उदयपुर/ उदयपुरको बेलका नगरपालिकाले दोस्रो वर्षलाई उत्पादन वर्षको रूपमा मनाउँदै गर्दा ठूलो मात्रामा कृषि उत्पादनको क्षेत्रका कार्य अघि सारेको छ ।  स्थानीय सरकारले स्थानीयवासीको गरिबी हटाउन र खेती योग्य जमिनको प्रयोग गर्न उत्पादन वर्षसँगै ठूलो मात्रामा कृषि उत्पादन कार्यलाई अघि सारेको जनाएको छ ।

नगरका खेती योग्य खाली जमिनलाई सदुपयोग गरी स्थानीय अर्गानिक उत्पादन गर्न ८० बिघामा आलु र ८० बिघामा गहुँ खेती लगाइसकेको बेलका नगरपालिका मेयर दुर्गाकुमार थापाले बताए । पाँच सय बिघा भन्दा बढीमा मकै खेती गर्ने र कृषकलाई नगरले ६ मेट्रिक टन मकैको बिउ वितरण गर्ने तयारी गरिरहेको मेयर थापाले बताए ।

आउँदो महिनादेखि गिदेरी खोलाले कटान गरेको १४ बिघा बगरमा काँक्रा, तरबुजा, काँकरीलगायतका लहरे तथा बगरे खेती थाल्ने तयारी भइसकेको नगरपालिकाले जनाएको छ । नगरले उत्पादनलाई समृद्धिसँग जोडेर ठूलो मात्रामा कृषि कार्य थालेको मेयर थापाको भनाइ छ ।

तत्कालै नगरले गरेको सर्वेक्षणमा एक हजारभन्दा बढी घरधुरीलाई खान नपुग्ने तथ्याङ्क फेला पारेपछि त्यस्ता घरधुरीलाई उत्पादन कार्यमा प्राथमिकता दिएको मेयर थापाले बताए । खेतीयोग्य बाँझो तथा चरिचरणमै सिमित रहेको जमिनलाई प्रयोगमा ल्याउने मात्र नभई सिमित १० धुर जमिन भएका खान नपुग्नेहरूलाई समेत समेटेर सामुहिक खेतीको लागि जोड दिइएको मेयर थापाले बताए ।

कृषि उत्पादनको कार्यमा कृषका लागि अपरिहार्य सिंचाइलाई नगरले प्राथमिकतामा राखेर सोलार, भूमिगत सिंचाई प्रणाली अपनाएको छ । खेतीका लागि सिंचाइको सुविधाको व्यवस्था मिलाइएको मेयर थापाले बताए । ठूलो मात्रामा कृषिजन्य वस्तुको उत्पादन गरी स्थानीय जनताको स्तरोन्नति र समृद्ध नगर निर्माण गरी बाह्य जिल्लादेखि बाह्य देशमा समेत निर्यात गर्ने लक्ष्य नगरले लिएको छ ।

यस कार्यको प्रायासले नगर र राष्ट्रलाई नै समृद्ध बनाउन टेवा पुग्ने आशा गरिएको मेयर थापाले बताए । नगरले पहिलो वर्ष सडक वर्ष मनाएको थियो भने यस वर्ष उत्पादन वर्षका लागि कृषि ऐन, नियमावली, पर्ती जमिनमा बाली लगाउने कार्यविधि लगायतका कानूनी कुरासमेत नगरले तयार गरिसकेको मेयर थापाले बताए ।

उत्पादन वर्ष मनाइरहेका बेला कृषि तथा पशुपन्छी मन्त्री चन्द्रपकाश खनालले नगरले मनाइरहेको उत्पादन वर्षको कामको अवलोकन, भ्रमणसमेत गरेका छन् । अवलोकन तथा भ्रमणमा कृषि तथा पशु पन्छी मन्त्री खनाल, राज्यमन्त्री रामकुमारी चौधरी, कृषि, वन, सुरक्षा क्षेत्रका प्रमुखहरू समेतको टोलीले बेलका–२ को कोशीटप्पु आसपासको खाली खेती योग्य जमिन तथा त्यस ठाउँमा लगाइएको खेतीको शनिबार अनुगमन तथा भ्रमण गरेका हुन् ।

अवलोकन तथा भ्रमणपश्चात् मन्त्री खनालले सिंचाइको व्यवस्था गर्न सके ठूलो मात्रामा कृषिजन्य वस्तुको उत्पादन हुने भएकाले ठूलो बजेट लगानी गरी राष्ट्रकै एक नमूना कृषि उत्पादन क्षेत्रको रूपमा चिनाउने मन्त्री खनालले बताए ।

छरिएर रहेका बस्तीलाई एकीकृत गरी खाली खेतीयोग्य जमिनलाई आधुनिक तथा नयाँ प्रविधिद्वारा खेती गरी कृषिजन्य वस्तुको ठूलो मात्रामा उत्पादन गरी बाह्य निर्यात गर्न सकिने मन्त्री खनालले बताए ।

अवलोकनको क्रममा नगरका तर्फबाट मेयर दुर्गाकुमार थापाले ज्ञापन–पत्र बुझाउँदै मन्त्री खनाललाई वडा नं. २, ३ र ९ मा नदी उकास, खाली–पर्ती जमिनमा व्यवस्थित कृषि, वन प्रणालीमा आधारित अनुसन्धान केन्द्र स्थापनाको समेत माग गरेका छन् ।

नगरको वडा नंं ५, ६, ७ र ८ लाई मसला बाली जोन क्षेत्रको घोषणा भइसकेको र आधुनिक यन्त्र उपकरण, मल, बिउ, सिंचाइ सुविधा व्यवस्थापनका लागि बजेटको व्यवस्था गरिदिनसमेत माग गरिएको छ ।

वडा नं. १ मा कोल्डस्टोर निर्माण र वडा नं. २, ३ र ९ मा ६ सय बिघा खाली–पर्ती जमिनमा चक्लाबन्दी खेती गर्न सकिने भए पनि पूर्वपट्टिको जमिनमा सप्तकोशी नदी रहेकाले वर्षायाममा कटान गर्न सक्ने भएकाले नदी नियन्त्रणका लागि विशेष पहल गर्न माग गरिएको छ ।

नगरको वडा नं ५, ६ र ८ पहाडी भूभागले ओगटेको भएकाले उक्त क्षेत्रमा व्यावसायिक पशुपालन लागि बजेटको माग, दुग्ध प्रशोधन केन्द्रको माग गरिएको छ । सप्तकोशी नदीबाट उकास, खाली–पर्ती जमिन नगरको स्वमित्वमा दिइनुपर्ने माग गर्दै राष्ट्रिय ज्ञान केन्द्र तथा कृषि पर्यटन क्षेत्रको रूपमा विकास गर्न समेत माग गरिएको छ ।