विजयपुर । ‘मुन्दुम ट्रेल अल्ट्रा रेस–२०८२’ को उपाधि महिलातर्फ खोटाङकी निर्मला राई र पुरुषतर्फ ओखलढुङ्गाका विनोद थापामगरले प्राप्त गरेका छन् ।

आइतबार सम्पन्न प्रतियोगितामा महिला/पुरुष ६० किलोमिटर खुला अल्ट्रा रेस प्रतियोगितामा निर्मलाले आठ घण्टा २० मिनेट तथा विनोदले छ घण्टा ५० मिनेटमा दूरी पार गर्दै उपाधि प्राप्त गरेका हुन् ।  महिलातर्फ रोल्पाकी आश्मा विश्वकर्मा नौ घण्टा २१ मिनेटमा दूरी पार गर्दै दोस्रो र सोलुखुम्बुकी आङफुर्वा शेर्पा १० घण्टा ५६ मिनेटमा दूरी पार गर्दै तेस्रो भएका हुन् । पुरुषतर्फ सोलुखुम्बुका अर्जुन कुलुङ छ घण्टा ५६ मिनेटसहित दोस्रो र सोही जिल्लाका मिलन कुलुङ सात घण्टा छ मिनेटमा दूरी पार गर्दै तेस्रा भएका हुन् ।

भोजपुरको हतुवागढी गाउँपालिका–९ कोप्चेबाट सुरु भएको मुन्दुम ट्रेल अल्ट्रा रेस प्रतियोगिता आमचोक गाउँपालिकाको बयाङ–थामडाँडा हुँदै रामप्रसाद राई गाउँपालिकाको पामाखाङ–भञ्ज्याङ, कपासे, पाँचधारे र खोटाङको साकेला गाउँपालिका–३ खिदिमास्थित तावाभञ्ज्याङसम्म निर्धारण गरिएको थियो । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने विजेता धावकहरूले क्रमशः ८० हजार, ६० हजार र ४० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । त्यस्तै, ४५ किलोमिटर खुला पुरुषतर्फ काठमाडौँका अमित गुरुङ प्रथम, ताप्लेजुङका रमेश लिम्बू दोस्रो र भोजपुरका उमेश राई तेस्रो भए । महिलातर्फ पाँचथरकी पुष्पा लिम्बू प्रथम, जुम्लाकी रोशनी बुढा दोस्रो र भोजपुरकी रुष्मा राई तेस्रो भए ।

भेट्रान पुरुषतर्फ धरानका यमनाथ लिम्बू प्रथम, धरानकै विजयकृष्ण राई दोस्रो र सुनसरीका रेशम लिम्बू तेस्रो भए । महिलातर्फ भोजपुरकी जमुना राई प्रथम र सोही स्थानकी बिनिता राई दोस्रो भए । प्रतियोगिताका विजेताहरूलाई कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले पुरस्कार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरे । 

कार्यक्रममा  नेपालका लागि स्विस सरकारका राजदूत डा. डेनेली मेउली, कोशी प्रदेशसभाअन्तर्गत आर्थिक विकास समिति सभापति विनोद वान्तवा, भोजपुर नगरपालिकाका प्रमुख कैलाश आलेमगर, आमचोक गाउँपालिकाका अध्यक्ष अशोक राई, हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राई, रामप्रसाद राई गाउँपालिका अध्यक्ष थामबहादुर राई, टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतलगायतको उपस्थिति रहेको थियो । पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको मुन्दुम ट्रेलको प्रस्थान विन्दु खोटाङको साकेला गाउँपालिका–३ खिदिमास्थित तावाभञ्ज्याङमा आयोजित प्रथम मुन्दुम ट्रेल अल्ट्रा रेस–२०८२ भव्य रूपमा सम्पन्न भएको सहभागीहरूले बताएका छन् । भोजपुरका आमचोक, हतुवागढी र रामप्रसाद राई गाउँपालिकाको संयुक्त आयोजना तथा खोटाङको साकेला गाउँपालिकाको व्यवस्थापनमा चैत २२ गते आइतबार सम्पन्न प्रतियोगिताले मुन्दुम ट्रेललाई अन्तर्राष्ट्रियस्तरमा परिचित गराएको आमचोक गाउँपालिकाका अध्यक्ष अशोक राईले बताए । कार्यक्रमले तावाभञ्ज्याङ क्षेत्रलाई साहसिक तथा धार्मिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने विश्वास गरिएको छ । रासस