विराटनगर । विराटनगर भन्सार कार्यालयमा भन्सार एजेन्टका प्रतिनिधिले साढे ६ लाख बढीको राजस्व छली गरेको खुलेको छ ।

भन्सारकै विशेष टोलीले एजेन्टका मुख्य सहयोगी कुन्दन मण्डलसहित तीन जनालाई पक्राउ गरेपछि थालेको अनुसन्धानले छ लाख ५० हजार रुपैयाँ राजस्व छली गरेको पाइएको हो । प्रारम्भिक अनुसन्धानबाट भन्सार परिसरभित्रै एम्बुलेन्समा लुकाएर राखिएको १० पोका सामानमा करिब साढे ६ लाख रुपैयाँ राजस्व छली भएको पुष्टि भएको छ । घटनाको गहिराइमा पुग्न भन्सार र राजस्व अनुसन्धान कार्यालयले छुट्टाछुट्टै अनुसन्धान थालेका छन् । गत मङ्गलबार को.१ त ९७१७ नम्बरको ट्याक्टरमा ५५ पोका सामान ल्याएका मण्डलले ४५ पोकाको मात्र भन्सार तिरेका थिए । बाँकी १० पोका सामान जाँचपासअघि नै परिसरभित्रै रहेको एउटा एम्बुलेन्समा लुकाएर बाहिर निकाल्ने तयारीमा थिए । तर सूचनाका आधारमा खटिएको भन्सार टोलीले सामान गणना हुनुअघि नै एम्बुलेन्सबाट ती सामान बरामद गरेको थियो ।

विराटनगर भन्सार प्रमुख उमेश श्रेष्ठका अनुसार बरामद १० पोका सामानको मूल्य करिब ५ लाख रुपैयाँ हो । जसमा करिब एक लाख ५० हजार रुपैयाँ राजस्व लाग्छ । “यो घटनाले मण्डलले राजस्व छली भइरहेको प्रष्ट सङ्केत गर्छ” श्रेष्ठले भने, “पक्राउ परेकाहरूलाई भन्सार ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाएका छौँ ।” बरामद गरिएका सामानमा खेलौना, कपडा र कुर्ता सुरुवाललगायतका सामग्री छन् । अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार मण्डलले भन्सार छलीका लागि निकै चलाखीपूर्ण तरिका अपनाएका थिए । उनले सामान जाँचपासका लागि भन्सार गोदामको सिसिटिभी क्यामेराले नभ्याउने ‘ब्लाइन्ड स्पट’ (अँध्यारो कुनो) रोज्ने गरेका थिए । “मण्डलले गोदामको त्यही कुनामा ट्याक्टर लगेर सामान अनलोड गर्थे र जाँच गरेजस्तो गरेर प्रज्ञापन–पत्रमा उल्लेख भएभन्दा धेरै सामान पास गराउँथे”–ती अधिकारीले भने ।

पक्राउ परेका मण्डल भन्सार एजेन्ट सौगात पोखरेलका सहयोगी भए पनि राजस्व छलीको योजना बनाउने र कार्यान्वयन गर्ने मुख्य भूमिकामा उनी नै रहेको स्रोतको दाबी छ । पटक–पटक विवादमा आइरहने उनी न्यून बिलविजक र घोषणा नगरी सामान पास गराउन माहिर मानिन्छन् । यो घटनामा भन्सारकै कर्मचारीको सम्भावित संलग्नताबारे पनि अनुसन्धान केन्द्रित गरिएको भन्सार अधिकृत तुलसी रेग्मी नेतृत्वको टोलीले जनाएको छ ।

राजस्व अनुसन्धानको छुट्टै छानबिन

भन्सारमा मण्डल पक्राउ परेपछि राजस्व अनुसन्धान कार्यालय इटहरीले पनि यो सञ्जालमाथि छानबिन सुरु गरेको छ ।

मण्डलले नै सहजीकरण गरी भन्सार पास गराएको को.१ त २०४१ नम्बरको अर्को ट्याक्टरलाई राजस्वले नियन्त्रणमा लिएको छ । विराटनगर भन्सारबाट जाँचपास भएर निस्किसकेको उक्त ट्याक्टरमाथि शङ्का लागेर राजस्वले नियन्त्रणमा लिएको हो । राजस्व अनुसन्धान कार्यालयका सूचना अधिकारी विदुर गौतमका अनुसार ट्याक्टर नियन्त्रणमा लिएपछि विराटनगर–६ स्थित बुद्धपूजा ढुवानी सेवामा छापा मारी थप ३४ पोका कपडा बरामद गरिएको छ । “भन्सारले मण्डललाई हिरासतमा राखेकाले हाम्रो अनुसन्धान अघि बढेको छैन” गौतमले भने, “उनी उपस्थित भएपछि बरामद सामान र ट्याक्टरबारे सोधपुछ हुनेछ ।”

यो घटनाले विराटनगर भन्सारमा एजेन्ट, व्यापारी र कर्मचारीको मिलेमतोमा राजस्व छलीको सङ्गठित गिरोह सक्रिय रहेको पुष्टि गरेको छ । दुई सरकारी निकायको अनुसन्धानले यो सञ्जालका थप सदस्य र संलग्नता खुल्ने अपेक्षा गरिएको छ ।