विजयपुर । धरान–१ पृथ्वीपथस्थित होली गार्डेन एकेडेमीले कक्षा ८ मा अध्ययनका लागि ५ जना विद्यार्थीलाई शतप्रतिशत छात्रवृत्ति प्रदान गर्ने भएको छ ।
एकेडेमीले पत्रकार सम्मेलन गरी कक्षा ७ मा उत्कृष्ट नतिजा ल्याएका ५ विद्यार्थीलाई ‘आमा–बुवा स्मृति छात्रवृत्ति कार्यक्रम’ अन्तर्गत छात्रवृत्ति दिने घोषणा गरेको हो । विद्यालयका प्रिन्सिपल राजेन्द्र गुरुङका अनुसार शैक्षिक सत्र २०८३ का लागि कक्षा ८ मा भर्ना हुन चाहने उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिनेछ । कार्यक्रम अन्तर्गत छनोट भएका ५ जना विद्यार्थीहरूले कक्षा ८ देखि कक्षा १० सम्म (पूर्ण ३ वर्ष) शतप्रतिशत छात्रवृत्ति पाउनेछन् । आर्थिक अवस्था कमजोर भए पनि पढाइमा अब्बल विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षाको अवसर प्रदान गर्ने उद्देश्यले विद्यालयले कार्यक्रम ल्याएको जनाएको छ । प्रिन्सिपल गुरुङका अनुसार विद्यार्थीले कक्षा ७ को वार्षिक परीक्षामा न्यूनतम ३.८ जिपिए प्राप्त गरेको हुनुपर्नेछ । छात्रवृत्ति छनोट उत्कृष्टताका आधारमा गरिनेछ ।
हाल नतिजा पर्खिरहेका विद्यार्थीहरूले विद्यालयको प्रवेश परीक्षामा सहभागी हुन सक्नेछन्, तर भर्ना प्रक्रियाका बेला अनिवार्य रूपमा आधिकारिक ग्रेडसिट पेश गर्नुपर्नेछ । छात्रवृत्तिको पहिलो चरणको छनोट चैत २६ गते र दोस्रो चरण वैशाख २ गते हुने जनाइएको छ ।
































