बिर्तामोड / चिकित्सा क्षेत्र सुधारका लागि भन्दै डाक्टर गोविन्द केसी ६ दिनदेखि इलाममा आमरण अनसनमा बसेका छन् । केसीको स्वास्थ्यस्थिती कमजोर बन्दै गएको छ । डाक्टर केसीको मागलाई सरकारले सम्बोधन गर्न ढिलाई गर्न नहुने आवाज पनि उठिरहेको छ ।
चिकित्सा क्षेत्र सुधारका लागि भन्दै केसीले शुरु गरेको अभियानले अख्तियार दुरुपयोग अनुसंधान आयोगका तत्कालिन प्रमुख लोकमानसिंह कार्की र प्रधानन्यायधिस गोपालप्रसाद पराजुलीले पदबाट राजिनामा दिनुपरेको थियो । उनै केसीको यो १६ औं अनसन हो । उनले अनसनका लागि पर्वी नेपालको इलामलाई रोजेको छन् । १५ औं अनसन जुम्लामा बसेका केसीले त्यस अघिका १४ वटा अनसन काठमाण्डौमा बसेका थिए ।
केसीसँग सरकारले हरेक पटक सम्झौतामा अनसन अन्त्य गराउँदै आएको छ । केसीको आन्दोलनको बलमा बिगतमा १५ पटक नै सरकार आफ्नो अडानबाट पछि हटेको थियो । केसीले त्रिभुवन बिश्वबिद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमाको संयोजकत्वमा गठित कार्यदलले बनाएको गरेको प्रतिवेदन हुबहु कार्यान्वयन गर्न माग गरेका छन् ।
माथेमा प्रतिवेदनमा आगामी १० बर्ष नेपालको कुनैपनि क्षेत्रमा निजी मेडिकल कलेज खोल्न प्रतिबन्ध लगाइनुपर्ने, ७ वटै प्रदेशमा एक एकवटा सरकारी मेडिकल कलेज स्थापना गर्नुपर्ने, मेडिकल शिक्षा अध्ययन गर्नका लागि लाग्दै आएको शुल्क घटाउनुपर्ने लगायतका बिषय उल्लेख छन् ।
ब्यवस्थापकीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको बहुमतले चिकित्सा शिक्षा बिधेयक पास गरेपछि केसी १६ औं पटक अनसनमा बसेका हुन् । बहुमतका आधारमा पास भएको प्रतिवेदनमा काठमाण्डौ उपत्याकामा १० बर्षसम्म मेडिकल कलेज खोल्न रोक लगाइएको छ । आशयपत्र लिएर पूर्वाधार पुरा कलेका शिक्षण संस्थालाई सरकारलाई स्वामित्व हस्तान्तरण गर्ने वा चिकित्सा शिक्षा आयोगले तोकेको स्थानमा स्थानान्तरण गर्ने बिकल्प पनि दिइएको छ । १५ औं पटकको अनसनमा सरकार र डा. केसीबीच भएको सहमति पनि यही थियो ।