत्साह कृषि सहकारी, सल्लेरी गौधारा, पूर्वेली बचत तथा ऋण सहकारीले विवरण दाखिला गरेका छैनन् । श्री गणेश बचत तथा ऋण, हाम्रो पाँचकन्या सामुदायिक, शुभारम्भ बचत तथा ऋण, बोधिचित्त बचत तथा ऋण, सुनकोशी बचत तथा ऋण, सेहरा खोला, जगेडा, परिश्रमी, प्रकृति बचत तथा ऋण, नौलो बचत, शुभ जागृति महिला बचत तथा ऋण सहकारी विवरण अद्यावधिक गरेका छैनन् ।
यस्तै, श्रमजीवी, वसन्तटार कृषि सहकारी, औजार प्रकाशन, श्रेया बचत तथा ऋण, हितैषी बचत तथा ऋण, हिउँचुली, यती, भविष्य बचत तथा ऋण, प्रभु बचत, ठिङ्गाबारी बचत ऋण सहकारी छन् । विध्याधारी बचत तथा ऋण, सम्मान बचत तथा ऋण, दर्शन बचत तथा ऋण, सारथि, सिद्धकाली, जाल्पादेवी बचत तथा ऋण सहकारीले कोपोमिस विवरण दाखिला नगरेका हुन् । दृष्टि बचत तथा ऋण, वराह बचत तथा ऋण, शिरिजङ्गा, नमो बचत तथा ऋण, शुलभ बचत तथा ऋण, बूढासुब्बा बहुउद्धेश्यीय सहकारी, भरअभर बचत तथा ऋण, कुशल बचत तथा ऋण र भानु पाथीभरा सहकारीले आफ्नो विवरण दाखिला नगरेका हुन् ।
































