धरान/ न्याय कुर्न कति सकस छ, धरान–५ का बलात्कृत पीडित तथा परिवारलाई नै थाहा होला । तर, पनि १६५ दिनदेखि न्याय कुर्न बाध्य छन् पीडित परिवार ।
ठिक यतिबेला देशभर महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेको छ ।

तर पीडित न्यायको पहुँचभन्दा बाहिर छ । अधिकारकर्मी कोठे बैठक, र छलफलमा मस्त छन् । पीडितका पक्षमा वकालत नहुँदा पीडक धरान–५ साउनेका झमक बस्नेतजस्ता अपराधी खुलेआम हिडिरहेका छन् ।

पीडक पक्षका आफन्त बारम्बार मिल्नका लागि लाखौंको प्रलोभन देखाउँछन् । तर पीडित न्याय चाहान्छ । ‘हामीलाई न्याय चाहिएको छ । अपराधीलाई कारबाही भएँ हामीलाई केही चाहिदैन ।’ पीडित बालिकाको बुबा भन्छन् ।

सायद केही चाहिएको भए पीडक पक्ष बस्नेतका दाजुभाइ, आफ्ना आफन्तले ५० लाख, ३० लाखसहित २ कठ्ठा जग्गा दिने र पीडित बालिकालाई आजिवनसम्म पालनपोषण गर्नेसम्मको प्रलोभन देखाएकै हुन् ।

‘नाँइ हामीलाई न्याय भए पुग्छ ।’ पीडितका बुबाआमाले मुख खोले । त्यही न्यायका लागि उनीहरू अहिले पनि कुदिरहेका छन् । न्याय दिलाउने प्रहरीसँग पीडित परिवारको विश्वास उडिसकेको छ । अहिलेसम्म पीडक पक्राउ नर्पदा जनताका रक्षक प्रहरी होलान् र भन्ने प्रश्नले उनीहरूलाई बारम्बार सोधिरहेको छ । यही घटनाले बालिका बिस्थापित छिन् । परिवारै गाउँबाट बिस्थापित बन्ने अवस्थामा पुगेको छ ।

‘एक मनले त हामीले यो घरजग्गा बेचेर अन्तै जाने सोचेका थियौंं । ग्राहक पनि लागिसकेका थिएँ ।’ पीडितका बुबाले भने ।  हैन, छोरीलाई न्याय दिलाउनुपर्छ भनेरै आफूहरू गाउँ छाड्न नसकेको उनी बताउँछन् । आफ्नो छोरीलाई त भयो–भयो यस्तो अन्य छोरीहरूलाई नहोस् उनको चाहाना यति छ । तर, त्यही न्याय उनको लागि महङ्गो सावित भइरहेको छ । ‘प्रहरीले घटना भएकै केही समयपछि पक्राउ गर्न सक्थ्यो । तर, चाहेर पनि पक्राउ गरेन ।’ आक्रोस व्यक्त गर्दै उनी भन्छन् । ‘ठूलालाई चैन, सानालाई ऐन’ यो भनाइ उनको जीवनमा पनि लागू भएको छ ।

पैसाकै दम्भमा बलात्कारी खुलेआम हिडिरहेका छन् भन्ने उनलाई लाग्छ । ‘अहिले पनि उसकी श्रीमती बेला–बेला भेट्न गएको सुन्नमा आउछ ।’ उनी भन्छन्, ‘कम्तीमा प्रहरीले श्रीमती र भाइहरूलाई फलो गर्ने हो भने तुरून्तै पक्राउ परिहाल्छ ।’ त्यही छोरी जो पढेर बैङ्कर्स बन्न चाहान्थी । व्यवस्थापन सङ्काय पढेर बैङ्कमा काम गर्ने सोच राखेकी थिइन् । तर आर्थिक अवस्थाले भ्याएन । छोरीलाई शिक्षा सङ्काय पढाइयो ।

त्यसपछि छोरी गायक बन्छु भन्दै गिटार किनि माग्ने गरेको पीडित बालिकाको आमा बताउँछिन् ।

‘मैले बिदेशमा रहेकै बेला उनलाई गिटार किन्नका लागि १२ हजार रूपैयाँ पठाई पनि दिएँ ।’ मलिन अनुहार पार्दै उनले भनिन्, ‘ऊमाथि नै त्यस्तो भएछ ।’ पीडित बालिका पनि बलात्कारी मामालाई पक्राउ गरी कारबाही गरेको हेर्न चाहान्छिन् । गाउँ, समाजले पीडित बालिकालाई नै गल्ती देखाएका छन्, उनी आफू गलत नभएको भन्ने प्रमाणित गराउनका लागि पीडक बस्नेतलाई कारबाही भएको हेर्न चाहान्छिन् ।

‘न्याय चाहियो मलाई, जतिसक्दो त्यो मान्छेलाई पुलिसले पक्राउ गरेर गाउँघरको अगाडि तेल्ले गल्ती गरेको हो भनेर देखाइयोस् ।’ उनले फोनसम्पर्कमा भनिन् । उनले अझै पढ्ने र समाजमा केही बन्ने चाहाना राखेकी छन् ।

उनले समाजले आफूलाई शान्तिसुरक्षा दिलाए अझै पढेर केही बन्ने सोच रहेको बताइन् । २०७४ फागुन २५ गते जुन घटनाबाट उनी गुज्रिन । अहिले पनि उनमा मानसिक रूपमा समाजसामू प्रतिरक्षा गर्न सक्ने हिम्मत पलाएको छैन ।

उनी एक वर्षअघिदेखि नै यौन हिंसाबाट शिकार बन्दै आएकी थिइन् । प्रहरीले किटानी जाहेरी लगत्तै पक्राउ गरेको भए सायद आफ्नो छोरीमा प्रहरीप्रति विश्वास बढ्थ्यो कि ?, समाजसामू ठाडो शीर पारेर हिड्न सक्थिन कि ?’ पीडितका बुबा थप्छन् ।

उनले २०७५ असार ५ गते मात्रै छोरीमाथि भएको निर्मम घटना थाहा पाए । लगत्तै ६ गते पीडक फरार भए । ८ गते इलाका प्रहरी कार्यालय धरानमा झमक बस्नेतको नाममा किटानी जाहेरी दिए । तर पक्राउमा प्रहरी उदासिन बन्दा घटनाको गुत्थी अहिले पनि सुल्झन सकेको छैन ।

कञ्चनपुरकी निर्मला पन्तको परिवार र यो परिवारको पीडा समान छ । पीडक प्रहरी नियन्त्रणमा आउन नसक्दा उल्टो पीडक पक्षले बारम्बार आफूहरूको परिवारलाई नै मिल्नुपर्छ भन्दै मानसिक यातनासहित दवाव दिने गरेको उनी बताउँछन् ।

उनका अनुसार कयौं पटक फोनमार्फत् तथा भेटेरै परिवारलाई दवाव दिएका थिए । तर अपराधीलाई कारबाही भएको हेर्न चाहान्छन् । त्यसैका लागि न्याय कुरिरहेका छन् । इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमनकुमार तिम्सिनाले आरोपित बस्नेतलाई खोजी गरिरहेको दाबी गरे ।

उनले परिवारमा पनि निगरानी बढाइरहेको बताए । ‘हामीले प्राप्त गरेको सूचनाअनुसार प्रहरी खटाएकै छौं, तर भेटिरहेको छैन ।’ उनले भने, ‘पक्राउ गर्न अन्य कुनै अदृष्य शक्ति वा कुनै केही समस्यै होइन्, खोजीमा छौं हामी ।’