मधुमल्ला /  मोरङको विकट मानिएको मिक्लाजुङ गाउँपालिका वडा नं. १ को रमितेलाई कृषि पकेट क्षेत्रको रुपमा अघि सारिने भएको छ ।
मिक्लाजाजुङ गाउँपालिकाले वडा नं. १ लाई कृषि क्षेत्रको रुपमा अघि बढाइरहेको गाउँपालिका अध्यक्ष देबीप्रसाद आचार्यले जानकारी दिए । गाउँपालिकाले मिक्लाजुङ–१ रमितेका १ सय २४ परिवारलाई १२ हजार कफीका विरुवा वितरण गरेको छ । त्यस्तै, १० हजार रुद्राक्षका विरुवा वितरण गर्ने तयारी भइरहेको छ । भोजपुरबाट खरिद गरी ल्याइएका १० हजार विरुवा वडा नं. १ का उपभोक्ताहरुलाई वितरण गरिने वडा नं. १ का अध्यक्ष नरवहादुर राई (जीवन) ले जानकारी दिए ।

Remeta bbazar
मिक्लाजुङ गाउँपालिकाको १ लाख ५० हजार, प्रदेश नं. १ सरकारबाट १ लाख ५० हजार र स्थानीयबाट ३ लाख रुपैयाँ लगानीमा रुद्राक्षको विरुवा खरिद गरिएको जनाइएको छ । पहिलो चरणमा १० हजार विरुवा वडा नं. १ मा वितरण गर्ने र सम्भावनाको आधारमा अन्य वडाहरुमा पनि वितरण गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष आचार्यले बताए । उक्त क्षेत्रमा अलैची, अम्लिसो, अदुवा, ओेलनलगायतका प्रमुख नगदेवाली साग सब्जी उत्पादन हुने गरेको छ । प्रदेश नं. १ का १६ जिल्ला देख्न सकिने मिक्लाजुंग डाँडा, रमणीय वातावरण तथा धार्मिक क्षेत्रमा समेत उत्तिकै महत्व बोकेको यस क्षेत्र पर्यटनको प्रचुर सम्भावना रहेको छ ।

Rameta bata trai
यसरी पुगिन्छ रमिते
रमिते पुग्ने सडक हिउँदको समयमा यातायात सञ्चालनमा आए पनि वर्षायाममा पहिरो तथा हिलाम्मे हुँदा स्थानीयले बर्सेनी सास्ती खेप्दै आएका छन् । सामान्यतः वर्षा हुनेवित्तिकै पहिरो जाँदा सडक अवरूद्ध हुने गरेको स्थानीय पर्वत राई बताउँछन् । पूर्व पश्चिम राजमार्गको उर्लाबारी किसानचौकबाट २८ किलोमिटर उत्तरमा अवस्थित रमिते पुग्न दुईवटा मार्ग रहेका छन् । मंगलबारे हुँदै साम्लिङ रमितेखोलादेखि मिक्लाजुङ र किसानचौक टाँडी हुँदै रमिते मिक्लाजुङ जोड्ने सडक छ । किसानचौक टाँडी हुँदै रमिते सडक कालोपत्रे हुने भएपछि स्थानीय जनता विकासको आशामा छन् । रमितेकै ओखलढुंगामा राष्ट्रिय प्रसारणको विद्युत जडान गरिएको जनाइएको छ ।

Remeta Bzzar