भाइबहिनी हो, आज हामीले शिक्षासेवी श्यामबहादुर कटुवालको कथा उधिन्ने प्रयास गरेका छौं । बिक्रम सम्वत १९९६ सालमा जन्मिएका उनले कक्षा ५ बाट सिधै एसएलसीको परीक्षा दिएका थिए । विभिन्न उतार-चढावका बावजुद पनि पढाइलाई निरन्तरता दिँदै बिएसम्म अध्ययन गरेका कटुवालको कथाः

जब ९ वर्ष पुगे, शिक्षासेवी श्यामबहादुर कटुवालले कखरा सिक्ने मौका प्राप्त गरे । बाह्रखरी, क ख, १, २ सिकाउनका लागि बुबाले घरमै एक जना पण्डितको व्यवस्था गरिदिएका थिए पहाडमा । पण्डितबाट बाह्रखरीमात्रै हैन, कौमुदी र रुद्री चण्डी घोक्नु पर्दा कम्ता सकस हुन्थेन कटुवाललाई ।

क, ख, रा राम्रोसँग उच्चारण गर्न जानिसकेका थिएनन् । बुझ्दै नबुझि कौमुदी र चण्डी घोक्नु पर्दा कतिखेर भागौं हुन्थ्यो उनलाई । ‘कखरा राम्रोसँग नजानेको मान्छेलाई कौमुदी र चण्डी घोक्नु साह्रो हुन्थ्यो । कतिखेर भागौं जस्तो लाग्थ्यो ।’ उनी भन्छन् ।

तिनै पण्डितसँगबाट कखरा छिचोलो । कालो पाटीमा अङ्गारले पोतेर ढुङ्गाजस्तो खरीले क, ख लेखे । दुआई सिके । कहिलेकाही अङ्गार नहुँदा रातो माटोलाई मसिनो गरी धुलाम्मे बनाएर पाटीमा छर्थे । अनि सिन्काको साहाराले कखरा लेख्थे ।

उनले कखरा त्यसरी नै सिके । ‘काठको पाटीमा अङ्गारले लिप्यो । अनि लेख्ने । खरी पनि हुदैन्थ्यो । डल्ला-डल्ला चक हुन्थे । अङ्गार नहुँदा धुलो मसिनो पारेर सिन्कोले लेख्थेँ । कालो पाटी र सिन्काले लेख्नेबाटै पढाइ सुरु भएको हो । पछिबाट बाँसको कलम बनाएर मसी चोबेर लेख्थ्यौं ।’

जहाँ जन्मिएका थिए, त्यो ठाउँमा पाठशालाको नामै थिएन । पढ्नका लागि धनकुटा सदरमुकाम नै झर्नुपथ्र्यो । ‘मज्जाले हिड्दा ३ घण्टा लाग्थ्यो ।’ उनी भन्छन्, ‘मेरो गाउँ घोर्लीखर्कमा स्कुल भन्ने त थिदैथिएन ।’ गाउँमा जम्माजम्मी उनले सिकेको कखरा, बाह्रखरी मात्रै हो ।

जब, खेतीका क्रममा बुबा झापाको भद्रपुर झर्नुपर्ने बाध्यता आइलाग्यो । त्यसपछि भने मेची नदीको किनारमा रहेको भद्रपुरको पब्लिक माविमा कक्षा १ मा भर्ना भए । घरदेखि २५ मिनेटको दूरीमा थियो त्यो स्कुल । केटाकेटी भएकाले दौडदै पुग्थे । स्कुल भनेपछि हुरुक्कै हुने कटुवालले नियमित पढ्ने अवसर भने कहिल्यै पाएनन् ।

किस्ता-किस्तामा गरेर पढ्ने वातावरण मिल्यो उनलाई । एक कक्षा छिचोलेका मात्रै के थिए । उनको परिवार भारतको खर्साङ पुग्यो । उनी पनि परिवारसँग त्यतै हानिए । ११ वर्षको उमेरमा खर्साङकै स्कुलमा कक्षा २ मा उनी भर्ना भए । दुई वर्ष त्यहाँ पढेपछि फेरि परिवार भद्रपुर नै आए ।

जता-जता परिवार हिड्छ उतै-उतै उनी पनि हिड्न थाले । कक्षा २ बाट माथिल्लो कक्षा नटेकी उनी एकै पटक कक्षा ५ मा भर्ना भए पुनः त्यही स्कुलमा ।

कक्षा २ पढेका उनलाई एकैपटक ५ मा पढ्दा धेरै कुरा गाह्रो थियो । जसका कारणले कयौं पटक शिक्षकले कान तानेको सम्झन्छन् । ‘एकैपटक ५ कक्षाको पढ्दा दार्जिलिङबाट आएका खालिङ नाम गरेका अङ्ग्रेजी शिक्षकले कान तानेको सम्झन्छु ।’ उनी भन्छन्, ‘अरु कुटाइ त खाइएन ।

त्यो बेला अङ्ग्रेजीको वर्ड मिनिङ सार्दा मैले मिस्टेक सारेछु क्यार । कान तानिदिनुभएको थियो ।’ दुखजिलो गरेर भए पनि कक्षा ५ पार लगाइ छाडे ।

उनमा खर्साङमा बस्दा नै पढ्नुपर्छ भन्ने चेत खुलेको थियो । खर्साङमा बुबाले आफूहरूलाई रेखदेख गर्नका लागि राखिदिएको मान्छे चन्द्रबहादुर कार्कीले पढ्नुपर्छ भन्ने प्रेरणा जगाइदिएका थिए । जहाँ डेरामा उनलाई राखिएको थियो । त्यसैको छेउमा कङ्ग्रेसकी एक नेतृको भब्य महल थियो । जहाँ दैनिक सय९पचास मान्छे ओहोरदोहोर गर्थे ।

उनको नाम थियो माया देवी । ‘सायद त्यो बेलामा त्यहाँको एमपी थिइन् क्यार ।’ विगत स्मरण गर्दै कटुवाल भन्छन् । पढेकी हुनाले धेरैले सम्मान र आदर गर्थे । त्यो देखेपछि नै उनमा पनि ठूलो मान्छे बन्नका लागि पढ्नुपर्छ भन्ने प्रेरणा मिलेको थियो । त्यो कुरा चन्द्रबहादुर कार्कीले बताउँथे । त्यही प्रेरणालाई सार्थक बनाउन उनी पढ्न चाहान्थे ।

तर, पारिवारिक अवस्थाका कारणले पनि कक्षा निरन्तरता हुन सकेन । कक्षा ५ पास गरेका के थिए । २०१४ सालमा बुबाको देहान्त भयो । परिवारको मूली नै बितेपछि परिवारमा आर्थिक सङ्कट त चुलियो नै । बुबाको तीन वटा श्रीमती भएकाले अन्य सङ्कटहरू पनि एकसाथ चुलिए ।

ठूलो आमा, सानिआमाका छोराछोरीबीचमा एकले अर्काप्रति शङ्का-आशङ्काले हेराहेर गर्न थाले । भएको जायजेथा बेचेर झापाकै विभिन्न स्थानमा सर्न बाध्य बने । २०१५ सालमा दाजुलाई पनि क्षयरोगले भेट्यो । ग्रामीण भेगमा राम्रोसँग उपचार नहुँदा बेला-बेला त्यो रोग बल्झिदै थियो । दाजुले पढ् भनेर त भने ।

तर, अवस्था उति राम्रो नभएकाले पढ्ने वातावरण बनेन् । ‘दाजुको रहर थियो, एसएलसीसम्म पढाउने’ उनी भन्छन्, ‘मलाई पनि पढ्ने रुची थियो । तर, अवस्था थिएन ।’

त्यै पनि उनी पढ्नका लागि भनेर धरान आइपुगे । जहाँ कान्छी आमा बस्थिन । त्यो बेलामा प्राइभेट एसएलसी दिन पाइने भएकाले उनले एसएलसी दिने सोच बनाए । तात्कालीन समयमा पब्लिक मावि र निकेतन माविका तीन जना शिक्षकको साहारा लिए । उनले निकेतनको गुलावजी पाण्डे, पब्लिकका राजेन्द्र आचार्य र ऋषि दत्तसँग एक वर्ष कठिन मेहनत गरी अध्ययन गरे ।

फलतः २०१६ सालको एसएलसीमा उनी तेस्रो डिभिजनमा पास भए । त्यो बेला तेस्रो डिभिजन ल्याउने विद्यार्थीलाई राम्रै मानिने उनी बताउँछन् । ‘५ कक्षा पढेको, एकैपटक एसएलसी दिँदा ज्यादै कठिन भयो ।’ उनी भन्छन् ।

एसएलसीपछि उनी महेन्द्र बहुमुखी क्याम्पसमा मानविकी लिएर पढे । २०१८ सालमा आइए सिध्याए । त्यसपछि पारिवारिक अवस्थाले उनको पढाइ फेरि रोकियो । २०२२ सालमा मात्रै उनले बिए उर्तीण गरे, दोस्रो श्रेणीमा ।

तर, त्यही साल उनलाई अर्को बज्रपात आइलाग्यो । जसले उनलाई पढ्नका लागि प्रेरित गरिरहे त्यही दाजुको देहान्त भइदियो क्षयरोगका कारण । दाजु बितेको पीडासँगै दैनिक जीवन गुर्जोने माध्यमको खोजीमा थिए । त्यही क्रममा शिक्षा सदनका प्रअले नै उनलाई शिक्षण पेशामा लाग्न सुझाए ।

त्यही सालबाट शिक्षा सदनमा शिक्षकको रूपमा काम शुरु गरे । तीन वर्षसम्म शिक्षक बनेपछि उनले २०२५ सालबाट प्रधानाध्यापक भएर काम गर्ने मौका पाए । पूर्व प्रअको विवादका कारण छाड्नु परेपछि उनले त्यसको बागडोर सम्हाले ।

निरन्तर २०५७ सालसम्म । तर, २०२८ सालमा नयाँ शिक्षा लागू भयो । नयाँ शिक्षामा प्रअ बन्नका लागि अनिवार्य बिएड गरेको हुनुपर्ने बाध्यकारी नियम लागू भएपछि २०३१ सालमा बिएड पढे । उर्तीण पनि भए ।

तर, त्योभन्दा माथि पढ्ने अवसर प्राप्त गरेनन् । परिवार, छोराछोरीका कारणले पनि उनले पढाइ अगाडि बढेन । तर, शिक्षामै केही गर्ने लक्ष्यका साथ अहिले पनि उनी उत्तिकै लागि परेका छन् । ३४ वर्षसम्म उनी निरन्तर शिक्षासेवामै रहेर काम गरेका उनी विभिन्न सङ्घसंस्थामा रहेर अहिले पनि काम गरिरहेका छन् ।

अवकासपछि सरस्वती बाल आश्रम, धरान९१७ को दीपेन्द्र प्रावि तथा सुनसरी दुहवीमा एउटा बाल आश्रम बनाउनका लागि योगदान दिए । त्यसका लागि नेदरल्याण्डको एक संस्थाबाट उनले सहयोग प्राप्त गरे । शिक्षामै योगदान दिएकाले त्यो संस्थाले नेदरल्याण्डका विभिन्न सहरहरू घुमायो । त्यहाँको शिक्षा प्रणालीबारे अगवत गरायो ।

त्यहाँको शिक्षा प्रणाली र यहाँको शिक्षा प्रणालीबीचमा आकाश-जमिनको फरक देख्छन् उनी । ‘त्यहाँ अभिभावकले समेत आफ्ना छोराछोरी पिट्न पाउँदैनन् । पिटेको कुरा स्कुल प्रसाशनमा पुग्दा अभिभावकलाई नै कारबाही हुँदो रहेछ ।’ उनी भन्छन्, ‘यहाँ आफू प्रअ हुँदा कयौं पटक विद्यार्थीहरूलाई पिटियो । अहिले गलत गरेको रहेछु भनेर महसुस हुन्छ ।’

उनी अहिले पनि ती संस्थाहरूसँग जोडिएका छन् । दैनिक शिक्षा सदन स्कुल पुग्नु उनको नृत्यकर्म झै बनेको छ । अहिलेका विद्यार्थी तथा शिक्षकहरूमा विगतमा भन्दा बढ्ता सेवा सुविधा छ । ‘गाउँ-गाउँमा स्कुलहरू खुलेका छन् ।

सरकारले शिक्षामा करोडौं लगानी गरेको छ ।’ उनी भन्छन्, ‘विगतमा त्यस्तो थिएन । यो स्कुल (सदन) बनाउनका लागि हामीले विभिन्न दाताहरू खोज्यौं । विद्यार्थी पढाएर त्यहीबाट तलव पनि खानुपर्ने अवस्था थियो ।’ अहिलेका विद्यार्थीहरूलाई धेरै अवसर छ । प्रविधिको विकासले गर्दा आफूले खोजेजस्तो शिक्षा लिन पाउँछन् ।

तर, त्यही प्रविधिलाई गलत तरिकाले प्रयोग गर्यो भने जीवनभर नउठ्ने गरी रसातलमा भासिने सम्भावना पनि उत्तिकै रहेको उनी बताउँछन् । त्यसका लागि पनि विद्यार्थी सर्तक भएर प्रविधिको प्रयोग गर्नुपर्ने उनको सुझाव छ । शिक्षकहरूले पनि विद्यार्थीहरूलाई त्यस्ता विषयमा ज्ञान दिन जरुरी रहेको उनी ठान्छन् ।

मेहनत गरेर पढे अहिले अवसरै अवसर रहेको उनको बुझाइ छ । ‘त्यो बेलामा पढ्नका लागि निकै खर्च लाथ्यो । न्यून आर्थिक अवस्था भएकाले पढ्नै सक्दैन थिएँ । अहिले सरकारले नै इन्भेष्ट गरेको छ ।’ उनी भन्छन् ।
प्रस्तुतिः भोजराज श्रेष्ठ