हलो बिर्सियो उसले जुवा बिर्सियो ।
अनि शहर पसेपछि फरुवा बिर्सियो ।
हो साँच्चै, हिजो त्यही अमृत पिएर बाँचेकाहरूले अहिले जरुवा र कुवा बिर्सिरहेछन् । अचेल मधुशालामा रमाउन थालेकाहरूले चियामा तुलसी, अदुवा बिर्सिरहेछन् । गाउँघरमा शून्यताले घेरेको धेरै भएपछि गोरेटो र सडकले पनि बटुवा बिर्सिंदैछ । सन्तानको उज्वल भविष्यको खातिर बा मजदुर र बधुवा बनेको पनि सन्तानले बिर्सिरहेछन् । खै के भन्ने, हामी आफ्नै अस्तित्व बिर्सिरहेका छौं । हामीले बिर्सिंदै गरेका अस्तित्व सम्झाउँदै थिइन् नेपालगञ्जकी गजलकार देवकी निरौला ।

धेरै लामो समयपछि याद बल्झिएर आयो । उनी कैलालीमा बस्दै त्यस क्षेत्रको पहिलो महिला फोटोग्राफर बनेको अवस्थामा मैले ०६१ सालमा डोटी महोत्सवमा भेटेको थिएँ उनलाई । गजललाई मीठो स्वरमा गाएरै प्रस्तुत गर्ने उनको गलाको कलाबाट त्यो बेला नै निकै राम्रो सम्भावना प्रस्तुत भएको लाग्थ्यो । काठमाडौंका रेडियो र एफएमहरूमा उनको कलालाई प्रस्तुत गराउने कुरामा मैले पनि सहयोग पुर्याएको थिएँ । संवेदना हल्लाउने खालका उनका गजल तरुन्नुमशैली जस्तै भए पनि फरक फरक गजललाई फरक फरक लयमा प्रस्तुत गरेर गायनकै स्वाद दिने उनको विशेषताले मन तान्ने गथ्र्यो ।

बीचमा एक पटक ४ वर्षअघि चितवनको हाम्रो मझेरी साहित्यमा झुलुक्क भेट भए पनि लामो समयको अन्तरालमा अलि बसिबियाँलोमा झापाको दमकको कार्यक्रममा यसबेला भेट हुन पायो । उनको पहिलो गजल कृति ‘उद्घोष’ मार्फत् आफूलाई गजलमा स्थापित सर्जकका रूपमा आफ्नो आयतन झनै फैलाउने काम भएको छ । त्यो कृति पाएँ । ०७५ माघ २५ गते काव्य घर झापा प्रदेश नम्बर १ को आयोजनामा स्थानीय हिमालय माविमा साहित्यिक भित्तेपत्रिका विमोचन तथा काव्यिक कार्यक्रममा संयोग मिल्यो ।

धर्ती टेक्छ कोही मर्छ संसारको रीत यस्तै ।
कोही फुल्छ कोही झर्छ संसारको रीत यस्तै ।
कोही फुलेको बेला कोही झरिरहेको हुन्छ ।

लाग्छ देवकीको गजलमा मानव भोगाइ जीवन्त छ । मान्छेका क्षत विक्षत मनहरू भेला पारेर जोड्दै जीवन ठिङ्ग उभ्याउने तागत भेटिन्छ । कोकिल कण्ठमा गाइने शक्तिशाली गजलले धर्ती ठग्मगाए झैं लाग्छ । मनसँग मन जोडिए झैं लाग्छ । प्रेमिल मन सबैथोक भुलेर मख्ख पर्छ ।

जहाँ अर्काे मेरो पुरानो साहित्यकार मित्र दोलखाकी सुशीला खड्का हँसिना, कञ्चनपुरका श्रीजनश्री, इलामकी सीता आस्था ढुङ्गेलसँग भेट जु¥यो । काठमाडौंमा अनाममण्डलीमा भेटिएका श्रीजनश्रीले नियालीरहेका रहेछन् । हँसिलो मुहारकी हँसिना काठमाडौंमा बस्न थाल्दा ०६१ सालमा भेटिएकी थिइन् । चोटिला गजल र मुक्तकमा परिवेश अटाउने हँसिना कवितामा पनि जमेकी छन् ।

बाबाका सपना, ढिकी र जाँतोका आमाका रहरहरु । घट्टमा कमजोर नियतिको ओइरो हाल्ने क्रम उस्तै छ । कवितामा गाउँघर, मौलिकतासहितका विम्ब उन्न सिपालु हँसिनाले गजलसहितका सृजनाले मन ताने । सीताको सृजनाको त्यो बेलाको ऊर्जा सम्झिएँ र अहिलेको अवस्था नियालेँ । १० वर्ष जति भएको रहेछ, उनीसँग पनि भेट नभएको ।

कार्यक्रम सकिएपछिको खाजा समयको भलाकुसारीले आत्मीयता बल्झिएर आयो । रचनाको शक्ति पुनर्जीवित भएर उठ्यो । जीवनसँग सृजना जोडिनु पर्ने मर्ममा चिन्तन भयो । जीवनका भोगाइ र समयको वेगलाई आत्मसात गर्नुपर्ने आम सत्यको प्रसङ्ग दोहोर्याइयो । संयोजन गर्ने राजकुमार खड्गासहितका साथीहरूले कार्यक्रममा व्यवस्थापन र आमन्त्रण गर्ने पक्षमा मेहनत कम गरेछन् । ठूलो जमघटमा राष्ट्रियस्तरका कार्यक्रम हुने दमकमा यो कार्यक्रमले त्यो इज्जत धान्न सकेन । टाढाबाट आएकाहरूले मन्तव्यमार्फत् नै खिन्नता व्यक्त गरे । कार्यक्रममा प्रतिनिधिमूलक सर्जकका रूपमा नुवाकोटकी सुमित्रा सुमी, काजीमान मावो, मोरङकी शुभलक्ष्मी लम्साल, झापाका शिव रेग्मी प्रणत र विन्दु दहालले पनि रचना प्रस्तुत गरे ।

विन्दुले छन्दोबद्ध रूपमा शासकको चरित्र चरितार्थ पारे । साँढेको उपमा दिएर साँढे फुकाएपछि त्राहीमाम र हाराहार भएको शक्तिशाली कविता उराले । पूर्वका मात्र नभएर नेपालकै राम्रा कविमा गनिने शिवले नारी संवेदनालाई गतिलो हिसाबले प्रस्तुत गरे । ‘आमा मलाई नि जन्माउनु न’ कवितामार्फत् मन भक्कानियो । पेटमा रहेकी छोरीको भ्रुणले छोरी भएकै कारण भ्रुणहत्या हुने कुराबाट त्रसित बनेर आमालाई पुकार गरेको कुरा कवितामा ज्वलन्त रूपमा प्रस्तुत गरे ।

जसमा महिलाले प्रस्तुत गर्नेभन्दा कम संवेदना पोखेनन् । उनले महिला पीडा, महिलाको महानता अनि समाजले पुरुष प्रधानतामा महिलाको अपहेलनामा कोर्ने रेखा ज्यादै प्रष्ट र अङ्ग प्रत्यङ्गको भूमिका चरितार्थ पारे उनले । भिडियो एक्सरे गर्दा आफ्नो काप लुकाउन खोज्दा मेसिनले चारतिर ओल्टाइपल्टाई खोजी–खोजी नारी भ्रुण चिनेको मर्मस्पर्शी बकपत्र छ । छोरो जन्माउने सहमतिमा गर्भवती भएकी महिलाको कोखमा पुनः छोरी आई । अब फेरि डाक्टरले पाठेघरमा चिम्टा घुसाउँछ । यस्ता दर्दनाक पीडाको शृङ्खला बोकेको कविताको सार अंश बोकेको शक्तिशाली वाक्य जो कविताको मूल मर्म यस्तो थियो :
.......
तर मेरी आमा म पनि जन्मन चाहन्छु
मलाई पनि जन्माउनु न,
मैले सम्झेँ कठै
मेरी दिदी पनि जन्मन पाएकी भए
यसबखत ऊ पनि मेरी आमा जस्तै
आमा भएकी हुन्थी होला ।